रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा प्रहरीले पनि माग्यो अनुमति – Nepal Press

रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा प्रहरीले पनि माग्यो अनुमति

वीरगञ्ज । सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसँग अनुमति माग गरेको छ ।

वीरगञ्ज महानगरपालिका- ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ॠण सहकारी संस्थाबाट अवैध तबरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो ।

उक्त सहकारीका अध्यक्ष जीवी राई हुन् । पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने, राई र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले बताए ।

सहकारी ठगीमा उक्त गिरोहमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । यसअघि उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका विभिन्न सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ ।

‘हाम्रोतर्फबाट लेखापढी गरेर जिल्ला अदालतमा पठाइसक्यौ, आजभोलिमै अनुमति आउँदैछ’, उनले भने ।

सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो । २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि गरेको एसपी ढुंगेलले बताए ।

सहकारी पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा मिस नेपाल प्रतियोगिताकी पूर्वप्रतिस्पर्धी नेहा पौडेल आफैं प्रहरीमा उपस्थित भएकी थिइन् । सहकारीका कर्मचारी राधेचन्द्र यादव प्रहरीद्वारा पक्राउ गरिएका थिए ।

जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो । यादव पनि ३५ लाख धरौटीमा रिहा भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर