प्रधानमन्त्री चीन जाँदा बिदाईमा देखिएन लावालस्कर, विमानस्थलमा दुईजना मात्र मन्त्री – Nepal Press

प्रधानमन्त्री चीन जाँदा बिदाईमा देखिएन लावालस्कर, विमानस्थलमा दुईजना मात्र मन्त्री

नयाँ कार्यविधिअनुसार सभामुख र राष्ट्रिय सभा अध्यक्ष विमानस्थल जान नपर्ने, अरु के छ व्यवस्था ?

काठमाडौं । हरेकपटक राष्ट्रपति/प्रधानमन्त्रीको विदेश भ्रमणमा विमानस्थलमा बिदाईका लागि भीआईपीहरूको लावालस्कर पुग्ने गर्छ । सभामुख, राष्ट्रियसभा अध्यक्षदेखि अधिकांश मन्त्रीहरू विमानस्थलमा बिदाई गर्न जाने गरेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदा त्यस्तो लावालस्कर देखिएन । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल विमानस्थल गएनन् । उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकमात्रै विमानस्थलमा पुगेका थिए ।

विमानस्थलमा लर्को छोट्टिनुको कारण हो, दुई हप्ताअघि मन्त्रिपरिषदले पास गरेको कार्यविधि । कार्यविधिले विमानस्थलमा बिदाईका लागि जान पाउनेहरूको पद र संख्यासमेत निर्धारण गरेको छ ।

‘अति विशिष्ट र विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०८१’ ले कार्यान्वयनमा आएको बताउँछन् सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारी । कार्यविधिमा १३ जनामात्र जाने व्यवस्था भएको र त्यो १३ जनामा सभामुख र राष्ट्रियसभा अध्यक्ष नपर्ने भएकाले सभामुख नगएको उनले बताए ।

कार्यविधिमा कार्यवाहक प्रधानमन्त्रीदेखि शिष्टाचार महापालसम्म गरेर १३ जनाको कोटा तोकिएको छ । प्रधानमन्त्रीको भ्रमणमा विमानस्थलको विशिष्ट कक्षबाट जहाजसम्म ६ जना मात्र जान पाउने व्यवस्था छ । प्रधानमन्त्री मात्र होइन राष्ट्रपतिको भ्रमणमा पनि यस्तै प्रावधान तोकिएको छ ।

मन्त्रीपरिषद्‍बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिकरूपमा कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा/आउँदा बिदाई र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको संख्या कटौती भएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

‘भीभीआईपीको स्वागत र बिदाइ व्यवस्थित र प्रभावकारी बनाउन संशोधन गरिएको हो’ उनले भने ।

संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए ।

त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको संख्या पनि घटाइएको छ ।

मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर ९ जना पदाधिकारीमा सीमित गरिएको छ ।

त्यसैगरी नयाँ कार्यविधि अनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्थालाई संशोधन गर्दै सो संख्या घटाएर प्रधानमन्त्रीसहित ७ जना उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

त्यस्तै, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारी ७ बाट घटाएर ४ पुर्‍याइएको छ । अब उक्त चारजनामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल उपस्थित हुनेछन् ।

त्यसैगरी संशोधित कार्यविधिअनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा विमानस्थलमा अब कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनेछन् ।

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

त्यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ६ जना पदाधिकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर