काठमाडौंमा रविको बयान सकियो- भोलि पोखरा, त्यसपछि चितवन पठाइने
काठमाडौं । सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।
लामिछानेलाई भोलि पोखरा पठाइने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । ‘आज बयान सकिएको हो भने भोलि पोखरा पठाइदिन्छौ’, उनले भने । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ । अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चलिरहेको छ । उनीहरूको बयान बुधबारसम्म सकियो भने त्यसपछि रविलाई चितवन झिकाइने त्यहाँका एसपी गौतम मिश्रले बताए ।
यो हप्ताभित्रै रवि चितवन झिकाइने एसपी मिश्रको भनाइ छ । ’अरुको बयान सकिएलगत्तै उहाँलाई उपस्थित गराउने तयारी छ’, उनले भने ।