अनिलको कप्तानी इनिङमा कर्णाली निरीह, जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ ।कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेले । उनी ६२ रनमा अविजित रहे ।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे ।
बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो
कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।
कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिश्रमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।
चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । जनकपुरको यो दोस्रो जित हो । यसअघि शनिबार भएको पहिलो खेलना जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो ।