सर्केगाडमा माओवादीकी तिमल्सिनाको अग्रता कायमै
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदकाे उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देबकी तिमल्सिनाको अग्रता कायमै रहेको छ । बिहान ११ बजेबाट सुरु भएको मत गणनामा अहिलेसम्म वडा नम्बर १, २, ३, ४ र ५ वडाको गणना सम्पन्न भएको छ ।
उनले ९४८ मत पाएकी छन् । कांग्रेसकी सबिता बुढाले ८६६ मतसहित दोस्रो स्थानमा छिन् ।
नेकपा एमालेका जाना शाहीले ६ सय ४८ मत पाएकी छन् । राष्टिय प्रजातन्त्र पाटी राप्रपाले जम्मा ३५, रास्वपाले ९, र स्वतन्त्र उम्मेदवारले जम्मा ५ मत पाएका छन् यस्तै ४१ मत बदर भएका छन् अब जम्मा १ हजार ९ सय ७२ मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले जानकारी दिएका छन् । उनका अनुसार आज राति गणना सकिने परिणाम आउनेछ । यस अघि २०७९ कांग्रेसका रोकाया अध्यक्ष र माओवादीका चन्द्रसिंह कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्ष कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।
आठ वडामध्ये माओवादी तीन, कांग्रेस दुई, एमाले दुई र एक वडा स्वतन्त्रले जितेका थिए । २०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो । २०७४ र २०७९ मा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा हुँदै आएको छ ।