बेलकामा रोकिएको मतगणना सुरु, बदर मत पुनः गणना गरिने
काठमाडाैं । उदयपुरकाे बेलका नगरपालिका वडा नं ९ मा रोकिएको मतगणना पुनः सुरु भएको छ । बदर मतको विषयलाई लिएर विवाद भएको यस वडाको मतगणना फेरि सुरु भएको हो ।
निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार आइतबार रातीसम्म ५ सय मतगणना गरिएको थियो । जसमा २२० मत बदर भएको थियो । उक्त बदर मतको विषयमा विवाद उत्पन्न हुँदा मत गणना रोकिएको थियो ।
सोमबार बिहान बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुङ्गिएको थियो । बैठकबाट सहमतिको प्रयास गरिए पनि सहमति नजुटेपछि थप निर्णयका लागि निर्वाचन आयोगलाई पत्र पठाइएको थियो । कानुन अनुसार अगाडि बढ्न आयोगले निर्देशन दिएपछि पुनः गणना शुरु गरिएको छ ।
स्थानीय तह निर्वाचन नियमावली २०७३ र स्थानीय तह उपनिर्वाचन निर्देशिका २०८१ समेतमा भएको मतगणना सम्बन्धी कानुनी व्यवस्था अनुसार त्यस्तो मतपत्रलाई दोहोर्याई मतगणना गर्न सक्ने अधिकार निर्वाचन अधिकृतलाई तोकिएको हुन्छ । निर्वाचन आयोग सोही आधारमा मतगणना गर्न निर्देशन दिइएको आयोगकी प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
‘आयोगको निर्देशन अनुसार हामी पुनः मतगणना गर्ने निष्कर्षमा पुग्यौँ । मतदाताले खसाएको मतपत्रमध्ये बदर भएको मतपत्रलाई पुनः मतगणना गर्दा कानून संगत एवं उपयुक्त हुने देखियो । त्यसैले साँझ ५ बजेदेखि पुनः बदर मतलाई मतगणना गरी मतगणना गर्न बाँकी रहेको मतपत्रलाई निरन्तर रूपमा गणनाको कार्य प्रारम्भ भएको छ’, निर्वाचन अधिकृत गुप्ताले भने ।
तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।
यस वडाको वडाध्यक्षका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा नेकपा एमालेका मोहन खड्का, नेपाली कांग्रेसका नवराज बस्नेत, नेकपा माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सुरे तामाङ्गको उम्मेदवारी रहेका छन् ।
यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।