कीर्तिपुरको मतगणना अन्तिम चरणमा, ९ बजे परिणाम आउने
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना उत्तरार्द्धमा पुग्दा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनामा कांग्रेसले एमालेलाई ठीक एक हजार ३५ मतले पछि पारेको छ ।
कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले ४ हजार ४५५ मत ल्याउँदा एमालेका डा. सुरेन्द्र श्रेष्ठले ३ हजार ४२० मतका साथ पछ्याएका हुन् ।
तेस्रो स्थानमा रहेका माओवादी उम्मेदवार शिव शरण महर्जनले २ हजार ९५० मत ल्याएका छन् । एमाले र माओवादी उम्मेदवारबीच ४७० मतको फरक छ ।
कीर्तिपुर मेयरको दौडमा ११ जना स्वतन्त्र उम्मेवारहरु छन् । उनीहरुमध्ये दुई उम्मेदवारलाई उल्लेख्य मत आइरहेको छ । केटा र केटी चुनावचिन्ह भएका राजमान महर्जनले १५९४ मत ल्याउँदा कैंची चुनावचिन्ह भएका दिनेशकुमार अधिकारीले १०४२ मत ल्याएका छन् ।
यो नगरपालिकाका १० वडामा कूल ३१ हजार ११९ मतदाता रहेकोमा २१ हजार ३१५ मत खसेको थियो । अहिलेसम्म १५ हजार ४१९ मत गणना भइसकेको छ ।
हाल १, २, ३, ४, ५, ६, ७, ८ वडा सम्मको मतपरिणाम आइसकेको छ भने वडा ९ र १० को मतगणना हुँदैछ । आजै ९ बजे परिणाम आइसक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।