भारतमा बेचबिखनमा परेका ४ जना बालबालिकाको उद्धार
रुपन्देही । भारतको विभिन्न शहरमा बेचबिखनमा परेका नेपाली ४ जना बालबालिकाको उद्धार गरिएको छ । आफन्त इण्डिया फाउण्डेसन र आफन्त नेपाल, भैरहवा शाखाले दिल्लीस्थित नेपाली दूताबास, प्रहरी–प्रशासन लगायतको सहकार्यमा बालबालिकाको उद्धार गरी नेपाल ल्याइएको हो ।
आफन्त नेपालकी भैरहवा शाखा प्रमुख पदमा आचार्यले भारतको हैदराबाद, चण्डिगढ, ग्वालियर र राजस्थानबाट उद्दार गरिएको बताइन् । आचार्यले तत्काल बुवाआमा नभेटिएका बालिकाहरुलाई सुरक्षित आवाशगृहमा राखेर शिक्षा, सीप सिकाई लगायतमा समावेश गरिने जनाइन् ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्ला अधिकारीले बासुदेब घिमिरेले ३ जना बालिका र १ जना बालकलाई उद्दार गरी नेपाल ल्याइएको बताए ।
अधिकारी घिमिरेले ३ जनालाई संस्थाको संरक्षणमा १ जना बालकलाई आफन्तको जिम्मा लगाइएको बताए । पीडकलाई अनुसन्धान गरी कारबाहीको प्रक्रियामासमेत जाने घिमिरेले जानकारी दिए ।
इंडिया फाउन्डेसनको निर्देशक बिनोद कुमार खातीले बालकहरुलाई ललाइ फकाइ भारतका विभिन्न शहरमा पुर्याइ बेचबिखनमा परेकालाई बालबालिकाको उद्दार गरिएको बताए ।
बाँके जिल्लाको १७ वर्षकी बालिका, दार्चुलाकी १७ बर्षकी बालिका, कैलालीको १६ वर्षको बालिकालाई आफन्त नेपालको सुरक्षित आवास गृह चितवनमा राखिने छ । सर्लाही जिल्लाको १२ वर्षको बालकलाई दिदीको जिम्मामा लगाइएको इंडिया फाउन्डेसनको उद्धार अधिकृत मानबहादुर श्रेष्ठले बताए ।