रुख चुनाव चिन्ह लिएर मैदानमा गएको एमालेलाई माओवादीको सबक – Nepal Press

रुख चुनाव चिन्ह लिएर मैदानमा गएको एमालेलाई माओवादीको सबक

उम्मेदवारी दर्ता गर्ने बेलामा रोजिएकी नरपुरा, आफ्नो मत जोगाउँदै कांग्रेस–एमालेको अन्तरमा सफल बन्यो माओवादी

रुपन्देही । स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेले आलोचना खेपेको सबैभन्दा ठूलो आलोचना हो रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर आफ्नो पार्टीका जिल्ला उपसचिवलाई उम्मेदवार बनाउनु । गत निर्वाचनमा कांग्रेस-एमालेले पाएको मत जोड्दा पनि माओवादीलाई जित्न नसक्ने तथ्यांक हुँदा पनि एमालेले गरेको यो निर्णयलाई त्यही दिनदेखि निकै आलोचनाको विषय बनेको हो ।

अन्य दलमा आस्थावानले मात्रै होइन एमालेकै धेरै कार्यकर्ताले यसलाई असहज मानेर विरोध गरेका थिए । पालिका उपाध्यक्ष पदमा भएको उपचुनावमा माओवादीकी उम्मेदवार नरपुरा बुढा मगरले कांग्रेस एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई पराजित गर्दै फराकिलो जित निकालेकी हुन् । नरपुराले ३६२७ मत ल्याएर उपाध्यक्ष जित्दा सत्तारुढ गठबन्धनकी केशकुमारी तुलाचनले २१२८ मत मात्र पाएकी हुन् ।

स्वयं उम्मेदार बनेकी केशकुमारी तुलाचनले यो निर्णय अलिक असहज भएपनि पार्टीले निर्णय गरेर पठाएपछि मैदानका जानुको विकल्प नभएको बताएकी थिइन् । त्यसो त ०६४ पछिका सबै निर्वाचनमा माओवादीले एकलौटी जित्दै आएकाले पनि यहाँ कांग्रेस एमालेले जस्तोसुकै निर्णय गरेर भएपनि माओवादीको सत्ता खोस्न चाहेका थिए तर नतिजा त्यसप्रकारको आएन ।

माओवादीले उम्मेदारी दर्ताको अन्तिम समयमा यसअघि उम्मेदार बनाउने सर्वसम्मत निर्णय भएकी ज्ञानदेवी पुनलाई पछि सारेर अहिले विजयी भएकी नरपुरा बुढालाई अघि सारेको हो ।

माओवादीलाई हराउने नेपाली कांग्रेस र नेकपा एमाले नेताहरुको चाहनालाई ब्रेक लगाउँदै नरपुराले निकालेको जितले यहाँ पार्टीलाई थप बलियो रहेको प्रमाणित गराएकी छन् ।

तुलाचनले माओवादीलाई हराउनकै निम्ति गठबन्धनबाट आफू साझा उम्मेदवार बन्नु परेको बताएकी थिइन् । एमाले नेता तुलाचनले रुख चिन्ह लिएर चुनावमा भाग लिदा माओवादी उम्मेदवार हराउन सकिने स्थानीय नेताहरूको बुझाइ थियो ।

जबकी ०७९ मा कांग्रेस र एमाले उम्मेदवारले ल्याएको मत जोड्दा पनि माओवादीसँग बराबर थिएन। माओवादी उम्मेदवार भूपेन्द्रा बुढाले ४०५९ मत ल्याएर जित्दा कांग्रेसकी कमलाकुमारी मल्लले २०१० र एमालेका धर्म घर्ती बुढाले १८१२ मत पाएका थिए । कांग्रेसको मल्ल र एमालेका बुढाले ल्याएको मत जोड्दा ३८२२ हुन्थ्यो । यो भनेको माओवादीकी बुढाले ल्याएको भन्दा २५९ मतले थोरै हो । यही हिसाबले यसपटक कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो । तर नरपुराले १४९९ मतान्तरले जितिन् ।

पारिवारिक पृष्ठभूमि राजनीतिक भएपनि नरपुराले गाउँपालिका उपाध्यक्ष लड्नुपर्ने अवस्था आएको थियो । त्यसो त उनको नाममा पहिले नै माओवादीले निर्णय गरेको थिएन । जब कांग्रेसएमाले गठबन्धनको निर्णय गरेको समझदारी सार्वजनिक गर्यो तत्काल माओवादीले यसअघिको निर्णय फेरेर उनलाई उम्मेदार बनाएको हो । माओवादीबाट ज्ञानदेवी पुन उम्मेदवार बन्ने निर्णय भएरै सोही अनुसार प्रचारप्रसार पनि सुरु भएको थियने तर अन्तिम समयमा फेरियो ।

गएको भदौ २८ गते भएको दुर्घटनामा यहाँ उपाध्यक्ष रहेकी भूपेन्द्रा बुढाको मृत्यु भएको थियो । काठमाडौंमा आमाको उपचार गराएर फर्किएकी भूपेन्द्रासँगै जीप बाग्लुङमा दुर्घटनामा परेर भूपेन्द्रासहित उनकी आमा गोपीमाया र २ नम्बरका वडाध्यक्ष जसबहादुर शेर्पालीको मृत्यु भएको थियो । भरखरै मात्र भएको त्यो घटनामा परिवार सदस्यको ज्यान गुमाएकाले माओवादीले भूपेन्द्राकै दिदी नरपुरालाई उम्मेदवार बनाउने निर्णय लिएकाले सहानुभूतिका मत पनि थपेको आंकलन गरिएको छ ।

४२ वर्षीया नरपुरा सामाजिक क्षेत्रमा अनुभवी मानिन्छिन् । रुकुमकोटस्थित रुक्मिणी माविबाट प्लस टुसम्म गरेकी उनी ६ वर्षदेखि साना किसान सहकारी संस्थाकी अध्यक्ष बनेर गाउँमा काम गर्दै आएकी छन् । तीन छोरा र एक छोरी रहेकी उनका श्रीमान वैदेशिक रोजगारीमा भरखर गएका छन् ।

सहकारीबाट चिनिएकी, महिला स्वंयसेविका भएर कामको अनुभव लिएको, राजनीतिक पृष्ठभूमि रहेको र भूपेन्द्राकै दिदी भएकाले पनि नरपुरालाई माओवादीले अगाडि बढाउने निर्णय लिएर बाजी मारेको हो । त्यसो त यो परिवारमा भूपेन्द्रा र नरपुराभन्दा अगाडि उनका बुवा नै राजनीतिमा परिचित पात्र भएकाले पनि गाउँमा धेरै सहज भएको हो । यो । नरपुराका बुवा कृष्णबहादुर बुढा पञ्चायतमै प्रधानपञ्च बनिसकेकाले गाउँमा उनीहरुको परिवार सहजै रुपमा परिचित रहेको छ ।

जितपछि नेपाल प्रेससँग छोटो कुरा गर्दै नरपुराले स्थानीयसँग गरेका प्रतिवद्धता र उनीहरुका मागका आधारमा काम गर्ने बताइन् । अहिले धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था आएकाले बोल्नुपर्ने विषय आफूले अध्ययन गरेर मात्रै बोल्ने बताइन् ।


प्रतिक्रिया

One thought on “रुख चुनाव चिन्ह लिएर मैदानमा गएको एमालेलाई माओवादीको सबक

  1. जति मत ल्याए पनि एक्लै र आफ्नै चिन्हमा लडनुपर्ने । रूखमा भोट हाल भन्दा कुन चाहिँ एमालेलाई मन लाग्छ । के निर्णय गरेको त्यो ? एमालेले रूखमा हालेनन, काँग्रेसले एमालेलाई दिएनन । अनि माओवादीलाई पासा पल्टियो । एमालेको वुद्वि पुगेन यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर