लगातार दुई म्याचमा सन्दीप विकेटविहीन, विराटनगर जितविहीन – Nepal Press

लगातार दुई म्याचमा सन्दीप विकेटविहीन, विराटनगर जितविहीन

काठमाडौं । सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा खराब सुरुवात गर्दै लगातार दुई हार व्यहोरेको छ । दुवै म्याचमा विराटनगरले विपक्षी टीमलाई कडा चुनौती दिन सकेन ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको विराटनगरले आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको हार स्वीकार्यो । दुवै खेलमा बलिङ र ब्याटिङ फ्लप हुँदा प्रतियोगिताकै कमजोर टोलीका रूपमा विराटनगर देखा परेको छ । तथापि, बाँकी खेलमा कमब्याक गर्ने मौका नभएको होइन ।

विराटनगरका कप्तान सन्दीप लामिछानेको खराब फर्म टिमको मुख्य चिन्ता बनेको छ । टीमको सबैभन्दा ठूलो आशा सन्दीपमाथि नै थियो । तर, अघिल्ला दुई खेलमा उनी चल्न सकेनन् । पहिलो खेलमा जनकपुरविरुद्ध ४ ओभरमा ३० रन खर्चिँदा विकेटविहीन रहेका सन्दीपले आज दोस्रो खेलमा एक रन बढी खर्चिए तर विकेट निकाल्न सकेनन् ।

समग्रमा सन्दीपले दुई खेलमा ८ ओभर बलिङ गर्दा ६१ रन खर्चिएका छन् भने विकेटको खाता खोल्न बाँकी नै छ । एसोसियट राष्ट्रहरूमा उत्कृष्ट स्पिनरको सूचीमा पर्ने सन्दीपको क्षमतामाथि प्रश्न होइन, तर उनले छिटो आफ्नो फर्म भेट्टाएनन् भने विराटनगरको आगामी यात्रा कठिन हुने निश्चित छ ।

विकेटले स्पिनरलाई सहयोग नगरेको अवस्था पनि छैन । राष्ट्रिय टीमका अर्का स्पिनर ललित राजवंशीले दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आजको खेलमा विराटनगरकै युवा स्पिनर अनिल खरेलको आँकडा राम्रो थियो । उनले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए ।

म्याचपछिको प्रेसमिटमा सन्दीपले आफ्नो बलिङ अपेक्षा अनुसार नभएको स्वीकार गरे । तर दुई म्याचकै आधारमा मूल्यांकन गर्ने हतार नगर्न उनको आग्रह थियो ।

सन्दीपले भने, ‘म्याच सिचुयसन अनुसार म बलिङ गर्ने प्रयास गर्छु । कहिले विकेटका लागि जोड लगाउनुपर्ने हुन्छ भने कहिले रन रोक्नुपर्ने हुन्छ । प्रयास गर्दागर्दै पनि कहिलेकाहीँ हुँदैन । म आफ्नै अपेक्षामा खरो उत्रिन सकिरहेको छैन ।’

उनले थपे, ‘लगातार १० म्याचमा विकेट लिँदाखेरि कसैलाई नोटिस हुँदैन । दुई म्याचमा विकेट आएन भने प्रश्न उठ्छ । मलाई लाग्छ, दुई म्याचलाई हेरेर मूल्यांकन गरिहाल्नु पनि हुँदैन । हामीसँग प्रतियोगितामा कमब्याक गर्ने समय छ ।’

कागजीरुपमा अन्य टीमसँग तुलना गर्ने हो भने विराटनगरलाई कमजोर भन्न मिल्दैछ । ब्याटिङमा मार्टिन गुप्टिलजस्ता विश्वविख्यात नाम छन्, जसको ब्याट चल्यो भने विपक्षी टिमलाई निरीह बनाउन सक्छन् । उनीसँग ओपनिङ गर्ने लोकेश बम पनि विस्फोटक क्षमता भएका ब्याट्सम्यान हुन् ।

यसै गरी, निकोलस किर्टन, अकिब इलियास, इस्मात आलमजस्ता विदेशी खेलाडीहरूको उपस्थितिले विराटनगरको मध्यक्रम बलियो नै छ । दीपक बोहरा र बसिर अहमद पनि राम्रै ब्याट्सम्यान हुन् । प्रतिश जिसी र स्वयम् सन्दीप लामिछानेले पनि ब्याटबाट योगदान दिन सक्छन् ।

ब्याटिङमा मार्टिन गुप्टिल र बलिङमा लामिछानेको फर्म विराटनगरका लागि सर्वाधिक महत्त्वपूर्ण हुनेछ । गुप्टिलले पहिलो खेलमा अर्धशतक बनाए पनि दोस्रोमा डकआउट भए । उनी शून्यमा आउट हुँदा सिंगै टिमको आत्मविश्वास धरमराएको देखियो । यदि क्रिजमा टिके भने एक्लो बलबुतामा टिमलाई जिताउन सक्ने ब्याट्सम्यान हुन् उनी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *