‘ब्ल्याक स्पट’मा ‘फेयर प्ले’- गौरीशंकरमा यसकारण सम्भव भयो एमालेको कमब्याक – Nepal Press

‘ब्ल्याक स्पट’मा ‘फेयर प्ले’- गौरीशंकरमा यसकारण सम्भव भयो एमालेको कमब्याक

गाउँपालिका अध्यक्षसहित ९ मध्ये ५ वडा जितेको माओवादी एउटा वडामात्र जितेको एमालेसँग कसरी हार्‍यो ?

दोलखा । २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ९ वटा वडामध्ये जम्मा एउटा वडाध्यमात्र जित्न सकेको नेकपा एमाले उपनिर्वाचनमार्फत कमब्याक भएको छ ।

२०७४ सालमा दलहरू एक्ला एक्लै लड्दा अध्यक्ष उपाध्यक्षसहित बहुमत जितेको एमाले २०७९ मा कांग्रेस माओवादी र नेकपा एसको गठबन्धनसँग पराजित भएको थियो । उपनिर्वाचनमा उपाध्यक्ष जितेर गौरीशंकरमा एमालेको पुनरागमन भएको सोही पालिकाका बासिन्दा समेत रहेका युवा संघका नेता महराज गुरुङले बताए ।

तत्कालीन गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेर जितेका श्यामसुन्दर तामाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा यस पटक दलहरू एक्ला एक्लै प्रतिस्पर्धामा थिए । गठबन्धनको बलमा उपाध्यक्ष जितेको कांग्रेस तेस्रो स्थानमा रह्यो भने यसअघि पराजित भएको एमालेले विजय हासिल गर्‍यो ।

एमाले उम्मेदवार उमा लुंगेली मगर शेर्पाले २८०५ मतका साथ विजय हासिल गर्दा माओवादी केन्द्रकी निमालेकी शेर्पाले २६०० मत पाइन् भने कांग्रेसकी पासाङदेकी शेर्पाले १७२७ मत पाइन् ।

यहाँ राप्रपाले १ सय मत कटाए पनि रास्वपा,नेकपा एसलगायत अन्य दलका उम्मेदवारले सय मत कटाउन सकेनन् । एमाले र माओवादीबीच कडा प्रतिस्पर्धाकाबीच एमालेकी उमाले जित निकाल्न सफल भइन् ।

माओवादीलाई झड्का

९ वटा वडा रहेको गाउँपालिका अध्यक्षसहित ५ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक आफैँले जितेका वडाबाट उल्लेख्य मत पाउन सकेन । माओवादीले वडा नम्बर १,२,३,७ र ८ वडा जितेको छ भने कांग्रेसले ४,६ र ७ वडा जित्दा एमालेले ५ नम्बर वडामात्र जितेको छ ।

माओवादी उम्मेदवार निमालेकी शेर्पाले वडा नम्बर १ र २ बाट एमालेलाई ३४६ मतले पछि पारिन् । माओवादी नेताहरु देवी खड्का,विशाल खड्कालगायतको वडाबाट जति मतले एमालेलाई पछि पार्ने अपेक्षा थियो त्यो हुन नसकेपछि माओवादीको पराजय लगभग निश्चित भइसकेको थियो ।

साबिक जुँगु गाविसका यी दुई वडामा यसअघि माओवादीले धेरै मतले लिड गर्ने गरेको थियो । तर यस पटक करिब ४ सय आफ्ना मतदाता भोट हाल्न नगएपछि चुनाव हार्ने विश्लेषण विशाल खड्काले गरिसकेका थिए । माओवादीले अपेक्षा गरेको झ्याकुबाट पनि उल्लेख्य मत आउन सकेन ।

दोलखा जिल्ला बुथ कब्जा र चुनावी हिंसाका लागि बदनाम भएको ठाउँ हो । चुनावमा बुथ कब्जा नभएको र एकजना पनि ज्यान नगएको सम्भवतः दोलखाको इतिहासमा यो पहिलो घटना हो । इतिहासमै गौरीशंकर गाउँपालिका र समग्र दोलखामा पहिलो पटक निष्पक्ष निर्वाचन भएको पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा बताउँछन् ।

यसअघिका चुनावमा गौरीशंकरका अधिकांश वडामा दलहरुबीच कब्जा गर्ने र फर्जी मत हाल्ने प्रतिस्पर्धा हुन्थ्यो । यसपालि त्यो सम्भव भएन । कुनै पनि पार्टीले फर्जी मत हाल्न पाएनन्,जसले गर्दा मतदान प्रतिशत नै कम भयो । त्यसकारण माओवादीले जित्ने निश्चित भनेर राखेको गौरीशंकरमा उसले आफ्नै मत जोगाउन सकेन ।

वडा नम्बर १,२ र ३ बाहेक अन्यत्रबाट उसले पहिलो मत समेत पाउन सकेन । माओवादीले जितेका वडाबाट एमालेले अग्रता लिइदियो । त्यसैले अहिले स्थानीय माओवादी कार्यकर्ताले गाउँपालिका अध्यक्ष विश्वास कार्की र वडाध्यक्षहरुले राम्रो काम नगर्दा उपाध्यक्ष पराजित भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।

बुथ कब्जा र फर्जी मतदान गर्न नसक्नु,दलहरू एक्ला एक्लै प्रतिस्पर्धामा रहनु र बहुमत जितेको माओवादीका जनप्रतिनिधि आलोच्य बन्नुले पनि चुनाव पराजयको कारण बन्न पुगेको विश्लेषण यहाँ गरिएको छ । केही जातीय कारण पनि औँल्याइएको छ ।

हुन त माओवादीकी निमलेकीले शेर्पाको जातीय मत पाएकी हुन् । एमालेकी उम्मेदवार उमा लुंगेली मगर भएकाले शेर्पाकी बुहारी भए पनि उनले जातीय मत भन्दा पार्टीकै मतमा निर्भर भइन् । माओवादी उम्मेदवार निमलेकी सामाजिक कार्यकर्ता समेत भएकाले उनले व्यक्तिगत मत समेत पाएकै हुन् ।

पराजयको अर्को कारण भने मतदानको अघिल्लो दिन माओवादी पक्षले एमाले उम्मेदवार उमा शेर्पामाथि तामाकोशी जलविद्यूत आयोजनाको सामान चोरी गरेको आरोप लगाएर एक अनलाइनमार्फत चरित्रहत्या गर्ने भिडिओ बनाए । नेताहरूले नै उक्त आधारहीन भिडिओ सामाजिक सञ्जालमा फैलाए ।

तर त्यही कार्य माओवादीका लागि प्रत्युत्पादक बन्यो । माओवादी उम्मेदवार निमलेकी र एमाले उम्मेदवार उमा एकै वडाका बासिन्दा हुन् । उमाका पति च्छो रोल्पा कन्स्ट्रक्सनका सञ्चालक र प्रतिष्ठित व्यवसायी हुन् । चोरीको आरोप गाउँलेले पत्याउन सम्भव भएन ।

अर्कोतर्फ निमलेकीका जेठाजु आयोजना क्षेत्रमा गुण्डागर्दी गर्ने व्यक्तिका रूपमा बदनाम छन् । माओवादीले उमाविरुद्ध चलाएको प्रोपोगाण्डाले उल्टो निमलेकीको भोट घटेर उमालाई सहानुभूतिको मत गएको मूल्याङ्कन माओवादी वृत्तमै भएको छ ।

एमालेको कमब्याक

एमालेका लागि पनि यो चुनाव जीवन मरणको सवाल थियो । पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङको गृहपालिका भएका कारण अझ बढी टार्गेटमा थिए । गुरुङको खटाइ यस पटक उल्लेख्य रह्यो । आफ्नै राजनीतिक प्रतिष्ठाका लागि उनले मेहनत गरे ।

माओवादीले वडा नम्बर १ देखि ३ सम्मबाट एमालेसँग राखेको मतान्तरलाई पार्वत गुरुङको वडा सुरीमा पुगेपछि कभर गर्न एमाले सफल भयो । माओवादीको मतान्तर तिरेर ६६ मतले अघि बढेको एमाले त्यसपछि कांग्रेस र माओवादीले जितेकै वडामा पहिलो बन्दै जित निकाल्न सफल भयो ।

माओवादी र कांग्रेसले जितेका वडाहरूबाटै एमालेले धेरै मत पायो । अर्कोतर्फ कांग्रेसका एक देखि डेढ सय मत माओवादीमा गएको भन्दै कांग्रेसभित्र पनि अन्तर्घातको आरोप लागेको छ । कांग्रेसको मत २ हजार भन्दा माथि भए पनि केही मत एमाले र अलि बढी मत माओवादीतिर गएको विश्लेषण गरिएको छ ।

गौरीशंकर गाउँपालिका एमाले र माओवादीका प्रभावशाली नेताहरूको गृहपालिका भएका कारण पनि सधैँ चुनावी त्रास हुने गर्थ्यो । कांग्रेसका पूर्व जिल्ला सभापति रुद्रबहादुर खड्का समेत यही पालिकाका भए पनि प्रतिस्पर्धा भने एमाले र माओवादीबीचमै हो ।

एमालेका लागि यो पालिका उपाध्यक्ष जित्नै पर्ने दबाब थियो भने माओवादीलाई पनि एक्लै लडेर पनि गौरीशंकर जित्न सक्छौँ भनेर स्थापित गर्नुपर्ने थियो । तर ‘फेयर प्ले’मा यस पटक एमालेले बाजी मारेको छ । यद्यपि माओवादी पनि एमालेकै हाराहारीको शक्ति हो भन्ने २०६ मतको अन्तरले पुष्टि गरेको छ ।

दोलखामा संगठन र जनमतको हिसाबले २०४८ सालदेखि नै एमाले पहिलो पार्टी हो । तर बुथ कब्जा रोक्न नसक्दा धेरै पटक हार व्यहोरेको एमालेले यस पटक त्यो अवस्था भोग्नु नपरेका कारण सहज जित भएको जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर बताउँछन् । बुथ कब्जा नहुनु र गठबन्धन नहुनु एमालेको जितका लागि दुई अनुकूलता यस पटक मिलेका कारण जित सम्भव भएको हो ।

समग्रमा गौरीशंकर गाउँपालिकाको यसपटकको निर्वाचन परिणामले दोलखामा बुथ कब्जा र हिंसाको राजनीतिलाई निषेध गरेको छ । भविष्यका निर्वाचनमा पनि निर्वाचन आयोगले दोलखालाई ‘ब्ल्याक स्पट’का रुपमा राखेर कुनै पनि हिंसा,कब्जा र फर्जी मतदान रोक्न पहल गरेमा जनताले निर्बाध मतदान गर्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर