माओवादीले सारेका एजेण्डालाई अनुमोदन गरेर जनताले अब एक्लै लड्ने जनादेश दिएका छन्: प्रचण्ड – Nepal Press

माओवादीले सारेका एजेण्डालाई अनुमोदन गरेर जनताले अब एक्लै लड्ने जनादेश दिएका छन्: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका छन् ।

उपनिर्वाचनको नतिजाले उत्साहित माओवादीका अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ति जारी गर्दै पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’

विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले उत्साहपूर्ण रुपमा पार्टीलाई समर्थन गरेको प्रचण्डले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पुर्‍याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ ।’

पार्टीले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य सम्पादन गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिनेछ । यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’


प्रतिक्रिया

One thought on “माओवादीले सारेका एजेण्डालाई अनुमोदन गरेर जनताले अब एक्लै लड्ने जनादेश दिएका छन्: प्रचण्ड

  1. रास्वपा र एसको भोटले अलिकति बढेको देखिएको हो । सुन तस्करहरूलाई जनताले फालिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर