चितवनमा रविको बयान: वातावरण बनाउन दुई घन्टा, प्रश्नोत्तर दुई घन्टा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई काठमाडौंको बयानलगत्तै चितवन ल्याउने प्रहरीको तयारी अस्तिदेखिकै थियो ।
साहारा सहकारीको रकम अपचलन गरेको पूरक निवेदनपछि चितवन प्रहरीले कास्की प्रहरीसँग समन्वय गरेर रविलाई चितवन ल्याउन हिजो नै बुद्ध एयरको टिकट काटिसकेको थियो ।
चितवन आजै ल्याइने हल्ला भए पनि प्रहरी प्रमुख एसपी गौतम मिश्रले जिल्लाका उच्च सुरक्षा संयन्त्रबाहेक आफ्नै प्रहरी संगठनमा पनि पहिलो जाहज ल्याण्ड हुने एक घण्टाअगाडिसम्म जानकारी गराएका थिएनन् ।
रविको निर्वाचन क्षेत्र चितवन नै भएकाले सुरक्षा चुनौती फेस गर्न गाह्रो हुने आँकलन प्रहरीले सुरुदेखि नै गर्दै आएको थियो ।
योजनाअनुसार बुद्ध एयरको पहिलो उडानबाट रविलाई चितवन ल्याइएको थियो । ९ बजे चितवनमा जहाज ल्याण्ड गरेपछि कडा सुरक्षाबीच केही समय जिल्ला प्रहरी कार्यालय ल्याएर लामिछानेलाई प्रहरीले रेस्ट गराएको थियो ।
बिहानैदेखि रास्वपा समर्थकले सडकमा प्रदर्शन गरेको भए पनि चौबीसकोठीदेखि केही यताबाट प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा भने प्रहरीले आउन दिएन ।
सहकारी अपचलनको यस मुद्दामा प्रहरीले सानो कुरामा पनि नचुक्नेगरी तयारी गरेको छ । त्यसैले ससाना विषय पनि कानूनबमोजिम र पक्राउ परेका लामिछानेलाई जानकारी गराएर बयानमा अघि बढ्ने तयारी थियो । दुई घण्टा प्रहरी कार्यालयमा रेस्ट गराएपछि रविलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।
सरकारी वकिलको कार्यालयले साहारा सहकारीको रकम हिनामिनामा दायर भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा लामिछानेलाई सोध्न ६५ वटा प्रश्न लेखेरै राखेको थियो, तर सरकारी वकिलको कार्यालयमा जानेबित्तिकै बयान भने सुरु भएन ।
‘हामी तयारी अवस्थामा नै थियौं, तर बयानको वातावरण बनाउनै दुई घण्टा लाग्यो’, सरकारी वकिल कार्यालय स्रोतले नेपाल प्रेससँग भन्यो ।
दुई घण्टा लामो भलाकुसारीपछि बयान सुरु भएको थियो । स्रोतका अनुसार बयान सुरु हुँदा करिब २ बजेको थियो । बयानका क्रममा रविले अनुसन्धानमा सहयोग गर्ने पटक पटक अनुसन्धान अधिकारीलाई बताएका थिए ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार आज लिखित रुपमा तयार पारिएको प्रश्नमध्ये २६ वटाको मात्रै जवाफ लिन भ्याएको छ । कार्यालय समय समाप्त भएपछि आजलाई सरकारी वकिलको कार्यालयले बयान स्थगित गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत डीएसपी ज्ञानकुमार महतोले लामिछानेसँग बयान लिएका हुन् । जिल्ला सरकारी कार्यालय चितवनले भोलि बिहान ९ बजे बयानको लागि बोलाएको जिल्ला न्यायाधिवक्ता लुइँटेलले जानकारी दिए ।
यो नाटक छिटो बन्द गर । सबैभन्दा बढी ठग र देश लुटने काँग्रेसीहरू । अनि दुख दिने रविलाई ?