कांग्रेस र एमालेको साथले मात्रै माओवादी टिकेको भन्ने भाष्य खारेज भयो: वर्षमान पुन – Nepal Press

कांग्रेस र एमालेको साथले मात्रै माओवादी टिकेको भन्ने भाष्य खारेज भयो: वर्षमान पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले हालै सम्पन्न उपविर्वाचनको परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन् ।

पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरुलाई जनमतले अनुमोदन गरेको बताए ।

कांग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको उनको भनाइ थियो ।

‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं । उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौं ।’

विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले आफूहरुको मत लिएको तर आफूहरुलाई मत नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उनले बताए ।

उपमहासचिव पुनले कांग्रेस र एमालेको जनमत घटेको र आफूहरुको बढेको दाबी गरे । जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोस्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो ।

निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालौपालो जनतालाई शासन गर्ने कांग्रेस–एमाले महत्वाकांक्षामा धक्का लागेको उनले बताए ।

‘अब त्यो सम्भव छैन । बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईंहरुले सक्नुहुन्न’, पुनले भने ।

जनताले एक्लै निर्वाचनमा जाँदा आफूहरुलाई विश्वास गरेको भन्दै उनले पार्टी केन्द्रीय समितिबाट आगामी दिनमा स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय यसअघि नै भएको स्मरण गराए ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार, बेथिति, बिचौलियातन्त्र र राज्य दोहनविरुद्ध काम गरेका कारण पनि जनता आफूहरुतिर आकर्षित भएको उनको भनाइ थियो ।

पुनले आफूहरुको ध्यान सरकारमा नभएको भन्दै २०८४ सम्म मिलेर सरकार चलाउन कांग्रेस-एमालेलाई आग्रह गरे । ती दलका नेताले आफ्नो महत्व बढाउन माओवादी सरकार ढाल्ने खेलमा लागेको भन्दै टिप्पणी गरेको भन्दै उनले सरकार बाहिरै बसेर जनताको सेवा गर्ने उल्लेख गरे ।

आफूहरु सरकार ढाल्ने खेलमा नलागेको र नलाग्ने चर्चा गर्दै पुनले विगतका चार महिनामा जसरी नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुको सेवा गरिरहे यो सरकारलाई जनताले सडकबाटै ढाल्ने दाबी गरे ।

‘तपाईंहरुको विचार, व्यवहार, शैली र प्रवृत्ति मिल्छ । तपाईंहरु मिलेरै सरकार चलाइराख्नुस्’, पुनले भने, ‘हामीलाई सरकार चाहिएको छैन । अहिले जसरी नै भ्रष्टाचारी, बिचौलिया, दलालहरुको सेवा गरिराख्नुभयो भने तपाईंहरुलाई कुनै दिन जनताले सडकबाट गलहत्याउँछन् ।’

फरक प्रसंगमा पुनले २०५१ को मध्यावधि निर्वाचनमा एक पटक प्रतिनिधिसभा सदस्य र २०७४ मा माओवादी समर्थनमा प्रदेशसभामा बाहेक कहिल्यै चुनाव नजितेका एमाले महासचिव शंकर पोखरेलले आजीवन चुनाव नहारेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाललाई हरुवा भनेकामा आपत्ति जनाए ।

२‘०५१ मा एक पटक र २०७४ मा हामीसँग मिलेर प्रदेशसभामा जितेबाहेक जीवनमा कुनै पनि चुनाव नजितेका व्यक्तिले २०६४ देखिका हरेक चुनावमा जित्दै आउनुभएका हाम्रा अध्यक्षलाई हरुवा भन्न लाज लागेन ? आफ्नो हैसियत हेरेर बोल्ने गर्नुस्’, पुनले भने ।


प्रतिक्रिया

One thought on “कांग्रेस र एमालेको साथले मात्रै माओवादी टिकेको भन्ने भाष्य खारेज भयो: वर्षमान पुन

  1. अहिले रास्वपा र अलिकति एसले टिकेको हो माओवादी । फुर्ति नगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर