बीमा कम्पनीहरूको व्यापार ९ प्रतिशतले बढ्यो
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरूको व्यापार ९ प्रतिशत भन्दा बढीले बढेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्तको तुलनामा चालू आवको कात्तिक मसान्तसम्मको अवधिमा जीवन र निर्जीवन बीमा कम्पनीहरूको व्यापार ९.४४ प्रतिशतले बढेको हो ।
बीमा प्राधिकरणका अनुसार चालू आवको कात्तिक मसान्तसम्ममा बीमा कम्पनीहरूले ६८ अर्ब ५ करोड ७७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जबकी गत आवको सोही अवधिमा यी कम्पनीहरूले ६२ अर्ब १८ करोड ८३ लाख बराबरको व्यापार गरेका थिए ।
निर्जीवन बीमा कम्पनीहरूको व्यापार पनि १२.६४ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १२ अर्ब ७४ ७१ लाख बीमाशुल्क संकलन गरेकोमा चालू आवको सोही अवधिमा १४ अर्ब ३५ करोड ८६ लाख शुल्क संकलन गरेका छन् ।
चालू आवको कात्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले ५३ अर्ब ६९ करोड ९० लाख बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ८.६१ प्रतिशत बढी हो । उक्त अवधिमा जीवन बीमा कम्पनीहरूले ४९ अर्ब ४४ करोड ११ लाख बीमाशुल्क संकलन गरेका थिए ।
जीवन बीमा कम्पनीहरूले सक्रिय बीमालेखको सङ्ख्या एक करोड ३८ लाख ४ हजार ६४७ हुँदा निर्जीवन बीमा कम्पनीहरूको बीमालेखको सङ्ख्या ९ लाख ९८ हजार ५९६ पुगेको छ ।
हाल बीमा कम्पनीहरूको कार्यालय २ हजार ९९१ रहेको छ । यी कम्पनीहरूमा ११ हजार ८१८ जना कर्मचारी कार्यरत रहेको प्राधिकरणले जानकारी दिएको छ ।