बंगलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध बोले कांग्रेस नेता
काठमाडौं । नेपाली कांग्रेसका हिन्दू धर्म सापेक्ष राज्य पक्षधर नेताहरुले बंगलादेशमा भएको हिन्दूमाथिको दमनविरुद्ध औपचारिक रुपमा बोलेका छन् ।
कांग्रेस नेताहरु जोडिएको ‘सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान’ समूहको तर्फबाट संयोजक शंकर भण्डारीले आज प्रेस विज्ञप्ति सार्वजनिक गरेर विरोध जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘इस्लामिक आपराधिक समूहहरुबाट हिन्दू धर्मावलम्बीहरुमाथि हिंसात्मक आक्रमणको कारण कैयौं नागरिक हताहत भएका छन्, महिलामाथि बलात्कार, जबरजस्ती धर्म परिवर्तनको घटनामा वृद्धि, राज्य पक्षबाट धर्मगुरुसहित हिन्दूहरुउपर धरपकड र हिन्दू मन्दिरको तोडफोड र विनाशको घटनाप्रति नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र स्थपना महाअभियान गहिरो चिन्ता प्रकट गर्दछ ।’
विज्ञप्तिमा हिन्दूहरुमाथि भएको दमन र आक्रमणको मुद्दामा संयुक्त राष्ट्रसंघदेखि विभिन्न मानव अधिकारका संस्थाहरुसहित बंगलादेशका छिमेकी देशहरु मौन रहेको विषय चिन्ताजनक रहेको उल्लेख छ ।
नेपालका सत्ताधारी प्रमुख दलहरुका नेताको तर्फबाट आएको बंगलादेशका हिन्दूमाथिको दमनविरुद्धको यही पहिलो औपचारिक प्रतिक्रिया हो । बंगलादेशमा हिन्दूसहित, बौद्ध, ईसाई तथा सुफीहरुमाथि भएको दमनका घटनाहरुका समाचार विश्वभर उठिरहेका छन् । चुनावताका अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले पनि हिन्दू र अरु अल्पसंख्यकलाई दमन भएको भन्दै विरोध गरेका थिए । बेलायती सदनमा पनि यसको विरोध भएको थियो ।
बंगलदेशमा पछिल्लो समयमा इस्कन नामक संस्थामा जोडिएका धर्मगुरु कृष्ण दास पक्राउ परेपछि भारतले कूटनीतिक विरोध गरेको थियो । बंगलादेशले प्रतिक्रिया दिएर अर्को सविरोध गरेको थियो । अहिले भारत तथा बंगलादेश दुवै देशमा एकअर्काको विरोधमा जुलुस आयोजना भइरहेका खबरहरु सार्वजनिक भएका छन् ।