उपचुनावको रुझान : नयाँ र वैकल्पिक शक्तिमा जनविश्वास उडेको हो ?
विश्लेषकको तर्क- काठमाडौं १६ वडाको नतिजाले ठूला दललाई खतराको घन्टी बजेको छ
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको नतिजा आएपछि दलहरु चुनावी समीक्षामा जुटेका छन् । विभिन्न ४१ पदका लागि भएको निर्वाचनमा दलहरु अपवादबाहेक एक्लाएक्लै लडेका थिए ।
मिसन २०८४ को तयारीमा रहेका दलहरुले जनमत कता जाँदैछ भन्ने परीक्षण गर्ने अवसरको रुपमा यो उपनिर्वाचनलाई हेरेका थिए । यो निर्वाचनबाट जनताको रोजाइमा तीन ठूला दल नै परे, तर २०७९ सालको गणित अलिकति तलमाथि भएको छ ।
कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्ष, एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्ष, माओवादीले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र एक नगरपालिका उपप्रमुखसहित सात वडाध्यक्ष जिते । जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक-एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले जित्न सफल भए । यो निर्वाचनको नतिजाप्रति प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबाहेक अरु सन्तुष्ट छैनन् ।
एक्लै लड्दा पनि आफूले जितेको क्षेत्र सुरक्षित गर्दै केही थप्न सफल भएको तथा अधिकांश स्थानमा दोस्रो स्थानमा रहेकाले माओवादी उत्साहित छ । माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको जिकिर गरेका छन् । यो उपनिर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको उनको भनाइ छ ।
उनले विज्ञप्ति नै जारी भनेका छन्, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’
विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले उत्साहपूर्ण रुपमा पार्टीलाई समर्थन गरेको प्रचण्डको बुझाइ छ ।
नयाँ र वैकल्पिक शक्ति नपाएकै हो ?
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको तर्क भने फरक छ । असन्तुष्ट जनताले विकल्प चाहेको भए पनि नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य भएको उनको बुझाइ छ ।
‘दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ’, उनले भनेका छन्, ‘साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक-अर्काको विकल्प बनेका छन्, यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन् ।’
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनले बताए ।
बाबुरामले भने झैं कांग्रेस र एमालेमात्रै होइन, गएको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतले पनि अपेक्षित मत ल्याउन सकेनन् । रास्वपाले काठमाडौं-१६ को वडाध्यक्ष जिते पनि अन्य उम्मेदवारी दिएको क्षेत्रमा जमानत नै जफत भयो ।
यता राजसंस्थालाई प्रमुख एजेण्डा बनाएको राप्रपाको पनि हालत उस्तै भयो । अधिकांश उम्मेदवारलाई सय मत कटाउनै हम्मेहम्मे पर्यो ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ यो निर्वाचनमा ठूला दलहरु कांग्रेस र एमालेप्रति आकर्षण घटेको देखिएको बताउँछन् ।
उनले भने, ‘कांग्रेसको साइज पहिलाभन्दा घटेको छ, एमालेको सबैभन्दा धेरै घटेको छ, माओवादीको समग्रमा बढे पनि केही ठाउँमा जनमत घटेको देखिएको छ । एक्लाएक्लै चुनावमा जाँदा पार्टीहरुको वास्तविक साइज के हो, लोकप्रियताको कस्तो छ भन्ने देखाएको छ ।’
उनले नेपालमा अझै वामपन्थी वर्चस्व रहेको भन्दै यदि वामपन्थी मिलेर लडेको भए धेरै ठाउँमा जित्नसक्ने आधार देखिएको बताए ।
उनले थपे, ‘शहरी क्षेत्र काठमाडौं, विराटनगर, झापामा स्वतन्त्रको पनि वर्चस्व देखिएको छ । काठमाडौंको मुटुमै रास्वपाले जित्यो, झापामा पनि स्वतन्त्र उम्मेदवारले जिते । यसले स्वतन्त्रहरुको पनि सम्भावना छ भन्ने देखाएको छ । दलहरुलाई आफूतिर हेर्न सिकाएको छ । माओवादीको बेसमा समस्या छैन, नेतृत्वमा समस्या छ भन्ने देखिएको छ ।’
नयाँ भन्नेहरुलाई पनि जनताले तत्कालै विश्वास गरिनहालेको देखिएको उनको बुझाइ छ ।
विश्लेषक श्रेष्ठले थपे, ‘जनमत पार्टीको पनि संख्या घटेको छ, जनमतको बलियो भएको ठाउँमा पनि जसपा नेपालले जितेको छ । यसले मधेशमा जनमत संसदमा आएपछि साख घटेको छ भन्ने देखाएको छ । नेकपा एसको हकमा अरुसँग मिल्दा जनमत देखिने तर एक्लै हुँदा नदेखिने समस्या छ । चुनावमा यस्तो हुनु स्वाभाविक हो । त्यसैले हरेक पार्टीले आफ्नो जनमत हेरेर आफूलाई सच्याउनुपर्छ ।’
ठूला दलहरुले नसच्चिए काठमाडौं, झापामा जस्तै अन्यन्त्र पनि आगामी निर्वाचनमा स्वतन्त्रहरुले जित्नसक्ने देखिएको उनको भनाइ छ ।
अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोरले शहरी क्षेत्रमा रास्वपा र माओवादीप्रति आकर्षण अझै नटुटेको देखिएको बताए ।
उनले भने, ‘काठमाडौं- १६ मा रास्वपाले जित्यो, कीर्तिपुरमा माओवादीको राम्रो देखियो । यसले अहिलेका गठबन्धनको दुई ठूला दलले काम गर्न नसकेको भन्ने शहरी जनमतको म्यासेज छ । सरकारमा भएका दलहरुप्रति जनतामा असन्तुष्टि बढ्दै गएको यो परिणामले देखाएको छ । रवि लामिछानेको कारणले काठमाडौंमा रास्वपाको उपस्थिति नहुनुपर्ने हो नि, तर खस्किएको छैन ।’
जनताले दलहरु सच्चिएको हेर्न चोहेको भन्दै अहिलेको नतिजाले २०८४ को निर्वाचनबारे विश्लेषण गर्न नसकिने उनले बताए ।
उनले थपे, ‘२०८४ मा परिस्थिति फेरिरहेको हुन्छ । काठमाडौंको मुटुमा रास्वपाले जित्नु भनेको ठूला दललाई ठूलो थप्पड हो, विशेषगरी एमाले र कांग्रेसलाई । रास्वपा अहिले आफैंमा पनि प्रतिकूल परिस्थितिको सामना गर्दैछ । यस्तो अवस्थामा काठमाडौंमा जित्नु भनेको अन्यन्त्रको जस्तो नतिजा आए पनि फरक पार्दैन ।’
नयाँ दल भन्छन्: अवसरको रुपमा लियौं
स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी भएको रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक गणेश पराजुली यो चुनाव एक नयाँ अनुभवका रुपमा रहेको बताउँछन् ।
चुनावी परिणामपछि पराजुलीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लोकतन्त्रको महत्वपूर्ण अंगका रुपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा छ । यसले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरुमा वितृष्णा तथा निराशा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी भएको यो पहिलो अवसर थियो । तसर्थ हाम्रा लागि यो चुनाव एक नयाँ अनुभवका रुपमा रह्यो ।’
उनीमात्रै होइन जनमतका प्रवक्ता शरद यादव पनि यो निर्वाचनलाई संगठन विस्तारको मौकाको रुपमा लिएको जिकिर गर्छन् ।
उनले भने, ‘हामीलाई गुमाउन केही पनि थिएन । हामीले जितेको ठाउँमा अहिले चुनाव भएको पनि होइन, तर हामीले नजितेको, संगठन पनि नभएको ठाउँमा हाम्रो राम्रो मत आएको छ । मतको संख्या बढेको छ । अब आउने दिनमा हामीले राम्रो नतिजा ल्याउनसक्ने आधार देखेका छौं ।’
संसदीय व्यवस्थामा जुन तहको निर्वाचन भए पनि दलहरुका लागि मौकाको रुपमा लिने गरिएको भन्दै यो निर्वाचनमा दलहरुको शक्ति परीक्षण भएको उनी स्वीर्काछन् ।
उनले थपे, ‘नयाँ संगठन पनि नभएको वडामा पनि हामीले ३०० भन्दा बढी मत कटाएका छौं । हामीले आफ्नो मुद्दा र वाचालाई नै अगाडि सारेका छौं । हामीले यो परिणामलाई सकारात्मक रुपमा लिएका छौं ।’
समीक्षामा कांग्रेस र एमाले
त्यसो त अपेक्षित नतिजा ल्याउन नसकेको कांग्रेसका महामन्त्री तथा स्थानीय तह उपनिर्वाचन समितिका संयोजक विश्वप्रकाश शर्मा उपनिर्वाचनले दिएको सन्देशबारे समीक्षा गर्ने बताउँछन् ।
शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा हामी गर्नेछौं नै, प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई हामीले सन्तोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौं ।’
रिक्त ४४ मध्ये १९ स्थानमा कांग्रेसका उम्मेदवार विजयी भएको उल्लेख गर्दै २०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम, तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण भएको उनको विश्लेष्ण छ ।
मूलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तीनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी रहेको सन्देश दिएको महामन्त्री शर्माले उल्लेख गरेका छन् ।
उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखिएको भन्दै निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहनुपर्ने उनको तर्क छ ।
कांग्रेसले मात्रै होइन, सत्ताको नेतृत्व गरिरहेको एमालेका नेताहरुले पनि निर्वाचनको परिणामबारे संख्यागत नभई तथ्यगत रुपमा विश्लेषण गर्नुपर्ने तर्क गर्दै आइरहेका छन् ।