त्रिवि मैदानमा रन वर्षा, लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित – Nepal Press

त्रिवि मैदानमा रन वर्षा, लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ ।हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो ।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा हासिल गरेको हो । दुवै तर्फबाट रन वर्षा भएको खेलको अन्त्यमा हिरो भए स्कटल्यान्डका क्रिस सोल ।

नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा विराटनगरलाई ४ बलमा १३ चाहिएको थियो । उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए ।

यादवले महंगो बलिङ गरे । उनले ३.५ ओभरमा बिनाविकेट ६४ रन खर्चिएका छन्, जुन यो एनपीएलमा कुनै पनि बलरले खर्चेको सबैभन्दा बढी रन हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले प्रतियोगिताकै उच्च स्कोर खडा गर्न सफल भएको थियो । बिराटनगरका लागि कप्तान रोहित पौडेलले सबैभन्दा बढी ४६ रन बनाए । २९ बलको सामना गरेका उनले २ छक्का र ४ चौका हिर्काएका थिए ।

विराटनगरले अनुशासनहिन बलिङ गर्दै १४ वाइडसहित २९ अतिरिक्त रन खर्चिएको थियो, जसले गर्दा लुम्बिनीलाई ठूलो स्कोरमा पुग्न सहज भयो । आठौं नम्बरमा आएका बिवेक यादवले ७ बलमा ३ छक्कासहित १९ रन बनाउँदै लुम्बिनीको स्कोर उकासेका थिए ।

लुम्बिनीका चार जना ब्याट्सम्यानहरु दुर्भाग्यपूर्णरुपमा रनआउट भए । विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक–एक विकेट लिए । सन्दीपको एनपीएलमा पहिलो विकेट हो । कसिलो बलिङ गरेका उनले ४ ओभरमा २६ रन खर्चिए ।
जवाफी ब्याटिङमा विराटनगरले खराब सुरुवात गरेको थियो । आज पनि अर्को लज्जास्पद हारको भय विराटनगरका समर्थकमा ब्याप्त थियो ।

तर, लोकेश बलले शानदार पारी खेल्दै ठूलो स्कोर पछ्याउन महत्वपूर्ण भूमिका निभाए । उनले ४७ बलमा ६ छक्का र ३ चौकासहित ७१ रन बनाएर आउट भए ।

मार्टिन गुप्टिल र लोकश बमबीच तेस्रो विकेटका लागि ६२ रनको विष्फोटक साझेदारी भएको थियो । गुप्टिललाई आउट गर्दै लुम्बिनी खेलमा फर्कियो । तर, लोकेशले आक्रमण जारी राखे । उनलाई बसिर अहमदले बलियो साथ दिए ।

लोकेश र बसिरको साझेदारीले बिराटनगरलाई बलियो अवस्थामा पुर्यायो । तर, बसिर ४० रनमा आउट भएपछि फेरि खेलमा ट्वीस्ट आएको थियो । बसिरले २३ बलमा एक छक्का र चार चौका प्रहार गरे ।

१७.४ ओभरमा लोकेश बम आउट भए, जतिबेला बिराटनगरलाई जितका लागि १४ बलमा २९ रन आवश्यक थियो । प्रतिश जिसी आएर एक छक्का हाने र आउट भए ।

अन्तिम ओभरमा बिराटनगरलाई जितका लागि १६ रन चाहिएको थियो । खर्चिलो बलिङ गरिरहेका विवेकलाई लुम्बिनीका कप्तान रोहितले बल थमाए । जुन निर्णय अन्ततः गलत सावित भयो । विवेकले सुरुमै लगातार दुई वाइड फ्याके । अर्को बलमा सन्दीपको विकेट लिन सफल भए । एक बल डट फ्याके । तर, त्यसपछि क्रिस सोलको पालो आयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *