पत्रकारमाथि चितवनमा रास्वपाका कार्यकर्ताद्वारा कुटपिट – Nepal Press

पत्रकारमाथि चितवनमा रास्वपाका कार्यकर्ताद्वारा कुटपिट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघ संगठनहरुले विरोध जनाएका छन् ।

रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भईरहेको अनुसन्धानको विरोधका उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजामाथि आज कुटपिट भएको हो ।

घटनाको नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्वद्द संघ सस्थाहरुले घोर भ्रत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस सेन्टरका सचिव रवि अधिकारी, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिना र जनपत्रकार संगठनका अध्यक्ष होमनाथ न्यौपानेले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी विरोध गर्नुभएको हो ।

विज्ञप्तिमा रास्वपाका कार्यकर्ताहरुले समाचार संकलन गरिरहेका पत्रकार देउजामाथि प्रर्दशनकारीले मुक्का प्रहार गर्दै लखेटेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “आक्रमणबाट जोगिन पत्रकार देउजा अस्पताल रोडको एक घरमा शरण लिन बाध्य पारिएको घटना निन्दनीय छ । पत्रकार देउजाको अवस्था बुझ्न जानुभएका नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस चौतारी नेपाल चितवनकी इन्चार्ज एवं नेपाल प्रेसकी चितवन संवाददाता प्रतिमा सिलवाल लगायतका पत्रकारहरुमाथि पनि अमानवीय तथा अभद्र ब्यवहार भएको छ ।” घटना लोकतान्त्रिक समाजका लागि अमर्यादित र निन्दनीय कार्य भएको उल्लेख गर्दै विज्ञप्तिमा यस्तो कार्य नगर्न नगराउन चेतावनी दिईएको छ ।

जारी संयुक्त विज्ञप्तिमा पत्रकार देउजा लगायतका पत्रकारहरुमाथि आक्रमण गर्ने आक्रमणकारीहरुको पहिचान गरी कडा कानुनी कारवाही माग गरिएको छ । “आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही नगरिए नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्बद्ध संघ संस्थाहरु जस्तोसुकै कदम चाल्न वाध्य हुने चेतावनी दिन चाहन्छौँ ।” विज्ञप्तिमा भनिएको छ “सम्बद्ध पार्टीलाई घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारवाहीका लागि सहयोग गर्न यसै विज्ञप्ति मार्फत् अनुरोध गर्दछौं ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर