शिक्षा सुधार गर्न तत्काल ऐन ल्याउनुको विकल्प छैन : मन्त्री भट्टराई (भिडिओ) – Nepal Press

शिक्षा सुधार गर्न तत्काल ऐन ल्याउनुको विकल्प छैन : मन्त्री भट्टराई (भिडिओ)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधि, विद्यालय,बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै शिक्षा मन्त्री भट्टराईले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षा ऐन वर्तमानलाई भन्दा पनि भविष्यलाई सोचेर बनाउन आवश्यक रहेको बताइन् । उनले शिक्षा ऐन तत्काल समितिमा सहमति गरी कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिइन् ।

उनले शिक्षा ऐन चाँडै बनाउनको लागि सर्वप्रथम सांसदहरुले तदारुकता देखाउन आवश्यक रहेको भन्दै त्यसको लागि मन्त्रालयले गर्नुपर्ने हरेक विषयमा सहजिकरण गर्न तयार रहेको बताइन् । उनले शिक्षा ऐनलाई वर्तमान अवस्थालाई मात्रै सोचेर बनाउँदा भावी दिनमा ऐन कार्यान्वयनमा समस्या आउने भन्दै भविष्यलाई समेत सोचर ऐन बनाउनुपर्नेमा जोड दिइन् ।

शिक्षामन्त्री भट्टराईले २०२८ सालको शिक्षा ऐनमा पछि पनि सरकारले २०७५ सालमा अनिवार्य निःशुल्क शिक्षा ऐन बनाएको बताइन् । उनले अनिवार्य निःशुल्क शिक्षा ऐनले निःशुल्क र अनिवार्य मात्रै गर नभनेको भन्दै संघीयताअनुसार तीन तहहरुबीचको समन्वयका विषयमा पनि स्थानीय,प्रदेश र संघ समन्वय भएमात्रै शिक्षा सुदृढ हुने विषय समावेश रहेको बताइन् ।

उनले विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको भएपनि स्थानीय तहलाई बलियो, सुदृढ बनाउने र उत्तरदायी बनाउने दायित्व प्रदेश र संघको भएको बताइन् । उनले अनिवार्य निःशुल्क शिक्षा ऐनले व्यवस्था गरेका धेरै विषयलाई लागू गर्दा मात्रै पनि मुलुकको शिक्षा धेरै व्यवस्थित गर्न सकिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *