विधवाको भेषमा एक महिलाले अदालत प्रांगणमै न्यायाधीशको पुत्ला जलाइन्, के हो काण्ड ?
अदालतका तहसिलदारविरुद्ध हालेको बलात्कार मुद्दामा न्यायाधीशले राम्ररी बकपत्र नगराएको आरोप
काठमाडौं । जिल्ला अदालत दाङको दैलोमा नै बुधबार एक महिलाले न्यायाधीशको पुत्ला दहन गरेकी छन् । ‘विधवा’ को भेषमा सेतो सारीचोलो लगाएर आएकी समीक्षा कोइरालाले जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको पुत्ला जलाएकी हुन् ।
कोइरालाले सोही अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेविरुद्ध हालेको बलात्कार मुद्दा हाल विचाराधीन छ । उक्त मुद्दामा न्यायाधीशले अपूरो बकपत्र गराएको आरोप उनले लगाएकी छन् । अन्तर्राष्ट्रिय लैंगिक हिंसा अन्त्यको १६ दिने अभियान चलिरहँदा आफू न्यायालयबाटै ‘हिंसा’मा परेको उनले बताइन् ।
कोइरालाले आफ्ना श्रीमानविरुद्ध जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । मुद्दाको पेशीका लागि अदालत आउँदा तहसिलदार पाण्डेसँग उनको काम परेको थियो । पाण्डेले अदालतभित्र भिडभाड भएकाले एकान्तमा कुरा गर्नुपर्ने भन्दै अदालत परिसरमै रहेको आफ्नो क्वाटरमा लगेको कोइरालाको भनाइ छ । क्वाटरभित्र आफूलाई बलात्कार गरिएको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
कोइरालाको जाहेरीका आधारमा प्रहरीले पाण्डेलाई पक्राउ गरेर जिल्ला अदालत दाङमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले पाण्डेलाई डेढ लाख धरौटीमा छोड्ने आदेश दियो । त्यसविरुद्ध उनले उच्च अदालतमा पुरावेदन गरिन् । उच्चले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । त्यसपछि फेरि पक्राउ परेका पाण्डे हाल तुल्सीपुर कारागारमा छन् ।
सोही मुद्दामा कोइरालालाई बकपत्रका लागि दुई दिनअघि अदालत बोलाइएको थियो । त्यस दिन बयान नसकिएपछि न्यायाधीशले फेरि अर्को दिन आउन भन्दै घर फर्काएका थिए । तर, अर्को दिन बयानलाई निरन्तरता नदिइकन बकपत्रमा सही गर्न नमानेको भन्दै कैफियत प्रतिवेदन बनाएको कोइरालाको दाबी छ ।
कोइरालाले श्रीमानसँगको अंश मुद्दा भने जितिसकेकी छन् । श्रीमानले पनि उनीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा हालेका थिए । तर, अदालतले मञ्जुरी दिएन । आफूलाई बच्चासहित श्रीमानले घर निकाला गरेको कोइराला बताउँछिन् ।