रविलाई राती नै पोखरा लगियो
चितवन । साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर राती बयान सकिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई मध्यरातमा नै पोखरा लगिएको छ ।
गए राती ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिए पनि उनलाई खाना खुवाइवरी बयान प्रमाणित गरेर सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाउँदा राती ९ बजेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले राती नै वीरगञ्ज लगिने तयारी भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकोले लामिछानेलाई पोखरा लगिएको हो । ३ बजे लामिछानेलाई चितवनबाट प्रहरीले पोखरा लगेको थियो । तीन घण्टामा पोखरा पुर्याइएको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले आज ३ बजे हिँडाएर बिहान ६ बजे लामिछानेलाई पोखरा पुर्याइएको बताए । उनले भने,— पर्सा प्रहरीले पनि पक्राउ पूर्जी जारी गरे पनि आइतबार म्याद थप गर्नुपर्ने कारण उहाँलाई राती नै पोखरा लगिएको हो ।
हिजो दिउँसो लामिछाने बयान चलिरहँदा हिजो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँसले तितरबितर पारेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरी तर्फ केही घाइते समेत भएका थिए ।
आज बिहान जहाजमा पठाउने गरी टिकट बुक गरिराखेको प्रहरीले हिजोको हुल हुज्जतका कारण सुरक्षा जोखिमलाई आँकलन गरी राती नै गाडीबाट पोखरा लगेको जनाएको छ ।