विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर गरिँदै, सुरक्षा व्यवस्था कडा
जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज (बिहीबार) मटकोर विधि गर्ने तयारी पूरा भएको छ ।
जानकी मन्दिरबाट आज दिउँसो जानकी मन्दिरबाट बाजासहित भगवान् माता सीताको रूपमा सजाएका बालकलाई गंगासागर पोखरी लगेर मटकोर विधि गरिन्छ ।
मटकोर विधिमा प्रतिकात्मक माता सीतालाई नुहाइन्छ । सो अवसरमा औकरी (पानीमा भिजाएको चना) प्रसादको रूपमा बाँड्ने गर्छ ।
त्रेतायुगमा जनकपुत्री सीताले विवाह गर्नुअघि माटो खनेको किंवदन्तीलाई मटकोर विधि भन्ने गरिन्छ ।
ऐतिहासिक गंगासागर पोखरीकै माटो जानकी मन्दिर लग्छ । सो माटोबाट मरबा (बेदी) तयार पारिन्छ, जहाँ भगवान् श्रीराम र सीताको सिन्दूर दान गराउने परम्परा छ ।
मटकोरको अवसरमा गंगासागर पोखरीमा लाखौँ श्रद्धालु तथा भक्तजन सहभागी हुन्छ । त्यहाँ उपस्थित सयौँ नरनारीले मटकोर गीत गाउने गर्छन् । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महाआरती आज दिउँसै गरिन्छ ।
विवाह पञ्चमीको छैटौँ दिन शुक्रवार भगवान् श्रीराम र जानकीको डोला फेर गरी स्वयंवर र विवाह गराउने चलन छ । शनिवार रामकलेवा पश्चात् विवाहपञ्चमी विधिवत् रूपमा सम्पन्न हुनेछ ।
हरेक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती यस वर्ष पनि आएको छ । करिब पाँच सयको संख्यामा जन्ती आएको र विभिन्न जिल्लाबाट श्रद्धालुहरू आउने क्रम सुरु भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जानकी मन्दिर क्षेत्रमा ठूला सवारी साधनहरू प्रवेश निषेध गरिएको छ । शिव चोक, रामानन्द चोक र भानु चोकसहितका ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । उनीहरू जानकी मन्दिर क्षेत्रमा सवारी साधनहरू जान दिइरहेका छैन ।
विवाह पञ्चमीको अवसरमा सीताराम विवाह हेर्न नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजनहरू आउने गरेकाले उनीहरूको सुरक्षाका लागि करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले जानकारी दिए ।