ऊर्जामन्त्रीले विद्युत प्राधिकरणमा कार्यकक्ष खोलेकोप्रति माओवादीको आपत्ति (भिडिओ)
अग्नि सापकोटाको प्रष्टीकरण- माओवादी सरकार भत्काउनतिर लागेका छैन, नभत्कियोस् पनि
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले विद्युत प्राधिकरणमा कार्यकक्ष खोलेकोप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सरकारले प्राधिकरणको काममा अवरोध गर्न खोजेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
उनले भने, ‘विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गरिरहेको छ। त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै नभएको कुरा विद्युत प्राधिकरणमै कार्यकक्ष खोलेर विद्युत प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरिरहेको छ। यसअर्थमा सरकार बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरिरहेको छ। अब यस्ता सरकारका कदमकाविरुद्धमा व्यवस्थित खबरदारी सभा गर्नेछौं।’
उनले माओवादी सरकार भत्काउने खेलमा नरहेको पनि प्रष्टीकरण दिए।
सापकोटाले भने, ‘हामी सरकार भत्काउनतिर लागेका छैनौं, हामी नभत्कियोस् भन्ने चाहन्छौं। सरकारको यो जनविरोधी काम, भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने कामले अराजकतावादीहरुले मौका नपाउन् भन्ने चिन्ता छ। त्यसैले हामी चाँडोभन्दा चाँडो विचार, सिद्धान्त र कार्यक्रम लिएर जानुपर्छ भन्ने तयारीमा छौं। सरकारतिरको छलफलमा छैनौं।’