जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानता बढायो : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ) – Nepal Press

जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानता बढायो : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छन् ।

बिहीवार त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गरिन् ।

उनले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपहरुले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन् । उनले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताइन् । उनले अनुकुलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गरिन् ।

उनले भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्वहरुको पहिचान गर्दै सोहीअनुरुप अनुकुलनमा दिगो र प्रभावकारी उपायहरुको अवलम्वन गर्न सहयोग पुग्ने दाबी गरिन् ।

‘जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्युनिकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्नुका लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता पर्छ । यस्ता अनुसन्धानबाट जलवायु अनकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्वहरुको पहिचान गर्दै सोहीअनुरुप अनुकुलनमा दिगो र प्रभावकारी उपायहरुको अवलम्वन गर्न सहयोग पुग्छ’, उनले भनिन्, ‘जनसंख्याको ठूलो हिस्साले कृषिलाई जीविकोपार्जनको आधार मान्दै आएका नेपाल,भारत,बंगलादेश जस्ता दक्षिण एशिया चीनमा समेत गरेको अध्ययनले यस क्षेत्रका किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौति सामना गर्न सहज हुने अपेक्षा छ ।’

उनले विभिन्न देशहरु सम्मिलित भइ गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौति सामना गर्न सहज हुने अपेक्षा रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *