लाखौं श्रद्धालुबीच यसरी गरियो माता सीताको मटकोर (तस्बिरहरु / भिडिओ)
जनकपुरधाम । सीता-राम विवाहपञ्चमी महोत्सवअन्तर्गत जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा माता सीताको मटकोर गरिएको छ ।
त्रेतायुगमा जनकपुत्री सीताले विवाह गर्नुअघि माटो खनेको किंवदन्तीलाई मटकोर विधि भन्ने गरिन्छ । गंगासागरबाट माटो जानकी मन्दिर लगिएको छ । उक्त माटो विवाहको मण्डपमा बनाइने बेदीमा प्रयोग गरिन्छ । जहाँ माता सीतालाई भगवान श्रीरामले सिन्दुरदान गर्नेछन् ।
मटकोर विधिपछि सहभागीलाई औकरी (पानीमा भिजाएको चना) प्रसादको रुपमा बाँडिएको छ । औकरी लिन खासगरी महिला श्रद्धालुहरुबीच तछाडमछाड चल्यो । माता सीताको मटकोरको औकरी प्राप्त गर्नुलाई ठूलो भाग्यशाली मानिन्छ ।
मटकोर हेर्न लाखौं श्रद्धालु भक्तजनहरू, साधुसन्त र अयोध्याबाट आएका जन्ती सहभागी थिए । मिथिलाका नारीहरु बहिनी सीताको मटकोरको अवसरमा लोकगीत गाइन् । र, नाचिन् । उनीहरुसंगै एमालेकी सांसद जुली महतो, जनकपुरधामका मेयर मनोज साह र साधुसन्त समेत नाचेका थिए ।
मटकोरको अवसरमा लामो समयदेखि गंगासागर पोखरीमा हुने गंगा महाआरती आज दिउँसै गरिएको छ । आरतीपछि माता सीताको मटकोर विधि सुरु भएको थियो ।
विवाह पञ्चमीको छैठौं दिन शुक्रबार भगवान श्रीराम र जानकीको डोला फेर गरी स्वयंमवर (विवाह) गराउने चलन छ । शनिवार रामकलेवा पश्चात विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।