सुतिसकेका रविलाई मध्यरातमा झांगलझुंगल पार्दै पुर्‍याइएको थियो पोखरा, प्रहरीले ‘डायरी’ खोसेको दाबी – Nepal Press

सुतिसकेका रविलाई मध्यरातमा झांगलझुंगल पार्दै पुर्‍याइएको थियो पोखरा, प्रहरीले ‘डायरी’ खोसेको दाबी

काठमाडौं । अनुसन्धानका लागि काठमाडौंबाट चितवन पुर्‍याइएका रास्वपा सभापति रवि लामिछानेलाई ‘अस्वभाविक’ शैलीमा चितवनबाट हिजो मध्यरात पोखरा लगिएको छ । राति निदाइसकेका रविलाई झांगलझुंगल पार्दै उठाएर अपहरण शैलीमा लगिएको भन्दै रास्वपा नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

हिजो दिनभरि रविको चितवन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बयान कक्षमा नै बिहान–बेलुकाको खाना खुवाएर १२ घन्टासम्म उनको सोधपुछ भयो । राति साढे नौ बजेतिर उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा फर्काइयो । दिनभरिको थकाइले गर्दा उनी चाँडै सुतेका थिए ।

मस्त निद्रामा रहेका रविलाई मध्यरातमा प्रहरीले उठायो । उनलाई अहिल्यै पोखरा जानुपर्ने भनियो । जबकी भोलिमात्र जाने कुरा थियो ।

रविलाई पछ्याउँदै काठमाडौंबाट चितवन र पोखरा पुगेका रास्वपाका नेता दीपक बोहोराले भने, ‘आज पोखरा लैजाने कुनै कुरा थिएन । मेरै अगाडि पर्साका एसपीले भोलि (बिहीबार) बिहानको फ्लाइटमा लैजाने भनेका थिए । हामीले पोखरा विमानस्थलमा भेला हुन समर्थकहरुलाई सर्कुलर पनि गरिसकेका थियौं । भोलि जाने भनेपछि सभापतिज्यू सुत्न जानुभयो । तर, मध्यरातमै उठाएर अपहरण शैलीमा लैजाने काम भयो । प्रहरीको यो कार्य निन्दनीय र ज्यादतीपूर्ण छ ।’

दिउँसो ल्याउँदा रास्वपाका समर्थकहरुले प्रदर्शन चर्काउन सक्ने र शान्ति सुरक्षामा खलल पुग्ने भएकाले राति ल्याउनु परेको चितवन प्रहरीले जनाएको छ ।

रविको डायरी खोसिएको दाबी

सभापति लामिछानेले कास्की प्रहरीले आफ्नो ‘हिरासत डायरी’ समेत जफत गरेको बताएका छन् । चितवनबाट पोखरा ल्याइएपछि ब्याग खानतलासीका क्रममा डायरी प्रहरीले लिएको उनको भनाइ छ ।

आजै लामिछानेलाई हिरासतमा भेटेका नेता बोहराले भने, ‘उहाँले हिरासतमा बस्दा आफ्ना अनुभव र भोगाइहरु डायरीमा उतारिरहनु भएको छ । काठमाडौं र चितवन जाँदा त्यो डायरी उहाँको ब्यागमा नै थियो । तर, आज बिहान तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएपछि आफ्नो डायरी प्रहरीले जफत गरेको उहाँले मसित बताउनु भएको छ । प्रहरीलाई उहाँको डायरीसित पनि किन यत्रो डर हो बुझ्न सकिएन’, बोहराले भने ।

कास्की प्रहरीका डिएसपी बसन्त शर्माले भने रविको डायरी खोसेको इन्कार गरे ।

उनले भने, ‘यो अफवाह मात्रै हो । हामीले उहाँको डायरी खोस्नुपर्ने कुनै आवश्यकता छैन ।’

शर्माले आफूहरुसँग रविले डायरीको विषयमा कुनै कुरा नगरेको दाबी पनि गरे ।

‘डायरी हराएको भन्ने सुनेर म उहाँलाई नै सोध्न गएको थिएँ । तर, उहाँले आफूसँग कुनै डायरी नरहेको बताउनुभयो’, शर्माको भनाइ छ ।

बोहराले भने प्रहरीले झुटो बोलेको बताए ।

‘डायरी प्रहरीसँगै छ, अहिले पनि दिइएको छैन’, उनले भने ।

 


प्रतिक्रिया

4 thoughts on “सुतिसकेका रविलाई मध्यरातमा झांगलझुंगल पार्दै पुर्‍याइएको थियो पोखरा, प्रहरीले ‘डायरी’ खोसेको दाबी

  1. दिउसभरी बयान लिएपछि थाकेको मान्छेलाई किन रातारात गाडीमा पोखरा लगेको ? यो पुलिसको ज्यादती बढी भयो है । अमानवीय भयो । पुलिस असक्षम भैसक्यो । समितिले छानबिन गरेर रिपोर्ट दिईसकेको अवस्थामा पनि यत्रो दिन छानबिनको नाममा अमानवीय हिसावले यता र उता घुमाउनु र निष्कर्षमा पुग्न नसक्नु भनेको प्रहरीको नालायकी हो । कि चाहिँ बाख्रा चोर, घडी चोर, बासवारीको जग्गा खाने, नक्कली नागरिकता बोक्ने दलालहरूको निर्देशनमा गृहमन्त्रीले प्रहरी लगाएर बदला लिदैछन ? अब ओलिको हस्तक्षेप अति जरूरी भैसक्यो । यो नाटक बन्द गर । रवि बाहिर निस्के पछि यी दलालहरूलाई सखाप पार्छ । निश्चित छ ।

  2. यो चाही अत्ति भयो !!
    यसरी रातारात उठाएर लान पर्ने रबी को दोष के हो ? भोलि बिहान हुदैन ?? अनि, रविको पछि मात्र यत्ति धेरै फुर्ति फार्ती किन ?? गगन, रामहरी, रमेश लेखक लागेकै थिए प्रमाण बोकेर : रविलाई ठिक पार्ने हो चाहिएको कान्ग्रेशलाई गृह मन्त्रालय अनि लेखकलाई गृहमन्त्री !! आअको यो पाइलो खेदो पनि यिनै कांग्रेस र लेखकको ओद बल हो : यिनीहरु यसरी यान दिएर पछि लाग्नु को कारण के हो ?? कसकसलाई बचाउन, उम्काउन र दबाउन त हैन ?? कांग्रेश, आफैं भ्रस्त्राचारी : अरुलाई हिलो छ्यापेर खेद्ने !!!

  3. थुक्क मुजि भाते हो । वाइडबडी काण्ड , वोम्नी कान्ड, बालुवाटार काण्ड, सुडान काण्ड, बालमन्दिर काण्ड र देशैभरका सहकारी काण्ड छानबिन गरन भाते हो !

  4. २/३ सरकार को दम्भ खेदजनक छ
    सिङ्गो ठग हरु आफ्नो पाटिमा पालेर निर्दोष रबि बलिको बोको चढाइदैछ दलाल हरु होसियार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *