नवनिर्वाचित वडाध्यक्षमाथि कर्तव्य ज्यानको मुद्दा, पदभार ग्रहण गर्दागर्दै पक्राउ – Nepal Press

नवनिर्वाचित वडाध्यक्षमाथि कर्तव्य ज्यानको मुद्दा, पदभार ग्रहण गर्दागर्दै पक्राउ

जनकपुरधाम । उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन् ।

मंसिर १६ मा भएको उपनिर्वाचनमा जसपा नेपालवाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन् । आज पदभार ग्रहण समारोहबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार साहमाथि अदालतको परमादेशबाट कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ । सोही मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

साह जोडिएको घटना करिब तीन वर्ष पुरानो हो । २०७८ साल चैत २२ गते साह लगायतका व्यक्तिहरुले एक महिलालाई जबरजस्ति करणीसमेत गरी हत्या गरेको भन्दै २०७९ साउन १७ गते हुलाकमार्फत जाहेरी आएको थियो ।

सोपश्चात २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा उनीविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य जाहेरी मुद्दामा जाहेरी दरखास्त प्राप्त भएको जिप्रका सप्तरीले जनाएको छ ।

उच्च अदालत जनकपुरबाट २०८० साल चैत ४ गते परमादेश पश्चात २०८१ साल साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता भयो । गत साउन १५ गते अदालतबाट प्रहरीले पक्राउ अनुमति लिएको थियो ।

सोही पक्राउ पुर्जीका आधारमा इप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिप्रका सप्तरीका प्रहरी निरिक्षक मनिष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *