वैदिक सभ्यताको जगमा लेखिएको विज्ञान आख्यान ‘सावर्णि’ – Nepal Press
पुस्तक चर्चा

वैदिक सभ्यताको जगमा लेखिएको विज्ञान आख्यान ‘सावर्णि’

उपन्यासमा सावर्णि, देरिक, देरिका, वासु जस्ता पात्रहरु छन्, तर यी मानव पात्रहरु होइनन् । यी कृत्रिम प्रज्ञा अर्थात् आर्टिफिसियल एन्टेलिजेन्स (एआई) पात्रहरु हुन् । दुर्घटनामा सेलिना, मार्टिन, किन्किनी खोँचमा खसेर मर्छन् । यी मर्नेहरु पनि मानिस होइनन् । यी सबै एआई पात्र हुन् । उनीहरुले ज्यानमा लगाइएको ‘पिए’ रोबर्ट अफ हुँदा उनीहरुको प्राण अफ भएको हुन्छ ।

कथामा युद्ध पनि छ । युद्ध अहिले भइरहेको जस्तो पृथ्वीका मान्छेहरुको बीच हुँदैन । पृथ्वीका देशहरुबीच हुँदैन । युद्धमा पृथ्वीको उपलपुथलपछि ल्याबबाट एआईले जोगाएका मान्छे र मंगल गृहमा पुगेर बसेका मान्छेहरुको हुन्छ । युद्धमा हतियार प्रयोग हुन्न । हतियारभन्दा माथिको कुरा प्रयोग हुन्छ । त्यो के हतियार हो भन्ने बुझ्न चै यहाँभन्दा किताब पढ्दै मज्जा आउँछ ।

बुकहिल प्रकाशनले ल्याएको डा. श्रीधर खनालको पुस्तक धेरै आकर्षक छ । फिक्सनहरुमा सुन्दै, देख्दै र भोग्दै वा कल्पना गर्दै आएका कथा, पात्र र घटनाहरुमा तलमाथि, सस्पेन्स, थ्रिलर बनाएर लेखिएका समसामयिक उपन्यासहरुको भीडमा ‘सावर्णि’ फरक छ । साँच्चिकै कल्पनिक प्रचुरता र आख्यानिक मिठास पुस्तकमा छ । पुस्तकको कथा र पात्रहरु केलाउँदा स्क्रिनमा अभ्यस्त नयाँ पुस्ता पनि पल्किने खालको छ । यस्तो लाग्छ उपन्यासलाई कार्टुन बनाएमा यो बालबालिकामाझ हिट हुन्छ । फिल्म बनाए पनि हल भरिने नयाँ पुस्ताका दर्शक पुग्छन् ।

फिक्सनहरुमा सुन्दै, देख्दै र भोग्दै वा कल्पना गर्दै आएका कथा, पात्र र घटनाहरुमा तलमाथि, सस्पेन्स, थ्रिलर बनाएर लेखिएका समसामयिक उपन्यासहरुको भीडमा ‘सावर्णि’ फरक छ । साँच्चिकै कल्पनिक प्रचुरता र आख्यानिक मिठास पुस्तकमा छ ।

एआईको किताब हो भन्ने कुरा पात्रहरुका बोलीबाटै बुझिन्छ । पृष्ठ २८ मा देरिकले देरिकाको वासुसँगको आँखा जुधाई देखेपछि भन्छ, ‘उसको नजरले मात्रै तिम्रो ह्यापिनेसमा १० प्रतिशतले वृद्धि भएको पाएको छु । त्यो केटा तिम्रो प्रेमी हुन पूर्ण योग्य भएको सबै सूचकहरुले बताएका छन् ।’

अहिले मान्छेले बनाएका एआईले मान्छेलाई नेतृत्व गरेको युगभन्दा फरक एआईले बनाएका मान्छेले एआईलाई नेतृत्व गरेको रोचक कन्ट्रास्ट कथाले किताब सुन्दर देखिएको छ । मानवले बनाएका एआई र मानवको अन्त्यपछि एआईले ल्याबबाट बनाएका मानवले अरु बचेखुचेका मानवबाटै बनेर मंगल ग्रहतिर बसाइ सरेका मानवहरुको धागो उनिएको छ कथामा ।

सुन्दा अचम्म लाग्न सक्छ, पढ्दा हो कि, होइन कि लाग्नसक्छ, तर युग एआईकै हो । त्यो हाम्रो वरिपरि आइसक्यो । हिजोआज बोलक्कडहरु च्याटमा एआईसँग गफिएका भेटिन्छन् । भारतीय प्रधानमन्त्रीले एक भूगोलमा बसेर एक भाषामा दिएको मन्तव्य अर्को भूगोलको अर्को भाषामा उनकै आवाजमा प्रशारण गरिएका समाचार आइसके । जेलमै बसेर पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले आफ्ना समर्थकहरुसँग एआईबाट सम्बोधन गरेका समाचार पनि आइसके ।

विश्वका एक नम्बर धनाढ्य एलन मस्कले एक गृहमात्रै नभएर बहुग्रह मानव सभ्यताको योजना स्टारलिंकबाट सुरु गर्ने सपना देखिसकेका छन् । अहिलेका यी सबै घटनाहरुले आगामी दुनियाँ फरक हुने । त्यो दुनियाँको मानवता फरक हुने संकेत आइसकेका छन् । त्यसबाट जोगिन विभिन्न बहस पनि उत्तिकै भएका छन् । बहस सामाजिक सञ्जालबाट सदनसम्म छ । अस्ट्रेलियाली सदनले १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल चलाउन नदिने कानून ल्याएको सवालमा होस् वा सामाजिक सञ्जाल र एआई नियमनका बहसहरु हुन्, दुनियाँमा अब प्रविधिलाई के गर्न दिने, के नदिने, कुन उमेरलाई दिने कुन नदिने भन्नेमा चर्को बहस सुरु भएको छ ।

अहिले मान्छेले बनाएका एआईले मान्छेलाई नेतृत्व गरेको युगभन्दा फरक एआईले बनाएका मान्छेले एआईलाई नेतृत्व गरेको रोचक कन्ट्रास्ट कथाले किताब सुन्दर देखिएको छ ।

१५९ पृष्ठमा भनिएको कथालाई लेखकले विज्ञान आख्यानको स्वैरकल्पनामा ढाले तापनि यहाँ मौलिकता छ । नेपाली माटो छ । नेपाली सुगन्ध छ । जस्तै पृथ्वीमा प्रलय भएर मानवता सकिएको समयमा सबैभन्दा अग्लो क्षेत्र सगरमाथाको एक ल्याबमा मानव जोगाउने अन्तिम वीर्य र डिम्ब भेटिन्छन् । एआईबाट जन्मिएका मानवलाई पूर्वीय वैदिक शास्त्रका पात्र कृष्णसँग जोडिएको छ । वासुदेव र देवकीका पुत्र कृष्ण भए जस्तै वासु र देरिकाबाट जन्मछन् किशन ।

जसरी मथुराका कृष्ण जन्मेपछि नयाँ युग सुरु हुन्छ, त्यसैगरी एआई ल्याबबाट जन्मिएका किशनको उदयपछि उपन्यासको कथामा नयाँ युग सुरु हुन्छ । वैदिक ग्रन्थहरुमा अबको अर्को युगको पात्रको रुपमा चर्चा गरिएका सावर्णिलाई मुख्य पात्र बनाएर उपन्यास लेखिएकाले यहाँ पनि आख्यान, विज्ञान र वैदिक सभ्यताको तालमेल मिन्छ । ‘सावर्णि’लाई एक कोणमा भन्दा वैदिक सभ्यताको जगमा लेखिएको भविष्यको विज्ञान आख्यान मान्न सकिन्छ ।

किताबमा कतिपय कुरा अमिल्दा पनि छन् । जस्तैः पृष्ठ २६ मा ‘लन टेनिस’लाई ‘लङ टेनिस’ भनिएको छ । पृष्ठ ७७ मा एआई नगरमा अचानक ‘मानव प्रहरी’ प्रयोग भएको छ । जबकि कथा त्यहाँभन्दा अगाडि र किशनको जन्म अगाडि कुनै मानवीय उपस्थिति देखाइएको छैन । एआईलाई चलाउने रोबर्ट पिए राखिएको पनि नमिल्दो जस्तो लाग्छ । किनभने एआई आफैंमा सक्षम हुनुपर्ने हो । असक्षम छन् भने किन भन्ने कथामा खुल्दैन ।

केही प्रश्नहरु जन्मिए पनि उपन्यासमा पठनीय, सोचनीय र आनन्ददायी कुरा धेरै छन् । मानवताको पक्षमा लेखिएको उपन्यासमा अन्त्यमा एआईको नायक पनि मान्छे नै देखाइएको छ । फरक तरिकाले र फरक शैलीले लेखेको भएकाले नेपाली आख्यानमा नयाँपन खोज्ने, प्रविधिको लयमा आएको आख्यान खोज्ने भाषा साहित्यका शोध गर्नेहरुलाई यो उपन्यास एक आकर्षक प्याकेज हो । एक बसाइमा पढेर सकिने उपन्यासको लगानी खेर जाने देखिँदैन ।


प्रतिक्रिया

One thought on “वैदिक सभ्यताको जगमा लेखिएको विज्ञान आख्यान ‘सावर्णि’

  1. लेखमा यी कुरा गल्ती छन् :
    – देरिका, वासु, सेलिना, मार्टिन र किन्किनी एआई पात्र हैनन् । उनीहरू सावर्णिले जेनेटिक मोडिफिकेसन गरेर ल्याबमा जन्माएका मानवका सन्तान हुन् । मानव भएकैले सेलिना, मार्टिन र किन्किनी खोंचमा खसेर मरे । देरिका र वासु मानव भएकैले मानव किसन जन्माए ।
    – पीए एआईले मानिसको स्वास्थ्य अवस्था, भावना, र वातावरणका बारेमा जानकारी दिन्छ । रोबोट (रोबर्ट हैन)ले खाना पकाउन, बच्चाको रेखदेख गर्न जस्ता काम गर्न सघाउँछ । एआई र रोबोट फरक कुरा हुन् । सावर्णि चैं दुवैको विशेषता भएका एआई रोबोट हुन् । पीए र रोबोटको आवश्यकताको विषयमा सावर्णिले किसनलाई प्रष्टै बताएका छन् । सावर्णि बाहेक अरू रोबोट किन भएनन् भन्ने प्रश्न मेरो पनि थियो ।
    – “पृष्ठ ७७ मा एआई नगरमा अचानक ‘मानव प्रहरी’ प्रयोग भएको छ । जबकि कथा त्यहाँभन्दा अगाडि र किशनको जन्म अगाडि कुनै मानवीय उपस्थिति देखाइएको छैन ।”
    यो वाक्य पढ्दा उपन्यासमा किसनअघि मानव नै थिएनन् भन्ने बुझिन्छ । मानव थिए त मानव उपस्थितिको कुरा हो भने चैं ठीक हो तर प्रहरीको परिकल्पना नै नगरिएको हुनुपर्ने हो भन्ने चैं लागेको थियो मलाई पनि ।

    मलाई लागेको :
    – अन्त्यमा एआई अर्थात् सावर्णि नै हाबी देखिएका छन् ।
    – उपन्यास रोचक छ तर थुप्रै अनुत्तरित प्रश्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *