सिमेन्ट उद्योग बेचेर अर्गानिक मल उद्योगमा लागेका अग्रवाल दम्पत्ति – Nepal Press

सिमेन्ट उद्योग बेचेर अर्गानिक मल उद्योगमा लागेका अग्रवाल दम्पत्ति

अब माटो जोगाउन सबैको साथ चाहिन्छ, भारतमा पनि माग बढेको छ

रुपन्देही । ३८ वर्षीय पुनम अग्रवाल र ४५ वर्षीय सिद्धार्थ अग्रवालको जोडी अहिले अर्गानिक मल उद्योगमा लागेका छन् । राम्रै चलिरहेको सिमेन्ट बेचेर यो उद्योगमा लाग्ने निर्णय गर्दा उनीहरुका आफन्त र साथीभाईहरुले कानेखुसी गर्न थालेका थिए ।

तर उनीहरु माटो जोगाउने अभियान अन्तर्गत अर्गानिक मल उद्योगमा लागेर अहिलेको अवस्थामा पुगेपछि पहिले कानेखुसी गर्नेहरुसमेत आश्चर्यमा परेका छन् ।

भैरहवामा स्थायी बसोबास भएका अग्रवाल दम्पत्तिले रोहिणी गाउँपालिकाको कोटहवा ४ मा ३० करोड लगानीमा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिमार्फत रत्नम दानेदार अर्गानिक मल उत्पादन थालेका हुन् ।

मेडिकल माइक्रोबाइलोजीमा मास्टर्स पास गरेकी पुनम र व्यस्थापनमा स्नातक गरेर सिद्धार्थको जोडीले चलाएको यो उद्योगमा अहिले ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । साढे ४ हजार बोरा दैनिक उत्पादन हुनसक्ने यो उद्योगमा अहिले १५ सयदेखि २ हजार बोरा मल उत्पादन भइरहेको उनीहरुको भनाइ छ ।

उद्योग संचालनको सबै व्यवस्थापन दुवै जनाले जिम्मेवारी बाँडेर हेरेका छन् । ‘मैले मेडिकल माइक्रोबाइलोजी अध्ययन गरेकाले यसको कच्चा पदार्थको संयोजन, आन्तरिक व्यवस्थापन हेर्नेगरेको छु, उहाँले व्यवस्थापन अध्ययन गरेकाले उद्योगको सबै व्यवस्थापन, बजारको व्यवस्थापनलाई ध्यान दिनुभएको छ’ संचालक पुनम अग्रवालले भनिन्–‘यो उद्योगको संचालक नै हामी दुई जना हो, मिलेर काम गरेका छौं, स्वदेशमै रोजगारी दिनका लागि यो योजना थालेका हौं, खासगरी माटो जोगाउने अभियान नै हो, व्यवसायिक लाभमात्रै हेरेको भए अन्य उद्योग पनि गर्न सकिने थियो नि ।’

पुनमका अनुसार सिमेन्ट उद्योग बेचेर अर्गानिक मल उद्योग चलाउने विषयमा तत्कालीन समयमा वाणिज्य बैंकहरुले समेत नपत्याएको तितो यथार्थ बताइन् । ‘त्यो समयमा त हामीलाई बैंकले समेत ऋणका लागि पत्याएनन्, यो सफल हुँदैन भनेर नै हो, बाणिज्य बैंकले नपत्याएपछि शाइन रेसुंगा बैंकमा गएर काम अगाडि बढाएका हौं, अहिले २० करोड हामीले लगानी गरेका छौं भने १० करोड बैंकको लगानी छ’ उनले भनिन् ।

पुनमले कोभिडको महामारीको समयमा मल अभाव हुँदा गुणस्तरहीन मल प्रयोगबाट जमिनको उर्वराशक्ति कमजोर भएको बताइन् । अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको बताइन् । ‘हामीले अब गुणस्तरलाई ध्यान दिन जरुरी छ, माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिको रत्न मल गुणस्तरीय रहेको छ, हाम्रो आफ्नै एउटै ब्रान्ड छ र शत प्रतिशत अर्गानिक छ’— अग्रवालले भनिन् ।

प्रत्येक वर्ष अन्नबाली लगाउने बेला किसानलाई मल र खादको अभाव हुने र किसानको समस्यालाई सम्बोधन हुने गरी अगार्निक मल उद्योग संचालनमा ल्याएको अध्यक्ष सिद्धार्थ अग्रवालले बताए ।

‘माटोको उर्वराशक्ति बढाउने अर्गानिक मल तयार गरेका छौं, नाइट्रोजन, फस्फोरस र पोटाशियम मुख्य तत्व मलमा रहेको छ’ उनले भने । पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरी दैनिक २ सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको उनले बताए ।

‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयाँमा रहेको छ’—उनले भने । सरकारबाट बिक्री बितरण अनुमति पाएपछि आफ्नै पालिकाबाट उद्योगले मल बितरण गरेको अग्रवालले बताए । ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी व्यवसायिक रुपमा अंगाडि बढ्यौ ।’—उनले भने ।

मल प्रयोग गरेको जग्गामा प्रतिकठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको उनले बताए । देशमा मलको हाहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरी कृषि ज्ञान केन्द्रलाई सहयोग गरेको उनले बताए । उत्पादनको छोटोसमयमा नै बजारमा माग बढी आएको उनी बताउँछन् । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ’— अग्रवालले भने । उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाँच हुने गरेको छ । सरकारको आधिकारिक ल्याबमा परीक्षण पछिमात्र बजारमा पठाउने गरेको अग्रवालले बताए ।

नेपालसँगै भारतमा समेत निर्यात हुन थालेको छ । हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशमा मलको माग आइरहेको उनको भनाइ छ । अग्रवाल भन्छन्, गण्डकी प्रदेशका किसानबाट मलको राम्रो प्रशंसा आएको छ । यसका साथै छिमेकी देश भारतका किसानले पनि मल खरिद गरेर लगेको अवस्था छ । देश भारतका किसानले पनि मल खरिद गरेर लगेको अवस्था छ ।

कसरी बन्छ अर्गानिक मल र कसरी प्रयोग गर्ने ?

धेरैलाई यो मल कसरी बन्छ र कसरी प्रयोग गर्ने विषयमा जानकारी हुँदैन । नेपालमा वषाैंदेखि अन्नवाली तथा बोटविरुवामा रासायनिक मल र विषादी पदार्थको प्रयोग हुँदै आएको छ ।

रासायनिक मल र विषादी पदार्थको अत्यधिक र असन्तुलित मात्रामा भएको प्रयोगले माटोलाई अझै रासायनिक बनाउने र जमिन मुनिको प्राणीलाई विशालु बनाउने साथै बोटविरुवा तथा अन्नबाली जलाउने हुँदा माटोको उर्वराशक्ति र क्षमता तीव्र गतिमा हास हुँदै गइरहेको छ ।

जसले किसानहरुको आर्थिक, सामाजिक, पर्यावरणीय स्थितिले जीवनस्तरमा नकारात्मक प्रभाव पारेको छ । माटोको उर्वराशक्तिलाई दिगो बनाई बालीबिरुवा हराभरा, फुल्न, फल्न, र राम्रो उत्पादनका लागि आवश्यक प्रोटिन, नाइट्रोजन, फास्फोरस, पोटास, कार्बन, क्याल्सियम, म्यागनेशियम र सल्फर लगायतका अन्य अत्यावश्यक पोषक तत्वहरुको परिपूर्ति ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.बाट उत्पादित रत्नम दानेदार अर्गानिक मलले पूरा गर्ने संचालक अग्रवाल बताउँछन् ।

‘रासायनिक मलको अत्याधिक प्रयोगले गर्दा माटोको उपजाऊपन घट्दछ । रासायनिक मलहरूमा पाइने नाइट्रोजनको मात्रा ३० देखि ३५ प्रतिशतसम्म मात्र हुन्छ, जबकि बचेको अंश माटोको लवणता बढाउँछ । रत्नम दानेदार अर्गानिक मलले माटोमा २० प्रतिशतभन्दा बढी अंशको जैविक कार्बन तत्व आपूर्ति गर्दछ ।’ अग्रवालले भने ‘यसले माटोको भौतिक, रासायनिक, जैविक गुणस्तर सुधार गर्दछ। अर्गानिक खादको प्रयोगले वातावरणलाई पनि सुरक्षित राख्छ । यसले फसलको उत्पादकता बढाउँछ र जमिनको जलधारण क्षमता बढाउँछ ।’

यस्ता लाभ हुन्छन् अर्गानिक मलबाट

बाइट्रोजन, फस्फोरस र पोटाशियम (मुख्य पोषक तत्वहरु)ः यी तत्वहरूले माटोको उबंरशक्ति बढाउँदछ । क्यालसियम, आइरन, बोरोन, म्यागनेसियम (सहायक पोषक तत्वहरू)ः यी तत्वहरुले बोटविरुवाको स्वास्थ्य र उत्पादकत्व बढाउँदछ ।

सूक्ष्मजीवः यसले माटोमा सूक्ष्मजीवहरुको संख्या बढाई माटोको संरचनामा सुधार ल्याउँछ । जलधारण क्षमताः यो मलले माटोको जलधारण क्षमता बढाउँदछ जसले सुख्खा अवस्थामा पनि बालिविरुवालाई पानीको आवश्यकता पुरा गर्न सहयोग गर्दछ ।

रोग प्रतिरोध क्षमताः यो मलले बोटविरुवामा लाग्ने रोग प्रतिरोध क्षमता बढाउँछ । यसका साथै दीर्घकालसम्म माटोको गुणस्तर र उत्पादकत्व कायम राख्न, कृषिक्षेत्रमा हुनसक्ने प्रदुषण रोक्न, उच्च पोषण र गुणस्तरयुक्त उत्पादन गर्न यस मलको प्रयोगले महत्वपूर्ण भूमिका खेल्दछ ।

रासायनिक मलले माटोमा रासायनिक अवशेषहरु छोड्दछ जसले माटोको स्वास्थ्यमा नकरात्मक असर पुरÞ्याई माटोको संरचना विगादर्छ। यसका साथै रासायनिक मलले कम पोषण तत्व प्रदान गर्दछ। अर्कोतर्फ रत्नम दानेदार अगानिक मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार ल्याई उत्पादन क्षमता बढाउन मद्दत गर्दछ । यसले दीर्घकालिन रुपमा माटोको उर्भर क्षमता डाउनुका साथै वातावरणलाई समेत सुरक्षित राख्न मद्दत गर्दै समग्रमा किसानहरुको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

कुन–कुन तत्वहरू मिलाएर बनाइन्छ यो मल ?

मुख्य पोषण तत्वमा रासायनिक मलमा एक मात्र पोषण तत्व (नाइट्रोजन) वा पोषण तत्वहरूको मिश्रण हुँदा माटोको पीएच सन्तुलन बिर्गान सक्छ, माटोको क्षारीयता बढाउँछ माटोको कण संरचना नराम्रो बनाउँछ भने अर्गानिक मलले पोषण तत्वहरु जस्तै नाइट्रोजन, फस्फोरस, क्यालसियम, म्यागनेशियम, पोटासियम, सल्फर, जिंक, बोरोन, सोडियम, म्याग्निज र मोलिब्डेन तत्वहरुको मिश्रण गर्ने, माटोको पीएस सन्तुलन कायम राख्ने, क्षारीयता घटाउने, माटोको कण संरचना सुधार गर्ने, मजबुद तया बलियो बनाउने गर्दछ ।

माटोको उर्बराशक्ति बढाउनुको साथै बढी उत्पादन लिनुका लागि स्वदेशी उद्योगमानै तयार गरिएको विषय तीनै तहका सरकारलाई बुझाउनुपर्ने र विशेषगरी किसानलाई बुझाउनुपर्ने उनको भनाइ छ ।

यो मलमा नाइट्रोजन १.५०% वा भन्दा बढी, फस्फोरस ५% वा भन्दा बढी, पोटासियम ५% वा भन्दा बढी, क्याल्सियम ५% वा भन्दा बढी, सल्फर २%–२.५%, म्याग्नेशियम १– १ दशमलब ५%, फलाम ०.१%–०.५%, नमी (मोइश्चर) १०–१२% र कार्बन नाइट्रोजन मांत्रा २०० भन्दा अधिक प्रयोग भएको जनाइएको छ । यसलाई बोटबिरुवा तथा अन्नबाली र जमिनअनुसार उपयोग, विधि र समयअनुसार रोप्न तयारी गर्ने बेलामा र सिँचाईपछि गरिनुपर्ने जनाइएको छ । ५० केजी, २५ केजी र ५ केजीको प्याकेजिङमा कम्पानीले बजारमा ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर