प्रकाशशरण महतलाई प्रश्न- चीनसँग बीआरआई फ्रेमर्वकमा हस्ताक्षर भएकोप्रति कांग्रेस असन्तुष्ट हो ? – Nepal Press
नेपाल टक

प्रकाशशरण महतलाई प्रश्न- चीनसँग बीआरआई फ्रेमर्वकमा हस्ताक्षर भएकोप्रति कांग्रेस असन्तुष्ट हो ?

‘२०८४ मा बहुमत नआए पनि कांग्रेस ठूलो पार्टी बन्छ, काठमाडौं- १६ को परिणामलाई रास्वपाको जितको रुपमा लिएको छैन’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको लामो गृहकार्यपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भइसकेको छ । प्रधानमन्त्रीको भ्रमणको क्रममा फ्रेमवर्कमा हस्ताक्षर हुनु उपलब्धिमूलक भएको एमाले नेताहरुको दाबी छ, तर यो फ्रेमवर्कमा भएको हस्ताक्षरप्रति कांग्रेस पूर्ण रुपमा सन्तुष्ट छैन ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसबाट महामन्त्री गगन थापा र एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल तथा आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा सम्मिलित कार्यदल नै बनाएर एउटै धारणा बनाएका थिए । कार्यदलले बीआरआई ऋण नभई अनुदानमा पहल गर्ने समझदारी बनाएको थियो ।

तर प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा पार्टीको निर्णयविपरीत सम्झौता भएको भन्दै कांग्रेस नेताहरुले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् । यद्यपि प्रधानमन्त्री ओलीले पनि भ्रमणबाट फर्किएपछि चीनसँग ऋणसँग सम्बन्धित कुनै सम्झौता नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री फर्किएलगत्तै बीआरआई सम्झौताबारे छलफल गर्न कार्यदलको बैठक पनि बसेको थियो ।

चीनले सन् २०१४ बाट अगाडि सारेको यो परियोजनामा नेपालले २०१७ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा कांग्रेसबाट परराष्ट्रमन्त्री रहेका प्रकाशशरण महतले हस्ताक्षर गरेका थिए । यो परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएपछि बीआरआईसहित पछिल्लो राजनीतिक घटनाक्रम र स्थानीय तहको उपनिर्वाचनको परिणामलगायतको विषयमा केन्द्रित रहेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग गरिएको सवाल-जवाफः

– प्रधानमन्त्री चीन भ्रमणबाट फर्किनुभयो । चीनसँग सम्झौता भएको बीआरआई फ्रेमर्वकमा कांग्रेसको केही असन्तुष्टि हो ?

प्रधानमन्त्री स्वयंले यो अनुदानमात्रै हो भनेर हिजो विमानस्थलमा बोल्नुभएको छ । हामीले अनुदानमात्रै स्वीकार्छौं भनिरहेका थियौं । त्यहीअनुसार सम्झौता भएको होला भन्ने हाम्रो बुझाइ छ ।

– तर कांग्रेसका कतिपय नेताहरुले पार्टीको निर्णयविपरीत सम्झौता भयो भनेर सार्वजनिक रुपमा असन्तुष्टि जनाइराख्नुभएको छ नि ?

हामीले स्पष्ट रुपमा अनुदान नै लेख्नुपर्छ भन्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्रीले चिनियाँ नेतृत्वसँग कुरा गर्दाखेरीको कुरा नै सार्वजनिक अभिव्यक्तिको रुपमा राख्नुभएको हो । सायद ग्रान्ट भन्ने शब्द नलेखे पनि अनुदान नै गर्छौं भन्नेमा प्रधानमन्त्रीलाई चिनियाँ नेतृत्वले आश्वस्त गर्नुभएको होला भन्ने बुझेका छौं । त्यो नगरी प्रधानमन्त्री यहाँ आएर यो ऋण होइन, अनुदान नै हो, अनुदानमा नै कार्यान्वयन हुन्छ भन्नुहुँदैनथ्यो होला ।

त्यसकारण शब्द ग्रान्टको सट्टा एड भए पनि परियोजना कार्यान्वयन अनुदानकै आधारमा गर्ने समझदारी भएको हुनुपर्छ । त्यसैको आधारमा उहाँले बीआरआई ऋणमा हुँदैन, अनुदानमै कार्यान्वयन हुन्छ भन्ने विश्वास छ ।

– प्रधानमन्त्रीले ऋण होइन भने पनि अनुदान नै हो भनेर पनि प्रस्ट त भन्नुभएको छैन नि ?

प्रधानमन्त्रीले ऋण होइन भने पनि हामीले अनुदान नै हो भनेर बुझेका छौं । त्यसलाई नै विश्वास गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो बुझाइ हो । अब प्रधानमन्त्रीको भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता पनि भएका छन् । त्यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।

– अब उपनिर्वाचनको परिणामतिर जाऔं, यो नतिजालाई कांग्रेसले कसरी समीक्षा गर्दैछ ?

निर्वाचनको परिणाम सन्तोषजनक नै छ । हामी ठूलो पार्टी छौं, केही सीट घटे होलान्, स्थानीय निर्वाचनमा धेरै फ्याक्टरले काम गर्छ । राष्ट्रिय परिस्थितिको सम्पूर्ण रुपमा त्यसले प्रतिबिम्ब पनि हुँदैन । त्यसैले यो परिणामलाई सन्तोषजनक नै ठानेका छौं ।

– यो परिणामले त कांग्रेसको जनमत घटेको देखियो ?

हामीले महत्वपूर्ण ठाउँहरुमा जितेका छौं । स्थानीय तहको निर्वाचनमा कस्तो व्यक्ति प¥यो, कुन समुदायको प¥यो भन्ने कुराले पनि प्रभाव पार्छ ।

शुद्ध पार्टीगत रुपमा पनि हुँदैन । त्यसैले समग्रतामा असन्तुष्ट हुनुपर्ने ठाउँ छैन । यद्यपि योभन्दा बढी हाम्रो अपेक्षा थियो । भए पनि राम्रो नजिता आएको छ ।

– कांग्रेसले आफूले जितेका ठाउँको रक्षा गर्न सकेन, केही प्रमुख पद पनि गुमायो नि ?

हामीले उपनिर्वाचनको मुख्य कीर्तिपुरको मेयर जितेका छौं, यसभन्दा अघि नजितेको वडामा पनि जितेका छौं । कुनै क्षेत्रमा गुमाउँदा कतै हामीले नजितेको ठाउँमा जितेका पनि छौं नि ! निर्वाचनमा त्यस्तो भइराख्छ ।

– तर काठमाडौं- १६ त जोगाउन सकेन ?

काठमाडौं- १६ को परिणामलाई रास्वपाको जीतको रुपमा मैले लिएको छैन । त्यही समुदाय र महिला भएको कारणले व्यक्तिगत रुपमा प्राप्त गरेको मत हो । त्यो रास्वपाको मत होइन । अन्य ठाउँमा उहाँहरुको १०–१२ भोट आएका छन् । त्यसबाट पनि प्रस्ट हुन्छ, उहाँको पक्षमा जनमत छैन भन्ने कुरा।

– उपनिर्वाचनको जनमतले २०८४ को निर्वाचनलाई संकेत गर्छ कि गर्दैन ?

यो अहिलेदेखि नै मिसन २०८४ भन्नुको अर्थ छैन । पार्टीले काम गर्न सकेअनुसारको परिणाम आउने हो । त्यो लक्ष्य राख्दैमा प्राप्त हुन्छ भन्ने कुरा होइन । समग्रमा संगठन र पार्टीको कामबाट परिणाम आउने हो । हामीले संगठन निर्वाचनमा जोड दिएर एकताबद्ध भएर जानुपर्छ भन्ने यो निर्वाचनको परिणामले सन्देश दिएको छ ।

– आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्दा फाइदा हुन्छ भन्ने उपनिर्वाचनको यो परिणामले देखाएको हो ?

एक्लै लड्दा कांग्रेस नै २०८४ मा ठूलो पार्टी हुने हो । त्यसमा दुईमत नै छैन । एकल बहुमत ल्याउने हाम्रो लक्ष्य हो, तर निर्वाचन प्रणालीको कारणले एकल बहुमत चुनौतीपूर्ण छ ।

ठूलो पार्टी हुने फेरि पनि कांग्रेस नै हो । हामीले एमालेसँग २०८४ सम्मको सहकार्य गर्ने सम्झौता गरेका छौं । त्यो कार्यान्वयन गर्दै अघि बढ्छौं । निर्वाचन एक्लाएक्लै लड्ने सहमति भएको छ । सत्ता सहकार्यमा दुई दलबीच कुनै समस्या छैन, पूरा अवधि जान्छ पनि ।


प्रतिक्रिया

2 thoughts on “प्रकाशशरण महतलाई प्रश्न- चीनसँग बीआरआई फ्रेमर्वकमा हस्ताक्षर भएकोप्रति कांग्रेस असन्तुष्ट हो ?

  1. ओलिको चतुर्याईले काँग्रेस न समर्थन न विरोध गर्ने अवस्थामा पुग्यो बिआरआईको हकमा । देशको हित गर्दै अरूलाई नतमस्तक बनाउने क्षमता छ ओलिमा । चुच्चे नक्सामा जस्तै ।

  2. खाइस् अनुदान मगन्तेहरू!! लाज छैन माग्नलाइ!! देश कंगाल बनाएपछि माग्नै पर्यो। तिमीहरूले नदिए अमेरिका वा भारतसंग माग्छु, अमेरिकाले नदिए चिनसंग माग्छु भन्ने सोच छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर