मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध – Nepal Press

मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ललितपुर । ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । महानगरका प्रतिनिधिसहित मुस्ताङ पुगेका मेयर चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् ।

घरपझोङ गाउँपालिकाको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको ललितपुर महानगरका मेयरमहर्जनले बताए ।

समझदारीपत्रमा हस्ताक्षरपछि उनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए ।

‘प्रकृतिले यस पालिकालाई अमूल्य वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रूपमा जोडिनेछौं’, उनले भन ।

मेयर महर्जनले  विना ‘टेन्डर’ महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुशरण गर्नसक्ने बताए ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए । आफ्नो निमन्त्रणालाई स्वीकार गरेर महानगर मेयरसहितको प्रतिनिधिमण्डल पालिकामा आएर भगिनी सम्बन्ध स्थापित गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

हिमालपारिको यस जिल्लामा गर्नुपर्ने काम धेरै भए पनि वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको उनको भनाइ थियो ।

ललितपुर महानगरका प्रवक्ता एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरूपता रहेको बताए ।

ललितपुर महानगरले घरपझोङसहित पाँच वटा पालिकासँग भगिनी सम्बन्ध कायम गरेको बताउँदै प्रवक्ता महर्जनले भगिनी सम्बन्धले पालिकाहरूबीच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राखे ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि विकासमा साझेदारी र असल अभ्यासको अनुकरण र अनुशरण गर्न सहज हुने विश्वास व्यक्त गरे ।

विसं २०७३ को स्थानीय निर्वाचनअघि मुस्ताङ जिल्ला साबिकका मार्फा, टुकुचेको दुइटा वडा र जोमसोस गाउँ समितिलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको थियो । यो गाउँपालिकामा पाँच वटा वडा छन् । तथ्याङ्कअनुसार यहाँ तीन हजार १८४ जनसङ्ख्या रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *