मार्तडी–कोल्टी सडकको दुर्दशा : २५ वर्षदेखि कालोपत्रेमा हिँड्ने सपना अधुरै
चुनावी एजेन्डा बन्छ, सडक बन्दैन, जोखिम यात्रामा महँगो भाडा
बाजुरा । साना ठुला निर्वाचनमा सधैँ आश्वासको माध्यम बन्ने बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टी पुग्ने सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०५६ सालमा शिलान्यास भएर निर्माण सुरु भएको करिब २५ वर्षमा जम्मा ९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।
मार्तडी देखि कोल्टीसम्मको सडकलाई मार्तडीबाट २०५६ सालदेखि २०६२ सालमा तत्कालीन जिल्ला विकास समिति बाजुरा अन्तरगतको कामका लागि खाद्यान्न कार्यक्रम (आरसिआईडव्लु)ले ४२ किलोमिटर सडकमा ३५ करोड भन्दा बढी खर्च गरिसकेको थियो ।
त्यसपछि संघीय सरकार र प्रदेश सरकारले ठुलो लगानी गर्दा पनि सडक कालोपत्रे हुन सकेको छैन ।
मार्तडी कोल्टी सडक ३ वर्ष भित्र कालोपत्रे गरिसक्ने योजना सहित सम्झौता भएको ५ वर्ष पुरा भइसक्दा पनि सडक निर्माण हुन सकेको छैन ।
मार्तडीदेखि चुथीसम्म ९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौंले आफ्नो काम सम्पन्न गरिसकेको छ । तर, त्यसपछिको ३३ किलोमिटर सडक अझै निर्माणाधीन छ । अहिले क्रमिक रूपमा काम भइरहेको पूर्वाधार विकास कार्यालय अछामका कार्यालय प्रमुख जङ्गबहादुर थापाले जानकारी दिए ।
चुथीदेखि ढम्कनेसम्मको झन्डै ५ किलोमिटर सडकको जिम्मा बानिया कुशेश्वर जेबीले लिएको थियो । ढम्केने देखि दानसाघु खोलासम्मको २६ किलो मिटरको जिम्मा तेज बानिया जेबीले लिएको थियो ।
२०७७ कार्तिक १९ गते २०८७ असार १७ गतेसम्म काम सम्पन्न गर्ने भन्दै १२ करोडमा ५ किलोमिटरको ठेक्का पाएको बानिया कुशेश्वर जेबीले दोस्रा पटक थप भएको मितिमा पनि काम सम्पन्न नगर्ने देखिएको छ ।
सम्झौता समयमा निर्माण सम्पन्न नभएपछि आगामी फागुन १९ गतेसम्मको म्याद थप गरिएको छ । झन्डै ५ करोड बढी रकम लिइसक्दा पनि अझै कालोपत्रे हुन सकेको छैन ।
त्यस्तै ढम्केने देखि दानसाघु खोलासम्मको २६ किलो मिटरको सडक २०८० असार १९ सम्म सम्पन्न गर्ने भन्दै ५० करोडमा जिम्मा पाएको तेज बानिया जेबीले २१ करोड भन्दा बढी रकम झिकिसकेको छ तर, अहिले सम्म कालोपत्रे हुन सकेको छैन ।
सम्झौता मितिमा काम सम्पन्न नगरेपछि २०८२ वैशाख २० गतेसम्मको म्याद थप गरिएको थियो । थपिएको समयमा पनि काम सम्पन्न हुने सम्भावना क्षीण रहेको छ ।
कोरोनाका कारण केही वर्ष सडक बन्न नसकेको भन्दै अहिले निर्माण कार्य सुरु भइरहेको पूर्वाधार विकाश कार्यालय अछामका कार्यालय प्रमुख जङ्गबहादुर थापाले जानकारी दिए ।
‘पहिले कोरोनाका कारण समस्या आइरहेको थियो । निर्माण कार्यमा ढिलाइ भएको हो । त्यो बेला आएको बजेट पनि पुरै खर्च हुन सकेन ’ उनले भने ‘अहिले काम सुरु भएको छ ।’
जिल्लाको सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तह र कर्णाली प्रदेशका छिमेकी जिल्ला मुगु र हुम्लाका केही स्थानीय तहको मुख्य व्यापारी केन्द्रको रूपमा रहेको कोल्टी बजार हो । मार्तडी कोल्टी सडक खण्डको हालसम्म निर्माण कार्य कछुवा गतिमा भइरहेको स्थानीयको आरोप छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सडक निर्माणमा ढिलाइ गरेको र लापरबाही गरेको भन्दै पटक पटक ताकेता गरिएको समेत बताए । ‘ सडक निर्माणमा ढिलाइ भइरहेको छ । ठेकेदारले लापरबाही गरेको भन्दै पटक पटक ताकेता गरिरहेका छौँ’ उनले भने ।
प्रदेश सरकारको बहुवर्षीय योजनामा परेको यो सडकमा ९ किलोमिटरको काम सम्पन्न भए पनि ३३ किलोमिटर सडक कहिले सम्म बनिसक्ने भन्ने अत्तो छैन । जसका कारण विगत २५ वर्षदेखि कालोपत्रे सडकमा यात्रा गर्ने यहाँका नागरिकहरूको सपना अधुरै रहेको छ ।
जोखिम यात्रामा महँगो भाडा
ठेकेदारले निर्धारित समयमा सडक निर्माण गर्न नसक्दा अहिले यहाँका स्थानीयहरू महँगो भाडा तिरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मार्तडीदेखि कोल्टीसम्म करिब ४३ किलोमिटर रहेको छ । त्यो मध्येको ४० किलोमिटर सडकको ठेक्का लगाएको पाँच वर्ष बढी भइसक्यो तर, अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । अहिले ४३ किलोमिटरको यात्राका लागि यात्रुले १ हजार भन्दा बढी भाडा तिर्नु पर्ने बाध्यता रहेको छ ।
बाटो राम्रो हुँदा र खोलामा बाढी नआउँदा १ हजार बढी रकम पर्ने यात्रा बाटो खराब हुँदा र खोलामा बाढी आउँदा त्यसको दुई गुण पैसा लाग्ने गरेको बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहराले जानकारी दिए ।
‘खोलामा पुलहरू नहुँदा ठाउँ ठाउँमा अर्को गाडी चढ्नु पर्ने बाध्यता रहेको छ । त्यसो हुँदा ४० किलोमिटरको यात्रामा यात्रुहरूले २ हजारसम्म रकम तिर्न बाध्य हुन्छन् ’ नगरप्रमुख बोहराले भने, ‘महँगो भाडा तिरेर पनि सुविधाजनक यात्रा भने हुँदैन । यहाँ जोखिम छ ।’
उनले सरकारको निःशुल्क सेवाका लागि पनि नागरिकले महँगो शुल्क तिर्न बाध्य भएको बताए ।
‘नागरिकता बनाउन पैसा लाग्दैन तर, यही सडकमा ओहोरदोहोर गरेर नागरिकता बनाउन जाँदा एउटा व्यक्तिको ४्५ हजार खर्च हुन्छ ’ उनले भने ‘यहाँका जनताले सरकारको सेवाको लागि पनि महँगो भाडा तिरेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ ।’
यहाँ भाडा तथा निजी जिपहरूले यात्रु बोक्छन् । ८ जना यात्रु बोक्ने गाडीले त्यसको दोब्बर सवारी बोकिरहेका छन् । त्यसले जोखिम अझै बढाएको छ । अहिले कालोपत्रेको ठेक्का भए पनि यहाँ आवश्यक पर्ने तीन पुलको भने ठेक्का भएको छैन । जसका कारण सडक बनेपछि पनि यात्रुहरूले ठाउँ ठाउँमा उत्रिएर अर्को गाडी चढ्ने बाध्यता भने कायमै रहने देखिन्छ ।
बालुहिल खोलामा पक्की पुल छैन । अनाइ खोलमा पुल छैन । रजातलीको खेलमा पनि पुल छैन । यहाँ पुल नहुँदा हिउँदमा जोखिम मोलेर त्यही खोलामा गाडी चल्छन् । बर्खामा गाडी फेर्दै यात्रा गर्नु पर्छ ।