अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओली गृहजिल्ला झापामा व्यस्त भएको बेलामा अमेरिकी सहायक विदेशमन्त्री लुले सल्लाहकार रिमालसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा पनि सहभागी थिए ।
भेटबारे जानकारी दिँदै सल्लाहकार रिमालले भने, ‘आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरूबारे चर्चा भयो । नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरियो ।’
लुले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।