शिवपुरी एक फन्को – Nepal Press
यात्रा स्मरण

शिवपुरी एक फन्को

जागरण अर्थात बोध अर्थात विशेष चेतना । यो शब्दलाई भगवान बुद्धले धेरै प्रयोग गर्नुभएको छ । ‘मान्छे २४ घन्टा नै जागरण अर्थात मस्त खुशीमा बस्न सक्दछ’, बुद्धले त भन्नुभयो, तर हामी त बुध्दु र लद्दु पर्‍यौं । एक घन्टा पनि खुशीमा बसिरहन सक्दैनौं । बुद्धले भनेर गएको २६ सय वर्ष हुन लाग्यो । हामी जति पूर्ण चन्द्र वा सूर्य हेरे पनि मनमा तिनीहरु उदाउनै नसकेर कता बिलाउँछौं । जागरण भनेको के हो ? यता नै जाँदैनौं । कस्तो हो जागरण भन्दा उहाँले भन्नुभएको छ- ‘भर्खर जन्मेको बच्चा पहिलो पल्ट हातमा हाल्दा आमाबाबुले जुन खुशी पाउँछ, त्यो हो जागरण वा जीवनमै खुशीको उत्कर्षको पल कुन छ, त्यो हो जागरण ।’

अनि जुनसुकै बेला जागरणमा रहन हामी बुद्ध हौं र भन्छौं । र, हराउँछौं हामी आफैंभित्रका कपाल र दाह्री जुँगाभन्दा बढी झारहरुमा । काम, क्रोध, लोभ, मोह, मद मास्चर्य अहंकारको झारले हामीलाई पुरिहाल्छ र उस्ताउस्तै भैहाल्छौं । यात्रा आफैंभित्र वा बाहिर होस्, त्यसले खुशी राख्दछ । आफैंभित्रको यात्रा ध्यान हो भने प्रकृतिको यात्रा पनि ध्यानकै अर्काे रुप हो । त्यसले पनि खुशी दिने रहेछ । धेरै हाइकिङ ट्रेकिङपछि यसो भन्न मन लागेको छ मलाई । बुद्धले भने जस्तै २४ घन्टा नसके पनि केही घन्टाको लागि यसले जीवनमा रिफ्रेस बनाउँछ र खुशी दिन्छ ।

यात्राले हाम्रो गिदी नै परिवर्तन गरिदिन्छ । दिमागले पुराना काम नलाग्ने फोटो आफैं डिलिट गर्दछ र नयाँ फोटो आफैं खिच्दछ । यस्तै लागेर म आफूलाई खोज्न आफैंभन्दा पर जाने गर्दछु । आफ्नाभन्दा पर जाने गर्दछु । अनि रुखहरुसँग, चराहरुसँग, पानीसँग, हावासँग, रुखको बीचबाट आएको घामसँग, भेटे जंगली जीवजन्तुसँग, हिमाल, पहाडसँग, नयाँ खानासँग, नयाँ मान्छेसँग, मान्छे जस्तै विभिन्न आकारप्रकारका रुखहरुसँग, पतकरको स¥याक स¥याक आवाजसँग र आफ्नै स्वाँस्वाँ गरेको साससँग परिचित हुन खोज्दछु ।

यति गर्दा केही बेर भए पनि केही समय भए पनि बुद्धले भने जस्तै जागरण आइहाल्छ कि जस्तै लाग्दछ । कहिले आउँछ, कहिले आउँदैन । फेरि शहरमा फर्केपछि मोबाइलले मान्छेसँग कुरा गराउँछ । सोसियल साइटले मान्छेका अनेक चर्तिकला देखाइहाल्छ । अनि उहीँ जहाँको तहीँ हुन्छ । तैपनि म हिँडिरहेको छु ।

०००

हिँड्दा साथी चाहिन्छ, तर हिँड्दा गफैमात्र हैन, साथीलाई पनि केहीबेर छाडेर जंगलमा एक्लै हिँड्नु पनि पर्दछ । यसैगरी हिँड्ने प्लानमा थियौं, सुरेन्द्र फुयाल (एसपी) र म ।

शिवपुरी बाबा, चन्द्रेश स्वामी र टोड्के बाबाले वर्षाैंवर्ष तपस्या गरेको थलो शिवपुरी हो भन्ने थाहा थियो । तैपनि ह्वात्त जंगली जनावर क्रस भएको र हाँगा हल्लिएपछि डर लागिहाल्थ्यो । कहिलेकाहीँ त्यो बाँदर हुन्थ्यो त कहिले केही देखिँदैनथ्यो । अनि डर पैदा भैहाल्थ्यो ।

यो पाला शिवपुरीलाई एक फन्को मार्ने हाम्रो योजना थियो । योजनामुताविक हामी घरबाट ७ बजे हिड्यौं । शहरलाई पानी खुवाउने पानी मुहानको पसलमा खाजा खायौं । विष्णुमती नदी (धोवी खोला)को काँध हो पानीमुहान । विष्णुद्वार विष्णुमतीको मुहान यो पाला हाम्रो रोजाइ थिएन । कारण त्यहाँ पुगेपछि यात्रा टुंग्याउँदा शिवपुरी फन्को हुँदैनथ्यो । यसैले हामी निकुञ्जको टिकट काटेर देब्रेतिर लाग्यौं ।

पानीको सुन्दरता पहाडको ढुंगामा ठोकिएपछि हुन्छ । अर्थात पानीले नभनिकनै भन्यो, दुःख नै सुख हो । पानी मुहान हिउँदले त्यति कलकलाउँदो थिएन । थोरै पानी भए पनि त्यो स्वच्छ पानीमा टिकटक बनाउनेहरु थिए । हाम्रो यात्रा ठाडो उकालो थियो । उक्लेको उक्लियै गरेर मूल बाटोमा पुगियो । जहाँबाट एक बाटो आनी गुम्बा, अर्काे विष्णुद्वार ठाडै उकालो थियो । शिवपुरी पिक ।

बिहानको ८ः३० भैसकेको थियो । रुखका पातसँग लुकामारी खेल्दै आएको हिउँदे घामले शरीरमा छुँदा शरीर नै सनन भयो । त्यो दृश्य नै अवर्णनीय लागेको छ । बिहान घाम ताप्न मृग आएको देखें । हामीले हिँडेको पतकरको सर्‍याक सर्‍याक आवाजले मृग पछाडि फर्केर हेर्दै कुलेलाम ठोक्यो । उकालो हिँड्दै जानु थियो । अलि माथि गएर दुम्सीको परिवार नै भेटियो । पाँच वटा दुम्सी पनि हाम्रो आवाजले बेपत्ता भए । मलाई त डर लागेर ‘ए एसपी हेर त’ भनेको उसले देख्नै पाएन, कुदिहाल्यो । उसले भन्यो- ‘तँ कराउनै नहुने, बर्बाद पारिस् ।’

अलि माथि गएपछि जीवजन्तु कराएको आवाज आयो । हामी मान्छेको जंगलबाट टाढा भागेका थियौं । मान्छे हेर्न मन थिएन । भेट्न पनि मन थिएन । जंगली जीवजन्तु हेर्न मन थियो । जंगल सुन्न मन थियो । जंगल पढ्न मन थियो र डराई डराई हिँडिरहेका थियौं । एसपी भन्न थाल्यो– ‘नडरा, करुणा भाव राखेर आँखामा हेर जंगली जनावर भेटे, आफैं ठीक हुन्छ ।’

सेतो हिमाल, निला पहाड, हरियो जंगल अनि चराको चिरबिर र बिहानी घामले मौन संवाद गरिरहेका थिए । सरक्क माथि पारेको कपाल जस्तो शिवपुरी जंगल, नुवाकोट खाल्डो र पूरै हिमश्रृंखला हेर्दा मस्त मज्जा आएको थियो ।

खप्तड बाबाले चितुवा, बाघको काँडा झिकिदिएको पढेको थिएँ । लेखनकुञ्जले निकालेको एक किताबमै खप्तड बाबाकोमा चितुवा गार्ड जस्तै बसेको लेखेका थिए एक महोदयले । हामीले साधुसन्तका कुरा गर्‍यौं । शिवपुरी बाबा, चन्द्रेश स्वामी र टोड्के बाबाले वर्षाैंवर्ष तपस्या गरेको थलो शिवपुरी हो भन्ने थाहा थियो । तैपनि ह्वात्त जंगली जनावर क्रस भएको र हाँगा हल्लिएपछि डर लागिहाल्थ्यो । कहिलेकाहीँ त्यो बाँदर हुन्थ्यो त कहिले केही देखिँदैनथ्यो । अनि डर पैदा भैहाल्थ्यो । हातमा लट्ठी भएकाले डर अलिकति कम थियो । कहीँ कहीँ त ढुंगा पनि टिपिहाले ।

बाबाहरुको जस्तो करुणा भाव मभित्र आइसकेको छैन र थिएन । हिँड्दै गयौं । गोसाईकुण्डको लौरीविना वा पाँचपोखरीको लौरीविना त्यो जस्तै ठाडो उकालो रहेछ यो पिक जाने बाटो । हिँड्दै गएपछि पिक हाइट जाने कि, सिक्रे गाउँ जाने कि विष्णुद्वार भनेर रातो एरोमा सेतोले लेखिएको किलोले सोध्यो । हामी पिकतिरै सोझियौं । जाडोमा मस्त पसिना आएको थियो । भित्री वस्त्र भिजिसकेका थिए । घाम आएको र सम्म भएको ठाउँ भए केही बेर सुस्ताउ झैं लाग्यो र सुस्तायौं । कुरा गर्दै उभिँदै आफ्नै सासलाई सुन्दै उकालो अलिअलि गरेर काट्यौं ।

कामधेनु शिला आइपुग्यो । शत्रुधेश्वर महादेवकोमा पनि मस्तैले बसियो । त्यहाँबाट पूरै खुलेको हिमश्रृंखलाको दर्शन गरियो । सेतो हिमाल, निला पहाड, हरियो जंगल अनि चराको चिरबिर र बिहानी घामले मौन संवाद गरिरहेका थिए । सरक्क माथि पारेको कपाल जस्तो शिवपुरी जंगल, नुवाकोट खाल्डो र पूरै हिमश्रृंखला हेर्दा मस्त मज्जा आएको थियो । आफूलाई अघि हिमाल र जंगललाई पछि पारेर फोटो कैद गरियो ।

शिवपुरी पिक आउला भन्यो आउँदैन । उकालोमा एक किमि पुग्न पनि कति गाह्रो हुन्छ । यस्तै गाह्रो भएको थियो हामीलाई । रोकिँदै हिँड्दै गर्दागर्दै शिवपुरी पिक आई त हाल्यो । लेखिएको थियो- पानी मुहान पुग्न तीन घन्टा । अल्टिच्युड अर्थात उचाइ २७३२ मिटर, तर हामी त चार घन्टा लगाएर पुगेका थियौं । शिवपुरी बाबाको ध्यानस्थ फोटो खिच्दा साढे १२ भएको थियो । १३७ वर्ष बाँचेका शिवपुरी बाबा एक अलौकिक भएको कथा उहाँको लंग प्रिमिजेज किताबमा पढन पाइन्छ । शिलामा लेखिएको छ । श्री गोविन्दानन्द भारती (शिवपुरी बाबा) । स्वधर्म, भक्ति, विवेक, आध्यात्मिक अनुशासन, शारीरिक, मानसिक, प्राकृतिक र नैतिक । पढेपछि लाग्यो, यति परिपालन गरेमा मान्छे स्वधर्ममा रहन्छ । एकछिन हेरियो । फोटो खिचियो । मस्त लागेको घाममा बसियो । सुन्तला, काजु, किसमिस खाइयो । स्वधर्म पालन गर्न सके कति राम्रो भन्दै भावनामा आइहालियो ।

अब हाम्रो यात्रा ओरालो थियो । बाटोमा टोड्के बाबाले तपस्या गरेको टोड्को आयो । त्यसमा भित्रै गएर हेरियो । वरिपरिबाट भिडियो खिचियो र ओरालो झर्दै टोड्के बाबाकोमा भोजन गर्न गइयो । धारोको छेवैमा एक जना व्यक्ति चिनेको जस्तै लाग्यो । ध्यान गरिरहेका थिए । अर्काे व्यक्ति घाममा ढाड फर्काएर सुतेका थिए । चिनेका जस्तो अनुहारका मान्छे त पावर न्युज चलाउने टेकनारायण भटराई रहेछन् । टेकजीसँग कुराकानी भयो । पुनः परिचय भयो । लेखनकुञ्ज आइसक्नु भएको रहेछ, एक क्याप्टेनको किताब लेखाउन ।

तीन चुले गएर मस्तले हिमाल हेरियो । ३ बज्न लागिसकेकाले अलि बादलले घेरेको थियो हिमालहरु । सुरेन्द्रले हिमालको नाम र उचाइ देखाउने एप्सबाट फोटो खिच्दा दोर्जे लाक्पादेखि धौलागिरिसम्मको टन्नै हिमाल देखायो । आँखाले भन्दा मोबाइलमा पो टन्न हिमालको नाम र हाइट देखियो ।

टोड्के बाबाले खाना आफैं पस्केर खुवाउनुभयो । जंगलमा चरेका गाईको दूध र भात खाँदाको स्वाद सुस्वादितम् थियो । सिमीको दाल र काउली-आलुको तरकारीमा टेकजीले भेजिटेवल सलाद र कागती, मुला, अदुवा अनि लप्सीको अचार खुवाउनुभयो । तातोपानी दिनुभयो । कुरा गर्दै खाना खायौं । टेकको बोलीमा पावर न्युजको भन्दा वनमा बसेको बोलीको मिठास पावरफुल लाग्यो । घाममा सुतिरहनु भएको व्यक्ति उठे । उनी पहिल्यै चिनेका सिर्जनात्मक उद्यमी विनोद पुरुष न्यौपाने रहेछन् । चिनेको मान्छे भेट्दा मज्जै बेग्लै ! विनोदको आमोद विनोदप्रिय बोलीले सुरेन्द्र पनि गफ गर्न सुर्रियो ।

खानापछि घाममा पार तापेर हामी चार जना गफियौं । एक जना बाबाको सहायकले फोटो खिचिदिनु भयो ।

हाम्रो यात्रा चिसापानी थियो । घाममा मस्तले सुत्न मन थियो । बाबाले यही बसौं पनि भन्नुभएको थियो, तर चिसापानी पुग्नु थियो । तीन चुले गएर मस्तले हिमाल हेरियो । ३ बज्न लागिसकेकाले अलि बादलले घेरेको थियो हिमालहरु । सुरेन्द्रले हिमालको नाम र उचाइ देखाउने एप्सबाट फोटो खिच्दा दोर्जे लाक्पादेखि धौलागिरिसम्मको टन्नै हिमाल देखायो । आँखाले भन्दा मोबाइलमा पो टन्न हिमालको नाम र हाइट देखियो । ओहो यत्रो हिमाल देखिने गजब ठाउँ रहेछ भन्दै केही फोटो खिचेर सुसेली हाल्दै तल ओर्लियौं ।

ठीक ३ बजे ३ घन्टामा चिसापानी पुगिने लोकेसन म्यापमा पढियो । त्यहाँबाट न बाटो, न उकालो न त ओरालो, तेर्सै बढी थियो । उकालो थिएन । तेर्साे बाटो एक्लाएक्लै सुरुरु हिँडियो । एक घन्टा हिँडेपछि माने पुगियो । गाडी र मोटरसाइकल आउने रहेछ मानेसम्म । त्यहाँबाट ओरालो ढलाने बाटो हुँदै हिँडिरह्यौं । मंसिरको मध्य महिना । साँझ परिहाल्यो ।

साँझमा ओ हो हिमालको सुनौलोपन गजबकै थियो । ५ः३० नबज्दै रात पर्न थाल्यो । तारा देखियो । चन्द्रमाले पाकिस्तानी झन्डा ओडेर बसे झैं लाग्यो । एसपीले त्यहाँ पनि एप्स हेर्‍यो । ताराका नाम र चन्द्रमा देखायो । जुपिटर देखियो चम्केको । सम्पूर्ण प्लानेटको डाटा देखाउने एप्स रहेछ त्यो । तल भुईंतिर हेर्दा त्यहाँ पनि तारा देखियो । उसले भन्यो- यो अस्ट्रेलियाको हो । अचम्मको संसारमा हामी प्रवेश गर्दै गरेका छौं । एप्सहरुले हामीलाई हिँडाउँदैछ । एआईले हामीलाई हिँडाउँदैछ । संसार कहाँ पुग्ने हो, कता जाने हो, कता हिँड्ने हो भन्दाभन्दै पनि हामी पनि हिँड्न नै हिँडेको । चिसापानी हिँडेर जाँदै थियो । एप्सको हिँडाइभन्दा आफ्नै हिँडाइ मस्तमगन लागिरहेको थियो ।

 

उकालो हिँड्न मन थिएन । त्यही भएर गाडी आउने बाटो ओरालो लागियो । ढलान गरेको बाटोमा ट्रेकिङ बुटले हिँड्न मान्दैन रहेछ । पाइला गन्दै हिँडियो । एकैछिनमा फेरि दुई बाटो आयो । जंगलको छेउको ओसिलो बाटो हिँडियो । चिसो गल्लीमा हिँडे झैं थियो । निधारमा बले भाग्य बल्छ भन्थे । टर्च निधारमै राखेर हिँडेको थियो । एसपीले बाल्यो निधारमा टर्च । हामी हिँड्यौं । तीन घन्टा नहिँड्दै चिसापानी आई त हाल्यो ।

हाम्रो पुर्खालाई आगो र पानीको जोहो गर्ने थलो हो शिवपुरी जंगल । हाम्रो बुढी आमाहरुले दाउरा लेराएको शिवपुरीबाट भन्नुहुन्थ्यो । त्यो सम्झिएँ । पहिले शिवपुरीको दाउराको भारी बेच्न ल्याउँथे । त्यो सम्झिएँ । केही पर्दा शिवपुरीको जडिबुटी भनेको सम्झिएँ ।

दोर्जे लाक्पा हिमालको नाममा राखेको होटलमा बसियो । तातोपानी चिसोपानीमा सुविधा रहेछ । एक रुमको एक हजार रहेछ । मस्त नुहाइयो । बेस्कन थाकेका थियौं । त्यो दिनको पाइला हेर्दा २९ हजार ६३१ देखाएको थियो । थकानले लखतरान भएकाले खाना खाएर सुतियो । रातमा चिसो ठाउँमा अक्सिजनको कारण पनि होला बेला बेलामा बिउँझिन्छ । यहाँ भने एकै पल्ट तीन बजे उठे । लेख्न मन लाग्यो । ल्यापटप थिएन । डायरी भए पनि आजकल डायरीमा लेख्न मनै मान्दैन । फेरि सुते ।

बिहान चिसापानीबाट मनोरम हिमश्रृंखला हेर्ने धोको पूरा भएन । बादल भिलेन बन्यो । ९ बजे ब्रेकफास्ट खाएर हामी हाम्रो यात्रा तताउन थाल्यौं । देउरालीबाट फेरि तीन बाटो छुटियो । हाम्रो बाटो मूलखर्क हुँदै सुन्दरीजलको थियो । हामी केहीबेर उक्लियौं । उकालो ओरालो त हो पहाड । हामी पनि उक्लियौं । ओर्लियौं । आजकल प्रायः ठाउँठाउँमा बस्ने जस्ताको छानो हालेको पहिलेको पाटी जस्तै भेटिछ । पहिलेको पाटीहरु माटो इँटाले बनेका हुन्थे र पानी पनि हुन्थ्यो । अहिले जस्ता र सिमेन्टले बनेका हुन्छन् । पानी हुँदैन । सुस्ताउन त्यहाँ सजिलो हुन्छ । देउराली उकालीमा यस्तो जस्ते पाटीले पनि परम रमाइलो हुन्छ ।

अब हामीलाई हतार थिएन । घर नै त जानु थियो । सुत्दै बस्दै फोटो खिच्दै, कुरा गर्दै उभिदै हिँड्दै मूलखर्क आयौं । बाटोमा कल्याङबल्याङ आवाज सुनियो । युलेन्सको १२ कक्षाका विद्यार्थीलाई चिसापानी लैजाँदै गरेको हुल रहेछ । हामी ओर्लंदै उनीहरु उक्लँदै थिए । अहिले त बच्चाहरुलाई पनि हाइकिङ, ट्रेकिङ गराउने स्कुलहरु कत्ति मज्जा झैं लाग्यो । मूलखर्कमा खाजा खाइवरी सुन्दरीजलबाट ८५० तिरेर पठाओ टयाक्सीमा घर आइयो ।

०००

घर त आइयो, तर मनमा शिवपुरी बसिरहेको थियो । हामी मूलपानी काठमाडौं जन्मियौं । हाम्रो पुर्खालाई आगो र पानीको जोहो गर्ने थलो हो शिवपुरी जंगल । हाम्रो बुढी आमाहरुले दाउरा लेराएको शिवपुरीबाट भन्नुहुन्थ्यो । त्यो सम्झिएँ । पहिले शिवपुरीको दाउराको भारी बेच्न ल्याउँथे । त्यो सम्झिएँ । केही पर्दा शिवपुरीको जडिबुटी भनेको सम्झिएँ । शिवपुरीको बाघ आएर बाख्रा खाइदियो भनेको सम्झिएँ । यदाकदा शिवपुरीको मृगको मासु, सुकुटी भनेको सम्झिएँ । ओहो शिवपुरी त काठमाडौं शहर र गाउँको अभिन्न अंग रहेछ भन्ने जाने । उसले शहरको कार्बन डाइअक्साइड फालेर शुद्ध अक्सिजन पठाएकाले राजधानी राजधानी भएको सम्झिएँ । सिंगो शहरलाई आज पनि पानी खुवाइरहेछ शिवपुरीले ।

धेरै पल्ट शिवपुरी गएँ । उक्लिएँ । ओर्लिएँ । लेख्न बसेपछि पो याद भयो । शिवपुरी त हाम्रो जीवनको अभिन्न अंग रहेछ । मेरो सानो पाइला हुँदादेखि देखेको शिवपुरीको डाँडो ठूलो पाइला भएपछि चढेको थिएँ । सानो पाइलादेखि सँगै हिँड्ने बाल्यकालकै साथी थियो, तर पनि ऊ र म कुरा गर्दा हामी सानै पाइला खोजिरहेका थियौं । सानै पाइलाका कुरा गरिरहेका थियौं ।

बुद्धले भने जस्तै जागरण केही बेर दिमागमा बसेको छ । सम्झँदा यादमा पनि केही सेकेन्ड बस्छ, तर राजधानीको जिजीविषाले जागरणमा जागरुक रहन दिँदैन । शिवपुरीको एक फन्को लगाएर फर्केपछि एसपीले भन्थ्यो- ‘म सय पल्ट शिवपुरी पुगे पनि यो बाटो हिँडेको थिइनँ, बुझिस् हामीले कैलाश परिक्रमा गर्‍यौं ।’

बाग्मती सभ्यताको सभ्यता हो । बाग्मती नदीको मुहानमा जाँदा नदी नदी जस्तै देखिँदैन । नदी सानो धारा जस्तै देखिन्छ वा जमेर बसेको पानी देखिन्छ, तर त्यही नदी सर्लाही वा रौतहट पुग्दा गाउँ नै डुबाउने बन्छ । मान्छे पनि त्यस्तै हो भन्ने बागद्वारले पढाएर पठायो । नदी त त्यस्तो बन्यो, मान्छे भने खोई कहिले नदी जस्तै हुने भन्ने पनि लाग्यो । फोहर बाग्मती जस्तो त मान्छे भयो । नदीलाई फोहर बनायो । नदीमा फोहर पखाल्यो, तर मान्छे किन शुद्ध हुन सकेन भन्ने लागिरहयो ।

०००

लेख्न मन लागेपछि शिवपुरीको वेबसाइट हेरें । मान्छेले समयअनुसार, सम्बन्धअनुसार आफ्नो नाम परिवर्तन गरे झैं शिवपुरीले पनि नाम परिवर्तन गरेको रहेछ । सुरुमा सन् १९७६ शिवपुरी जलाधार संरक्षण बोर्ड, १९७८ मा शिवपुरी संरक्षित जलाधार क्षेत्र र १९८४ मा शिवपुरी संरक्षित जलाधार तथा वन्यजन्तु आरक्ष । सन् २००२ मा शिवपुरी राष्ट्रिय निकुञ्ज, २००९ देखि राजाको अधिनमा रहेको नागार्जुन वनसमेत समेटी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भएको रहेछ । यहाँ ढालेकटुस, चिलाउने, उत्तिस, काफल, महुवा, टुनी, शिरीष, खोटे,सल्लो, मयल, पाँगर फिरफिरे, ओखर, लाँकुरी उत्तिस, बैस, खसुर, अर्खाैलो खस्रु, झिगाने बाँझ, लिसोलगायतका अनेक वनस्पति रहेछन् । यहाँ १२९ प्रजातिका च्याउ रहेछन् । च्याउ खाँदाको मीठो स्वाद सुरेन्द्रले बीचबीचमा पनि भनिरहेथ्यो ।

यहाँ २२ बढी स्तनधारी जनावरको बसोबास रहेछ । ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, भालु, बँदेल, दुम्सी अनेक छन् । यहाँ ३२१ प्रकारका चरा तथा पंक्षी रहेछन् । १०२ प्रजातिका पुतलीमात्रै छ । राजधानीको सबैभन्दा नजिक पर्ने संसारकै नाम चलेको राष्ट्रिय निकुञ्ज पनि यही हो । संसारकै बढी जैविक विविधता यति सानो निकुञ्जमा पाइने भनेर पनि यसैलाई भनिन्छ । धार्मिक सम्पदा हिन्दू र बौद्धको सांस्कृतिक संगमस्थल यही छ । मणिचुड, बागद्वार, कागेश्वरी, तारकेश्वर, जमाचो गुम्बा, शान्ति गुफा, सुन्दरीमाई यही छ । मान्छेभन्दा बढी पावरफुल छ निकुञ्ज । त्यहाँको केही छिसिक्क गर्न नपाउने, गरे कानून लाग्ने । ५ देखि १५ वर्ष कैद र ५० हजारदेखि एक लाख जरिवाना वा दुवै रहेछ । जैविक विविधता संरक्षण शिक्षा केन्द्र पनि हो ।

०००

उकालैउकालो उक्लेका हामी ओरालैओरालो ओर्लिएर घर आइपुग्यौं । घरबाट देब्रे पारेर हिँडेको हामी दाहिने पारेर घर फर्केका थियौं । मनमा शिवपुरी बसिरहेछ । जापानी भन्छन्- ‘जंगल बाथ’ । लगभग ५० हजार पाइला हिँडेपछि हरियो जंगलमा नुहाएर फर्के झैं फर्केको छु । रुखबाट निक्लने एक प्रकारको तेल हावासँगै बहन्छ रे ! त्यही हावा लिएर फर्केको छु । बुद्धले भने जस्तै जागरण केही बेर दिमागमा बसेको छ । सम्झँदा यादमा पनि केही सेकेन्ड बस्छ, तर राजधानीको जिजीविषाले जागरणमा जागरुक रहन दिँदैन । शिवपुरीको एक फन्को लगाएर फर्केपछि एसपीले भन्थ्यो- ‘म सय पल्ट शिवपुरी पुगे पनि यो बाटो हिँडेको थिइनँ, बुझिस् हामीले कैलाश परिक्रमा गर्‍यौं ।’

उसको मनमा आएको भावको तरंगले त्यसो भनेको थियो । पूरै शिवपुरी एक फन्को लगाएको, शिवको वासस्थान एक फन्को लगाएकाले पनि उसले यसो भनेको हो । क्यामरामा खिचेको फोटोभन्दा बढी दिमागमा फोटो बसेको छ । प्रविधिमा ५० हजार पाइला देखाए पनि दिमागमा धेरै पाइला बसेका छन् । तिनै पाइला पछ्याउँदै फेरि जानु छ । कहिले ? त्यो थाहा छैन ।


प्रतिक्रिया

2 thoughts on “शिवपुरी एक फन्को

  1. सुन्दर लेख, शिवपुरी जुरुक्कै उचाल्नु भएको छ, फेरि फेरि जाने साथीको खांचो लागेर जान पाईयोस्, शिवपुरीमा आनन्द विचरण गर्न पाइयोस्।
    शुभकामना,

  2. मेरो प्यारो अनि शिवपुरी बाबाले भन्नु भय जस्तै ऐश्वर्यको खानी हो यो याहाका कान्ला कन्दरामा पुग्नु नै आध्यात्मिक अनि जागरणको लागि जगतकै उत्कृष्ट स्थल हो जस्तो लाग्छ । सुन्दर लेख अनि तस्बिर ।🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर