सिद्धार्थनगर नगरपालिकामा क्यूआर कोडमार्फत राजस्व भुक्तानीको व्यवस्था – Nepal Press

सिद्धार्थनगर नगरपालिकामा क्यूआर कोडमार्फत राजस्व भुक्तानीको व्यवस्था

रुपन्देही । सेवाग्राहीलाई सहज सेवा दिने उद्देश्यले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्रविधि पछ्याएको छ । नगरपालिकाले क्यूआर कोडमार्फत राजस्व भुक्तानी सुरु गरेको हो ।

यस्तै फोहोरमैला संकलन गर्ने ट्याक्टरहरुमा जीपीएस जडान गरी सवारी कहाँ छन् भन्ने पत्ता लगाउन सकिने व्यवस्था मिलाएको छ ।
यसबाट फोहोरमैला संकलन गर्ने ट्याक्टरहरु कहाँ र कुन अवस्थामा छन् भन्ने पत्ता लगाउन सकिनेछ ।

सोहीअनुसार आफ्नो क्षेत्रमा रहेका ट्याक्टरको लोकेसन पत्ता लगाई फोहोर पठाउन सकिने नगरपालिकाले जनाएको छ । यसका लागि सेवाग्राहीले आफ्नो मोबाइलमा लुना जीपीएस डाउनलोड गरी सहजै सेवा लिन सक्नेछन् ।

त्यस्तै राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीतिअनुरुप क्यूआर कोडमार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । नगरपालिकाको राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुरहरु क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउने आफ्नो प्रतिबद्धताअनुसार नवीनतम प्रविधिलाई अधिकतम प्रयोगमा ल्याउने प्रयास भैरहेको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले जानकारी दिए ।

उनले यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीतिअनुरुप क्यूआर कोडमार्फत राजस्व भुक्तानी सुरु गरिएको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगद प्रवाहलाई सरल, मितव्यापी, पारदर्शी तथा प्रभावकारी बनाएर वित्तीय जोखिम न्यूनीकरण गर्न र नगरपालिकाको नीतिअनुरुप क्यूआर कोडमार्फत राजस्व भुक्तानीको व्यवस्था गरिएको बताए ।

नगरपालिका र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्ने रकमअनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार संकेत नम्बरको क्यूआर कोडमा सोझै रकम भुक्तानी गर्न सकिने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर