गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा बाधक बन्यो मौसम – Nepal Press

गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा बाधक बन्यो मौसम

रुपन्देही । केही महिनाअघि ५ अन्तर्राष्ट्रिय उडान सुरु भएको रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकूल भएको भन्दै तीन वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाएका छन् ।

जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमको कारण देखाएर केही समय उडान स्थगित गर्नुपर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लिखित जानकारी गराएका हुन् ।

उनीहरुले पुस र माघ महिनामा उडानका लागि आवश्यक भिजिबिलिटी नपुगेकाले विमान उडान र अवतरणमा समस्या आएको र यहाँ आएर पुनः काठमाडौं लैजाने गर्दा यात्रुलाई पनि बढी समय लाग्ने र खर्च पनि बढ्ने भएकाले २ महिना उडान गर्न नसकिने संकेत गरेका छन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले भैरहवामा १ हजारदेखि १ हजार २०० मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको र यो विमान अवतरणका लागि पर्याप्त नभएकाले विमान कम्पनीहरुले उडान स्थगित गरेको बताए ।

एटीआरलगायत ठूला जहाजका लागि न्यूनतम १ हजार ८०० मिटर भिजिबिलिटी आवश्यक पर्छ, तर यहाँ हुस्सु लाग्न थालेपछि भिजिबिलिटिी क्रमशः घट्दै गएको छ ।

भैरहवामा आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन) प्रणाली नभएका कारण यो समस्या देखिएको हो । आरएनपीएआर एप्रोच जडान भएका विमानस्थलमा ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिन्छ । प्राधिकरणले माघ १० भित्र आरएनपीएआर एप्रोच प्रणाली जडान गर्ने जनाएको छ ।

एयरलाइन्सले औपचारिक रुपमा उडान स्थगित गर्नुअघि प्राधिकरणले अनुमति दिनुपर्छ । पछिल्ला केही दिनदेखि बाक्लो हुस्सु लाग्न थालेपछि भैरहवामा अपराह्नसम्म उडान, अवतरण भइरहेको छैन । यसले गर्दा भैरहवा जाने अन्तर्राष्ट्रिय जहाज काठमाडौंमा डाइर्भट भइरहेका छन् ।

उद्घाटनको साढे दुई वर्ष आन्तरिक उडानमै सीमित बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समयअघि अन्तर्राष्ट्रिय उडान शुरू भएको थिए । यसपछि उत्साह यहाँका व्यवसायीहरुलाई अहिले पुनः निराश हुन थालेका छन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल भैरहवाबाट चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरेको देख्दा खुशी लागेको तर यसको नियमित उडानका लागि समाधान खोजिनुपर्ने बताउँछन् ।

भैरहवाबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भयो भने उद्योग व्यवसाय, पर्यटन क्षेत्रसँगै सिङ्गो लुम्बिनी प्रदेशको विकासमा टेवा पुग्ने उनी बताउँछन् ।

देशकै दोस्रो ठूलो विमानस्थलका रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । यसको निर्माणमा ३५ अर्ब ६६ करोड रुपैयाँ लागेको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ मा शिलान्यास भएको विमानस्थल निर्माणमा झन्डै आठ वर्ष लागेको थियो । २०७९ जेठ २ मा यसको उद्घाटन भएको थियो । उद्घाटन गरेकै दिन उडान थालेको जजिरा एअरलाइन्सले ड महिनापछि पुस ६ मा विभिन्न कारण देखाउँदै रोकेको थियो ।

हिमालयन एअरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको केही समयमै रोक्यो । थाई एअर एसियाले कात्तिक २३ देखि उडान गरेको थियो । त्यस्तै जजिरा एअरवेज, फ्लाइ दुबई र नेपाल एअरलाइन्सले कात्तिक २४ बाट उडान शुरू गरेका थिए ।

चारै एअरलाइन्सको उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर तालिका बनिसकेको थियो । नेपाल एअरलाइन्सले साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्छ । काठमाडौं-भैरहवा-दुबई उडान गर्ने पूर्वसूचना थियो ।

यस्तै जजिरा एअरलाइन्सले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा-कुवेत उडान गर्ने कार्यतालिका थियो । थाई एअर एसियाले सोमबार र बिहीबार भैरहवा-बैंकक उडान गर्ने र फ्लाइ दुबईको विमान हरेक दिन दिउँसो १ः४५ बजे भैरहवामा अवतरण गर्ने र २ः४५ बजे उड्ने तालिका बनेको थियो । त्यस्तै कतार एअरवेजले कात्तिक २७ गतेबाट उडान थालेको थियो ।

अहिले गौतम बुद्ध विमानस्थलबाट दैनिक १५ वटा आन्तरिक उडान हुँदै आएका छन् । बुद्ध एअरले काठमाडौं-भैरहवा नौ र पोखरा-भैरहवा एउटा उडान गर्दै आएको छ।

त्यस्तै यती एअरलाइन्सले काठमाडौं-भैरहवा तीन वटा उडान गरिरहेको छ । श्री एअरलाइन्सले काठमाडौं-भैरहवा दुइटा उडान गरिरहेको विमानस्थलले जनाएको छ ।

विमानस्थल उद्घाटन भएसँगै अन्तर्राष्ट्रिय उडान थालेको जजिरा एअरवेजले ८ महिनापछि उडान रोकेको थियो । अहिले फेरि अन्तर्राष्ट्रिय उडान शुरू गरेको उसले भिजिबिलिटी कमजोर भएको भन्दै उडान स्थगित गरेको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको करोडौं रकम डुब्ने अवस्थामा पुगेको बताउँछन् ।

विमानस्थल नियमित सञ्चालन गर्न सरकारले पनि केही काम गर्नुपर्ने व्यवसायीको भनाइ छ । विमानस्थलमा पूर्वाधारको कमी रहेकाले यथाशक्य पूर्णता दिनुपर्ने पर्यटन व्यवसायी श्रेष्ठ बताउँछन् ।

विमानस्थल प्रयोग गरेर विदेश जानेहरूका लागि आवश्यक श्रम स्वीकृति, स्वास्थ्य परीक्षणलगायतका काम हुने सरकारी कार्यालय भैरहवामै सञ्चालन गर्नुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । यससँगै विमान कम्पनीलाई दिने घोषणा गरिएका छुट र सहुलियत यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर