भीमको भाग्य: निश्चित रनआउटबाट कसरी जोगिए ? – Nepal Press

भीमको भाग्य: निश्चित रनआउटबाट कसरी जोगिए ?

काठमाडौं । लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाण्डु गुर्खाजका ब्याटर भिम सार्की निश्चित रनआउटबाट जोगिएका छन् । विवेक यादवको सामान्य प्राविधिक त्रुटिका कारण भीमले जीवनदान पाएका हुन् ।

१२.५ ओभरमा विवेकले अफ साइडमा फ्याकेको बललाई डान डाउथवाइटले कभरको दिशामा कडा प्रहार गरे । तर एक्स्ट्राकभर फिल्डरले उत्कृष्ट फिल्डिङ गर्दै बललाई बाउन्ड्रीतर्फ जानबाट रोके र नन स्ट्राइकतर्फ सटिक थ्रो गरे ।

यता नन स्ट्राइक इन्डबाट भीम सार्की एक रनका लागि दौडिसकेका थिए । तर डाउनवाइटले उनलाई फिर्ता गरिदिए । आधिभन्दा बढी रन लिइसकेका भीम फर्किनुपर्यो । उनी क्रिजमा नआउँदै विवेकले बल समातेर स्टम्प उडाइसकेका थिए । भीमले डाइभ त हाने, तर त्यो पर्याप्त थिएन । लुम्बिनीका खेलाडीहरु सेलिब्रेसन गर्न थाले । भीम निराश भएर हिँडे ।

अन फिल्ड अम्पायरले थर्ड अम्पायरलाई निर्णय लिन जिम्मा दिए । टिभी रिप्लेमा हेर्दा विवेकले स्टम्पलाई बलले हान्दा भीमको ब्याट क्रिजबाट टाढै देखियो । तर, अलिकति जुम गरेर हेर्दा विवेकले बलभन्दा पहिले आफ्नो कुहिनोले स्टम्पमा हानेको देखियो । क्रिकेटको नियम अनुसार रनआउट हुनका लागि बलले नै पहिले स्टम्पमा हानेको हुनु पर्छ । शरीरका अरु अंगले पहिले छोएमा त्यो आउट मानिँदैन ।

विवेकको सामान्य त्रुटिले गर्दा भीम रनआउटबाट जोगिए । उनको विकेट लुम्बिनीका लागि निकै महत्वपूर्ण थियो । काठमाण्डुले ६५ रनमा ४ विकेट गुमाइसकेको थियो र भीम एउटा इन्डबाट संघर्ष गरिरहेका थिए । उनी त्यसबेला २१ रन बनाएर खेलिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *