‘लो स्कोरिङ’ खेलमा लुम्बिनी पराजित, प्ले अफको दौडबाट बाहिरियो
काठमाडौं । रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । आज भएको ‘लो स्कोरिङ’ खेलमा काठमाण्डुसँग पराजय व्यहोरेसँगै लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो । तर, ब्याटिङका लागि कठिन बनेको पीचमा लुम्बिनी ८५ रनमै अलआउट भयो ।
काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए । यद्यपि, पिचले स्पिनरलाई अत्यधिक सहयोग गरेको थियो । दुवै टिमका ब्याटरले स्पिन बलरलाई राम्ररी झेल्न सकेका थिएनन् ।
काठमाडौंका लागि भीम सार्कीले संघर्ष गर्दै सर्वाधिक ३१ रन बनाएका थिए । तर, आठौं नम्बरमा आएर प्रतिक श्रेष्ठले खेलेको केमियो इनिङ खेलमा निर्णायक बन्यो । अन्य ब्याटरहरुले प्रति बल रन हान्न पनि संघर्ष गरिरहेको पीचमा उनले १४ बलमा २१ रन जोड्न सफल भए । काठमाडौंले १६ रनले खेल जित्यो ।
लुम्बिनीका सन्दीप जोराले २९ बलमा सर्वाधिक २६ रन बनाए । उनी क्रिजमा हुँदासम्म लुम्बिनीको झिनो आशा जिवित थियो । तर, करण केसीलाई छक्का हान्न खोज्दा जोरा क्याचआउट भएसँगै लुम्बिनीको सम्भावना समाप्त भयो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेल आज चलेनन् । उनी १५ बल खेल्दै ८ रनमा आउट भए । ओपनर उन्मुक्त चन्दले १४ रन र सुर्य तामाङले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।
एनपीएलको पहिलो चरणमा लिग चरणबाट बाहिरिने पहिलो टिम लुम्बिनी बनेको छ ।