पत्रकार महासंघ निर्वाचनः तीन संगठनमा विद्रोहको श्रृङ्खला – Nepal Press

पत्रकार महासंघ निर्वाचनः तीन संगठनमा विद्रोहको श्रृङ्खला

काठमाडौं । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने तीनै तहको निर्वाचन नजिकिएसँगै पत्रकारका संगठनभित्र विवाद र विग्रह चुलिँदो छ ।

नेपाली कांग्रेस निकटको प्रेस युनियनले एमाले निकट प्रेस चौतारीकी निर्मला शर्मालाई अध्यक्षमा समर्थन गरेपछि विद्रोहको शुरुवात कांग्रेस पत्रकारबाटै शुरु भयो । अन्य संगठन पनि यो श्रृङ्खलाबाट अछुतो रहेनन् ।

केन्द्रीय नेतृत्वका लागि कांग्रेस निकट प्रेस युनियनले एमाले सम्बद्ध चौतारीलाई अध्यक्ष छाडिदियो । पार्टी सभापति शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमै अध्यक्ष छाडिए पनि उनी निकटकै मानिने महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट मैदानमा आए । उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पाँच वाम र एक मधेशवादी संगठनले साथ दिए ।

विष्टसँगै देशभर विद्रोह गर्ने कांग्रेस निकट पत्रकारको संख्या बढी छ । उनीहरुले केन्द्रमा एसोसिएट्सतर्फको सचिवमा विकास कार्की र लेखा संयोजक ध्रुव रावलसहित विद्रोह गरेका छन् भने अधिकांश प्रदेशमा अध्यक्ष र पदाधिकारीसहित मैदानमा आएका छन् ।

माओवादीनिकट प्रेस सेन्टरमा पनि विद्रोह देखिएको छ ।  माओवादी वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका श्रमजिवी पत्रकार संघर्ष आन्दोलनका सदावहार नेता जन्मदेव जैशीले बिद्रोह गरेर महासचिवमा उम्मेदवारी दिएपछि युनियनका विद्रोही रमेश बिष्ट प्यानलबाट आधिकारिक उम्मेदवार बनेका प्रेस सेन्टरका लेखनाथ न्यौपानेलाई अप्ठेरो परेको छ ।

गोविन्द आचार्यको समर्थन रहेका न्यौपानेविरुद्ध महेश्वर दाहाललगायतका प्रेस सेन्टरका संस्थापक नेताहरुको समर्थन प्राप्त जन्मदेव जैशी बलिया उम्मेदवार हुन् । उनलाई पार्टीबाट कारवाहीका लागि प्रेस सेन्टरले माओवादी नेतृत्वसमक्ष सिफारिस गरेको छ ।

कोशी प्रदेशको महासचिव पदका लागि हीमा चेम्जोङ आधिकारिक उम्मेदवार हुँदा सेन्टर-समाजवादी गठबन्धनबाट अमृत बास्तोला उम्मेदवार बनेका छन् । लुम्बिनी प्रदेशको अध्यक्षका लागि युनियनका आधिकारिक उम्मेदवार शुक्रऋषि चौलागाईंका विरुद्ध नरेन्द्र थापाले दिएको उम्मेदवारी त फिर्ता भयो, तर त्यही पदका लागि प्रेस चौतारीका रुद्र सुवेदीले उम्मेदवारी दिए । उनलाई सेन्टर-समाजवादी गठबन्धनले समर्थन गरेको छ ।

कर्णाली प्रदेशमा उपाध्यक्ष पदका लागि युनियनका आधिकारिक उम्मेदवार लक्ष्मण केसीविरुद्ध नारायण खड्काले सेन्टर-समाजवादी गठबन्धन रोजे ।

सुदूरपश्चिममा युनियनले भरत शाहलाई आधिकारिक उम्मेदवार बनाउँदा मीन बमले उम्मेदवारी दिएर विद्रोह गरेका छन् । बमको पक्षमा सेन्टर-समाजवादी गठबन्धन उभिएको छ ।

एमाले सम्बद्ध प्रेस चौतारीले भने विद्रोहबाट हानिभन्दा लाभ बढाएको छ । उसले लुम्बिनी प्रदेशमा विद्रोही झेल्दा त्यही प्रदेशका समाजवादी प्रेसका केन्द्रीय उपाध्यक्ष शंकर पाण्डेलाई आफूतिर ल्याएको छ । त्यसबापत प्रदेशको खुला सचिवमा गोविन्द शर्मालाई निर्विरोध गराएको छ । पाण्डे खुला सचिवका उम्मेदवार थिए । फिर्ता लिने क्रममा संगठन पनि परित्याग गर्दै चौतारी प्रवेश गरेको घोषणा गरे ।

एमालेबाट विभाजित नेकपा एसनिकट समाजवादी प्रेस संगठनमा भएको विद्रोहको फाइदा एमालेनिकट प्रेस चौतारी नेतृत्वको प्यानलले लिएको छ । संगठन छाड्ने सबैजनाले पूर्व मातृ पार्टी एमालेनिकट प्रेस चौतारीमा फर्किने घोषणा गरेका छन् ।

बीचमा प्रेस सेन्टर प्रवेश गरेका डोल्पा पत्रकार महासंघका अध्यक्ष सरोज थापा चुनावको मुखैमा चौतारीमा फर्किए ।

निर्वाचनको घम्साघम्सीबीच प्रेस चौतारीबाट विभाजित भएर तीन वर्षअघि गठन भएको समाजवादी प्रेस संगठनलाई सबैभन्दा बढी क्षति पुगेको छ । उक्त संगठनको तर्फबाट महासंघ केन्द्रीय सदस्य रहेका शान्तराम बिडारी, उपाध्यक्ष शंकर पाण्डे, बागमती प्रदेशका कार्यवाहक अध्यक्ष शिवकुमार काशीसहितले पुरानै संगठन रोजेका छन् ।

नेकपा एस केन्द्रीय प्रचार विभाग सदस्य समेत रहेकी समाजवादी प्रेस संगठनकी संस्थापक भवानी कार्कीले पनि सबै पदसहित संगठन परित्याग गरेर निर्मला शर्मा नेतृत्वको प्यानललाई समर्थन जनाएकी छन् ।समाजवादी प्रेस संगठनकै संस्थापक देवी सापकोटाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

केन्द्रमा रमेश विष्टको उम्मेदवारीका कारण प्रेस युनियनको सांगठनिक मतमा खासै असर नगर्ने उक्त संगठनका उपाध्यक्ष नकुल अर्यालले बताए ।

‘परिणाममा तात्विक असर पार्दैन’, उनले भने ।

तर प्रेस युनियन पृष्ठभूमिका राजनीतिक विश्लेषक सुदर्शन आचार्य यो विद्रोहको बाछिटाले लामो समय क्षति पुर्‍याउने बताउँछन् ।

‘कांग्रेस फुट्दा पनि नफुटेको प्रेस युनियनमा आज जे देखिँदैछ, त्यो केही पनि होइन भनेर बस्यो भने यसले कालान्तरसम्म पिरोलिरहन्छ’, उनले भने, ‘कसले कति भोट ल्याउँछ भन्नेतिर म जान्नँ, पार्टीको आन्तरिक सन्तुलनदेखि जनमतसम्मलाई यसले असर गर्छ ।’

युनियनपछि बढी क्षति व्यहोरेको समाजवादी प्रेस संगठनले यो घटनालाई अप्रत्यासित रुपमा नलिएको महासचिव रामकुमार एलनले बताए ।

‘संगठन बनाएकै दिनदेखि ज्यान समाजवादीमा, मन चौतारीमा बनाएका साथीहरु जानुभयो’, उनले भने, ‘देशभरि महासंघ सदस्य रहेका हाम्रा ८०० साथीको संख्यालाई १५०का दरले कटौती गरेर हामीले हिसाब राखेका थियौं, अहिले त्यसमध्येका १२-१५ जना साथीमात्रै जानुभएको छ ।’

समाजवादी प्रेस संगठनको अधिकांश मत निर्मला शर्मातिर जाने अवस्थासँगै त्यहाँभित्र भएको विद्रोह,सन्चारिका समूहलगायत समावेशी पत्रकारिताको अभियान चलाउने पत्रकार सम्बद्ध संघ संगठनहरुको समर्थनका साथै मूलधारका मिडियाका सम्पादकहरुले सघाएकाले निर्मला शर्मा बलियो बनेकी छन् ।

त्यसमाथि प्रेस युनियनले अध्यक्षका उम्मेदवार रमेश विष्टसहित बागी उम्मेदवार बन्नेहरुलाई निष्कासन गरेसँगै शर्मा प्यानल बलियो बनेको हो । दुई संगठन मिल्दा ५५ सय हाराहारीमा मत छ भने अन्य प्यानलको २५ देखि २७ सय मत रहेको पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले बताए ।

बुधवार ललितपुरमा आयोजित भेलामा सम्पादकहरुले नेपाल पत्रकार महासंघको गरिमा फर्काउन र मर्यादित तथा जिम्मेवार पत्रकारिताको लागि महासंघको अगुवाईका लागि निर्मला शर्मा अहिलेको अवस्थामा उपयुक्त उम्मेदवार रहेको निष्कर्ष निकालिएको छ ।

सम्पादकहरुले पत्रकार महासंघको गरिमा कमजोर बन्दा समग्र पत्रकारिता क्षेत्रले प्रहार खेप्नुपरेको भन्दै निर्वाचन गराउन नसकेर बरिष्ठ उपाध्यक्ष पद समेत राजिनामा दिएर हिड्ने विष्टले अहिले अध्यक्षमा दावी गर्न नैतिकरुपमा नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर