नेपाल-एडीबीबीच २१ अर्ब २३ करोड बराबरको सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता (भिडिओ) – Nepal Press

नेपाल-एडीबीबीच २१ अर्ब २३ करोड बराबरको सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता (भिडिओ)

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिंचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी) र जलवायु अनुकूल परिदृश्य र जीवनयापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार नेपाल र एडीबीबीच उक्त परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ बराबर)को सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

एमआईआईपी कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब नेपाली रुपैयाँ) अनुदान र ११ करोड अमेरिकी डलर (१४ अर्ब ८८ करोड रुपैयाँ बराबर)ऋण सम्झौतामा अर्थसचिव डा. रामप्रसाद घिमिरे र नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड कचोइसले हस्ताक्षर गरेका छन् ।

परियोजनामार्फत किसानलाई आफ्नो खेतको आवश्यकताअनुसार पानीको पहुँच प्रदान गर्न अनुमति दिने प्रिपेड कार्ड प्रणालीसहित उन्नत सिंचाइ प्रविधिहरू प्राप्त हुने विश्वास लिइएको छ ।

आयोजना मधेश प्रदेशका रौतहट र सर्लाहीलगायतका जिल्लामा लागू हुने र यसबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास गरिएको छ । परियोजनाले कृषि उत्पादकत्वमा सुधार, सिंचाइ सुविधा र खाद्य सुरक्षामा योगदान दिने सचिव घिमिरेले बताए ।

त्यसैगरी समुदायमा आधारित जलवायु उत्थानशील कार्यक्रम कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (२ अर्ब ९७ करोड बराबर)को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (१ अर्ब ३५ करोड रुपैयाँ बराबर)को ऋण सम्झौतामा मन्त्रालयका सहसचिव धनीराम शर्माले हस्ताक्षर गरेका छन् ।

यो रकम जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायहरूको जलवायु उत्थानशील जीविकोपार्जन क्षमता बढाउनमा केन्द्रित हुने बताइएको छ ।

यस परियोजनाले पानीको असुरक्षालाई सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवर्द्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापनमार्फत स्थानीय समुदायलाई सशक्त बनाउनेछ ।

त्यसैगरी समुदायमा आधारित जलवायु उत्थानशील कार्यक्रमको आयोजना सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगाना, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव दीर्घनारायण कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा देशीय निर्देशक काउचोइसले नेपालको विकास लक्ष्यहरूलाई समर्थन गर्ने बताए । विशेषगरी जलवायु अनुकूलन, कृषि उत्पादकत्व र पानी सुरक्षाको क्षेत्रमा सहयोग पुर्‍याउने उनले प्रतिबद्धता जनाए ।

यी सम्झौताहरूमा हस्ताक्षरले नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न, पानी सुरक्षा सुधारका प्रयासहरूमा एउटा महत्वपूर्ण कोशेढुङ्गा हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर