आफैंले पढेको विद्यालयको भवन उद्घाटन गर्न पुगेका ओलीले सुनाए ४ कक्षामा फस्ट हुँदाको रोचक किस्सा – Nepal Press

आफैंले पढेको विद्यालयको भवन उद्घाटन गर्न पुगेका ओलीले सुनाए ४ कक्षामा फस्ट हुँदाको रोचक किस्सा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिका- ४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीयलगायतसँग अन्तरक्रियासमेत गरे । अन्तरक्रियाका क्रममा ओलीले आफू कक्षा ४ हुँदा फस्ट हुँदाको रोचक प्रसंग पनि सुनाए ।

उनको भनाइ जस्ताको तस्तै

मैले यस विद्यालयमा कक्षा ४ सम्म पढें । ४ कक्षामा मलाई जहाँसम्म लाग्छ, म फस्ट थिएँ, तपाईंहरुले स्कुलको रेकर्डमा हेर्दा पनि हुन्छ । एक पटक मलाई यहाँ अप्ठेरो लागेको थियो। अगाडि शिक्षकहरु परीक्षाको नतिजा सुनाउन प्रमाणपत्र लिएर बस्नुभएको थियो, हामी उतापट्टि लाइनमा बसेका थियौं ।

फस्ट हुनेहरुको नाम बोलाइन्छ अगाडि आउनु भन्नुभएको थियो, म नाम नै नबोलाइ अगाडि गइहालेछु, अनि सबै हाँसे । गएर सरको अगाडि उभिएर बसें । प्रमाणपत्र दिनु त कता हो कता, तिम्रो नाम नै बोलाएको छैन, बाबु जाउ भनेर फर्काइदिए । गएर फेरि लाइनमा उभिएँ ।

नाम बोलाए जस्तो लाग्यो, अघि पनि नाम बोलाएको सुने जस्तै लागेर गएको फिर्ता पठाइदिए भनेर जाउँ कि नजाउँ भनेर अलमलमा परें । पछि अरु साथीहरुले घचेटेर पठाएपछि गएर प्रमाणपत्र लिएँ । यहाँ मेरो क्लासमेट साथीहरु पनि हुनुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर