दुर्गा प्रसाईंविरुद्ध ७ वर्ष कैद मागसहित साइबर मुद्दा दर्ता, संगठित अपराध र आपराधिक लाभमा अनुसन्धान जारी – Nepal Press

दुर्गा प्रसाईंविरुद्ध ७ वर्ष कैद मागसहित साइबर मुद्दा दर्ता, संगठित अपराध र आपराधिक लाभमा अनुसन्धान जारी

काठमाडौं । मेडिकल व्यवसायी हुँदै भाइरल अभियन्ता बन्ने क्रममा शीर्ष नेताहरुविरुद्ध मनपरी बोल्दै हिँडेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । प्रसाईंविरुद्ध दर्ता भएको मुद्दामा ७ वर्ष कैद सजाय माग गरिएको छ ।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने फर्जी कागज देखाउँदै उनले पत्रकार सम्मेलन गरेका थिए । बयानका क्रममा भने कसैले ह्वाट्एपमा पठाएको डकुमेन्ट सार्वजनिक गर्दा आफू फसेको उनले बताएका थिए ।


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईंविरुद्ध ७ वर्ष कैद मागसहित साइबर मुद्दा दर्ता, संगठित अपराध र आपराधिक लाभमा अनुसन्धान जारी

  1. फटाहा, पागल। यसलाई थाहा नभएको कुरा केहि छैन यो संसारमा। जे पनि बोलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर