अन्तिम खेलमा लुम्बिनी पराजित, कर्णालीको रोमाञ्चक जित – Nepal Press

अन्तिम खेलमा लुम्बिनी पराजित, कर्णालीको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो ।

सहज जितको बाटोमा देखिएको लुम्बिनी अन्तिम ओभरहरुमा लड्खडाउँदा हार स्वीकार्न वाध्य भयो । १८.१ ओभरमा लुम्बिनीका ब्याटर साद बिन जाफर दुर्भाग्यपूर्ण रनआउट भएपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो ।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्रै जोड्न सक्यो । ब्याटिङका लागि कठिन पीचमा कर्णालीका अलराउन्डर विलियम बोसिस्टोले फेरि एकपटक महत्वपूर्ण पारी खेले । उनले ३० बलमा ३ छक्का र तीन चौकाको मद्दतले ४४ रन जोडेका थिए । ओपनर बाबर हायातले २० र अर्जुन घर्तिले २५ रन बनाए ।

लुम्बिनीका विकास आग्रीले ३ विकेट र तिलक भण्डारीले २ विकेट लिएका थिए । रामोन सिमोन्ड्स, साद विन जाफर र रोहित पौडेलले १–१ विकेट बाँडे ।

जवाफी ब्याटिङमा कर्णालीले सामान्य सुरुवात गर्यो । ४० रनमा तीन विकेट गुमाएपश्चात टम मुर्स र सन्दीप जोराको साझेदारीले लुम्बिनीलाई बलियो स्थितिमा पुर्यायो । १३.४ ओभरमा ३ विकेट गुमाउँदा कर्णालीले ९१ रन जोडेको थियो । जितका लागि ३८ बलमा ३८ रन चाहिएको अवस्थामा ठूलो सट खेल्ने प्रयासमा जोरा आउट भए । उनले २१ बलमा २४ रन बनाएका थिए ।

जोरापछि आएका बेन कटिङको ब्याट चलेन । उनी ६ बलमा १ रन बनाएर आउट भएपछि लुम्बिनी दवावमा परेको थियो । फेरि टम मुर्स र साद जिन जाफरबीचको साझेदारीले कर्णालीमा दवाव फर्कियो । तर, १७.५ ओभरमा टम मुर्सलाई नन्दन यादवले बोल्ड गरिदिए ।

मुर्स आउट भएपछि लुम्बिनीको आशा जाफरमा टिकेको थियो । अन्तिम दुई ओभरमा लुम्बिनीलाई जितका लागि १५ रन आवश्यक भयो । तर, १९ औं ओभरको पहिलो बलमै जाफर रनआउट भए । निकै क्लोज कलमा टिभी अम्पायरले उनलाई आउट दिएपछि खेल फेरि कर्णालीको पक्षमा आयो । सोमपालले १९ औं ओभरमा ६ रन खर्चिए ।

अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन आवश्यक पर्यो । तर, कर्णालीका नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै लुम्बिनीका ब्याटरलाई कुनै मौका दिएनन् । अन्तिम बलमा छक्का हानेर जित निकाल्ने अवसर कर्णालीका ब्याटरसँग थियो । तर, नन्दनको बलमा तिलक भण्डारी बिट भए ।

खेलमा कर्णालीका विलियम वोसिस्टो आज पनि प्लेयर अफ दि म्याच भएका छन् । उनले खेलका पछिल्ला तीनवटै म्याचमा लगातार प्लेयर अफ दि म्याच भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *