सामाजिक सञ्जालमा ट्रोलको शिकार बनिरहेका राजेश पुलामीले ब्याटबाट जवाफ दिए – Nepal Press

सामाजिक सञ्जालमा ट्रोलको शिकार बनिरहेका राजेश पुलामीले ब्याटबाट जवाफ दिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सर्वाधिक ट्रोलको शिकार भइरहेका खेलाडी हुन् राजेश पुलामी । विराटनगर किङ्सको मध्यक्रममा ब्याटिङ गर्ने पुलामीको क्षमतामा सुरुदेखि प्रश्न उठाइएको थियो ।

३२ वर्षिय पुलामीले नेपालको राष्ट्रिय टिमबाट समेत ६ टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । तर, उल्लेख्य प्रदर्शन गर्न नसकेपछि उनले स्थान गुमाएका थिए ।

६ म्याचमा उनले केवल ८.६६ को औसतमा ५२ रन बनाएका छन् । लामो समयदेखि राष्ट्रिय टिममा नखेलेको र घरेलु क्रिकेटमा समेत उल्लेखनीय प्रदर्शन नगरेको हुँदा उनी नेपाली क्रिकेटप्रेमी माझ नै अपरिचित जस्ता थिए ।

एनपीएलको अक्सनमा पुलामीलाई विराटनगर किङ्सले न्यूनतम मूल्य ५ लाखमा खरिद गरेको हो । यसअघि विराटनगरका चारवटा खेलमा अवसर पाए पनि उनले त्यसको सदुपयोग गर्न सकेका थिएनन् । एनपीएलको उद्घाटन खेलमा पुलामीले ६ बल खेलेर एक रन मात्रै जोडेर रनआउट भएका थिए । त्यहीँदेखि उनी ट्रोलमा पर्न थालेका हुन् ।

सुदूरपश्चिमविरुद्धको दोस्रो खलमा पनि राजेशले मौका पाए । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका उनले १५ बलमा १५ जोडे । यो म्याचमा पनि उनी दुर्भाग्यपूर्णरुपमा रन आउट नै भएका थिए । लगातार दोस्रोचोटि रनआउट भएपश्चात उनले देखाएको आक्रोशले गर्दा पनि ट्रोल गर्नेहरुलाई मसला मिल्यो । मैदानबाट निस्किएर राजेशले आफ्नो ब्याट, ग्लोब्स र हेलमेट भुईंमा फ्याकेका थिए ।

लुम्बिनी लायन्सविरुद्धको तेस्रो खलमा पुलामी चलेनन् । चौंथो नम्बरमा आएका उनले १० बलमा ४ रन मात्रै जोड्न सके । त्यसपछि त उनको खेदो सुरु भइहाल्यो । कतिपयले उनको जातसँग जोडेर अपमानजनक शब्द प्रयोग गरे । चौंथो र पाचौं खेलमा उनले टिममा स्थान पाएनन् । यी दुवै खेलमा विराटनगर पराजित भएको थियो ।

आजको छैटौं खेलमा राजेशले टीममा कमब्याक गरेका छन् । र, उनको ब्याट आज चल्यो । आलोचकहरुको मुख बन्द गर्दै उनले २३ बलमा ३३ रन जोड्न सफल भए । त्रिविको पिच पुरानो हुँदै जाँदा ब्याटरहरुले रन बनाउन निकै संघर्ष गरिरहेका छन् । प्रतिबल रन जोड्न पनि कठिन हुने पीचमा पुलामीले बिष्फोटक केमियो खेल्दै विराटनगरलाई बलियो स्कोरमा पुर्याउन योगदान दिए ।

विराटनगरले १३.५ ओभरमा मार्टिन गुप्टिललाई गुमाएपछि क्रिजमा आएका थिए पुलामी । उनी आउनासाथ सामाजिक सञ्जालमा ट्रोल सुरु भइसकेको थियो । तर, पुलामीले आलोचकहरुलाई ब्याटबाट जवाफ दिए । क्रिजमा जमिरहेका बसिर अहमदसँग पुलामीको विष्फोटक साझेदारी भयो । यो जोडीले ३७ बलमा ८३ रन जोडेको थियो ।

यसअघि टुकटुके ब्याट्सम्यानको छवि बनाएका पुलामीले ठूला सट हान्ने क्षमता देखाएका छन् । २० बलमा ३३ रन बनाउँदा उनले ३ वटा छक्का हानेका थिए । पुलामीले सोहल तनवीरलाई हुक गरेर हानेको छक्का स्पेसल थियो । इनिङको अन्तिम बलमा उनले रिजन ढकाललाई लगातार चौका र छक्का प्रहार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *