प्रहरीका डीआईजी सरुवा, चार प्रदेशका प्रमुख फेरिए (सूचीसहित)
काठमाडाैं । गृहमन्त्रीस्तरको निर्णयले नेपाल प्रहरीका चार प्रदेश प्रमुख हेरफेर भएका छन् ।
एसएसपीबाट डीआईजी बढुवा भएकाबाट दुई र अरु दुई गरी चार प्रदेशको प्रहरी नेतृत्व फेरिएको हो । बिहीबार राति प्रकशित पदस्थापन तथा सरुवा सूचीअनुसार कोशी प्रदेशको प्रहरी प्रमुखमा राजन अधिकारी सरुवा भएका छन् । त्यहाँका चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) गएका छन् ।
प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रमुखका रुपमा सरुवा भए । त्यहाँका कुबेर कडायत कार्कीको ठाउँमा खटिएका छन् । अब उनले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।
बढुवा हुनेमध्ये भोलाबहादुर रावल गण्डकी प्रदेशमा पदस्थापित भएका छन् । अर्का नवनियुक्त डीआईजी गणेश चन्द सुदुरपश्चिममा पदस्थापन भएका छन् ।
यसअघि गण्डकी प्रदेशमा रहेकी दुर्गा सिंह प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र सुदुरपश्चिमका रवीन्द्र केसी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भए ।
अख्तियार अनुसन्धान विभागका डीआईजी बुद्धिराज गुरुङ एआइजीमा बढुवा भएर रिक्त रहेको दरबन्दीमा नवनियुक्त डीआईजी हिमालयकुमार श्रेष्ठको पदस्थापन भएको छ । डा.मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज सरुवा भएका छन् ।