‘दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ’  – Nepal Press

‘दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ’ 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए ।

शुक्रवार सम्पन्न १५औँ दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भएपनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताए ।

उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको औँल्याए । विशेषगरि नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको ढकालले बताए ।

उनले नेपालको जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र जीवाश्म इन्धनमा निर्भरता कम गर्न सहयोग गर्न सक्ने बताए । अध्यक्ष ढकालले दक्षिण एशियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनीकरणका लागि स्रोत सीमित रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *