ओलीले भने– एमाले र मविरुद्ध प्रचण्ड महोदयको नेतृत्वमा गिरोह सक्रिय छ (भिडिओ) – Nepal Press

ओलीले भने– एमाले र मविरुद्ध प्रचण्ड महोदयको नेतृत्वमा गिरोह सक्रिय छ (भिडिओ)

‘काठमाडौं बसिबसी हलाहल विष पिइदिन्छु, निलेर पचाइ पनि दिन्छु’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी माओवादीले एमाले र आफूविरुद्ध कु-प्रचारका लागि गिरोह परिचालन गरिरहेको आरोप लगाएका छन् । नराम्रा कामहरू जति सबै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा भइरहेको उनले दाबी गरे ।

आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा बोल्दै ओलीले महादेवले हलाहल विष पिएजस्तो आफूले सबै पचाइदिने बताए ।

ओलीको अभिव्यक्तिका केही अंश: 

देशमा माओवादी जुन दिन पलायो, त्यहीँबाट जाली, फटाहा, झूट, बेइमानी सुरु भयो । अहिले हामीविरुद्ध कुप्रचार गर्ने सबै काम माओवादीहरूको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरुजति प्रचण्ड महोदयले नेतृत्व गरिहनु भएको छ । उहाँहरूको गिरोह सक्रिय छ, अरू होइन नेकपा एमालेका विरुद्धमा । त्यसमा पनि मेराविरुद्ध ।

शिवजीले हलाहल घाँटीमा लिएर कहिले गोसाईंकुण्ड कहिले कहाँ जानुभयो, म काठमाडौं बसिबसी त्यस्ता विष पिइदिन्छु । निलि पनि दिन्छु, पचाइ पनि दिन्छु । कतै जानु पर्दैन । जसले जे जे फैलाए पनि खण्डन गरेर जाने हो, झूटलाई परास्त गरेर जाने हो । 

कहिले सबैभन्दा ठूलो भ्रष्टाचारी भन्या छन् । आफूले देशै लुटेर फेरि एमाले र केपी ओली भ्रष्टाचारी रु भ्रष्टाचारीको संरक्षक भएर, भ्रष्टाचारीलाई काँध आएर कुद्ने यस्ताको भ्रममा पर्नु हुँदैन । हाम्राविरुद्ध लड्न सक्दैनन् । त्यसैले भ्रम फिँजाएर अविश्वास पैदा गर्न खोजिरहेका छन् । यिनीहरूलाई परेको के हो भने नेकपा एमाले स्थापित भयो, एमालेको अध्यक्ष स्थापित भयो । त्यसैले यिनीहरूलाई पिर परेको हो । आफू पनि राम्रो काम गरे त हुन्थ्यो नि ।

अहिले कांग्रेस र हामी मिलेर सरकार बनाएका छौँ । यो देशको स्थिरता र स्थायित्वका लागि हो । अनुचित खालका शक्तिहरूलाई बोक्नुपर्ने बाध्यता र त्यसलाई समाप्त पार्ने संकल्पका साथ हामी सफलताका साथ अगाडि बढेका छौँ । पहिलेजस्तो भाँडभैलो छैन अहिले समाजमा । मान्छेहरूलाई के भ्रम थियो भने, लुटे पनि, ठगे पनि अलिकति मान्छे लिएर हाहु गरेपछि कसैले समाउन सक्दैन ।

तर, यस देशमा राज्य छ, कानून छ । कानूनको राज बनाएर छोड्छौँ । भ्रष्टाचारको अन्त्य गरेर छोड्छौँ । त्यसकारण कुनै भ्रष्टाचारीले कुनै प्रकारका भ्रमको सहायता लिएर कुनै प्रकारका अनुचित, गैरकानूनी, बेइमानीको बाटो लिएर भ्रष्टाचारबाट उम्किने नसोचे हुन्छ । जो कोही होस, जोसुकै होस । भ्रष्टाचार गर्नेको मुख हेरिँदैन । मुख नहेरीकन कारबाही गर्ने हो ।


प्रतिक्रिया

One thought on “ओलीले भने– एमाले र मविरुद्ध प्रचण्ड महोदयको नेतृत्वमा गिरोह सक्रिय छ (भिडिओ)

  1. माओवादी पार्टी बनाईदिएको नै विदेशीले हो । यसको मुख्य काम नेपालमा अशान्ति मच्चाईरहने, देशभक्त नेपालीको हुर्मत लिने र लुटेर खाने हो । केही सोझा जनता र अधिकाँश पार्टीमा बसेर लुटन पाएका बाहेक अहिले माओवादीमा कोहि जनता छैनन् । ती सोझाहरूले कुरा बुझ्दैछन् ।ओलिले बिआरआई पास गरे पछि त प्रचण्ड झन् उग्र भएका छन् । ८४ सम्म पदमा जान नदिनु माओवादीलाई उसको पछि लाग्ने एउटा पनि मानिस हुदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर