एनपीएलको प्लेअफ समीकरणः गणितीय रुपमा यसरी जीवित छ विराटनगरको आशा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरु सकिन लागेका छन् । अब पाँचवटा मात्रै खेल बाँकी हुँदा अहिलेसम्म प्ले अफमा जाने तीनवटा टीमको टुंगो लागेको छैन ।
जनकपुर बोल्ट्सले ६ म्याच खेल्दा ५ जित हात पार्दै प्ले अफमा स्थान सुरक्षित गर्दा बाँकी तीनवटा स्थानका लागि ६ वटा टोली दौडमा छन् । तीमध्ये सुदूरपश्चिम र कर्णालीको दावेदारी बलियो छ । दुवैले चार जित निकाल्दै ८ अंक जोडेका छन् । सुदूरपश्चिमले ५ म्याचमा र कर्णालीले ६ म्याचमा चार जित हासिल गरेका हुन् ।
अब सुदूरपश्चिमले दुई म्याच खेल्न बाँकी छ । दुईमध्ये एक म्याच जिते प्लेअफमा स्थान सुरक्षित हुन्छ । दुवै म्याच हारेको खण्डमा पनि उसको सम्भावना बलियो नै रहनेछ । कर्णालीले पनि बाँकी एक म्याच जिते प्लेअफमा जान्छ । हारे पनि सम्भावना समाप्त हुनेछैन ।
जनकपुर, सुदूरपश्चिम र कर्णालीले प्ले अफका तीन स्थान ओगट्दा चौंथो एक स्थानका लागि चार टीमको भिडन्त हुने देखिन्छ । जसमा चितवन राइनोज, काठमाण्डु गुर्खाज, पोखरा एभेन्जर्स, र विराटनगर किङ्स रहेका छन् । यी चारमध्ये चितवन राइनोजको समीकरण सहज छ भने विराटनगरको सबैभन्दा कठिन ।
चितवनले ६ म्याच खेल्दा तीन जितसहित ६ अंक बटुल्दै हाल अंकतालीकाको चौंथो स्थानमा रहेको छ । अब भोलि हुने जनकपुर बोल्ट्सविरुद्धको अन्तिम खेल जितेमा चितवनको प्लेअफमा पुग्ने सम्भावना प्रबल हुन्छ । त्यस अवस्थामा यदि काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले बाँकी दुई खेलमध्ये कम्तीमा एक खेल हारेको खण्डमा चितवन प्लेअफमा पुग्नेछ । यदि एउटा टीमले दुवै खेल जित्यो भने रनरेटबाट निर्णय हुन्छ ।
यदि चितवनले हारेको खण्डमा अन्य टिमहरुको खेलमा भर पर्नुपर्छ । पोखरा र काठमाण्डुबीच भोलि हुने खेलमा जित्ने टीमले दुई अंक थप्ने निश्चित छ । यस्तै विराटनगरले पनि अन्तिम खेल जितेर ६ अंक पुर्याउन सक्छ । यस्तोमा रनरेटका आधारमा निर्णय हुन्छ । अहिले रनरेटमा पोखरा, काठमाण्डु, विराटनगर तीनवटै टिम चितवनभन्दा पछाडि छन् ।
पोखरा र काठमाण्डु चाहिँ लगभग समान अवस्थामा छन् । दुवै टीमले ५ म्याच खेल्दा २ जित निकालेर ४ अंक बटुलेका छन् । दुवै बाँकी दुई खेल जित्न चाहन्छन् ।
अर्कोतर्फ सबैभन्दा नाजुक स्थानमा बिरानटनगर छ । उसले अंकका आधारमा प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । अबको झिनो आशा भनेको रनरेटको हो ।
विराटनगरले ६ खेलमा दुई मात्र जित हासिल गरेको छ । अब अन्तिम खेल फराकिलो अन्तरले जित्नुका साथै अन्य टिमहरुको नतिजा पनि अनुकूल आयो भने मात्र बिराटनगरको ढोका उघ्रिन्छ । भोलिको दोस्रो खेलमा चितवनले जनकपुरलाई हरायो भने अन्तिम खेल अगावै विराटनगरको सम्भावना समाप्त हुन्छ ।
विराटनगर छनोट हुन आवश्यक परिदृश्य
- भोलि हुने पहिलो खेलमा पोखराले काठमाण्डुलाई झिनो अन्तरले जित्नुपर्ने
- भोलि हुने दोस्रो खेलमा जनकपुरले चितवनलाई फराकिलो अन्तरले हराउनुपर्ने
- आइतबार हुने पहिलो खेलमा काठमाण्डकाेलाई विराटनगरले फराकिलो अन्तरले जित्नुपर्ने
- आइतबार हुने दोस्रो खेलमा सुदूरपश्चिमले पोखरालाई फराकिलो अन्तरले जित्नुपर्ने ।