पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा जित नजिक, अन्य पदमा पनि प्यानलै अगाडि – Nepal Press

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा जित नजिक, अन्य पदमा पनि प्यानलै अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि निर्मला शर्मा नेतृत्वको प्यानल नै विजयोन्मुख रहेको छ । एमाले निकट प्रेस चौतारी नेपाल र कांग्रेस निकट प्रेस युनियनको साझा उम्मेदवार बनेकी शर्मा नेतृत्वको प्यानल नै जितोन्मुख भएको हो ।

यो प्यानलमा रहेका अधिकांश पदाधिकारीहरु ४०० देखि १ हजार मतान्तरले अगाडि रहेका छन् । यद्यपि निर्वाचन समितिले जिल्ला जिल्लाबाट मत संकलन गरिरहेकाले एकमुष्ठ विवरण सार्वजनिक गरेको छैन ।

प्रेस युनियनका बागी अध्यक्ष उम्मेदवार रमेश विष्टलाई माओवादी केन्द्र समर्थित प्रेस सेन्टर, एकीकृत समाजवादी समर्थित समाजवादी प्रेसलगायतले समर्थन गरेको भए पनि जितलाई पर्याप्त नहुने देखिएको हो ।

महासंघको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरी चुनावी मैदानमा छन् ।

त्यस्तै उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् ।

महासंघको महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा भने प्रेस सेन्टरका उम्मेदवार रामकृष्ण अधिकारीको सम्भावना देखिएको छ।

केन्द्रदेखि अधिकांश प्रदेश र जिल्लामा सत्तारुढ एमाले र कांग्रेस समर्थित पत्रकार संगठनहरुको गठबन्धन र माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत समर्थित संगठनसहित प्रेस युनियनको वागी पक्षको प्यानलबीच प्रतिस्पर्धा भएको छ । अहिलेसम्म घोषित मत परिणामअनुसार तीन केन्द्रीय सदस्य प्रेस सेन्टरले जितेको छ ।

प्रदेशतर्फ बागमती, एसोसिएट र उपत्यका माओवादी निकट प्रेस सेन्टरले जितेको छ । अन्य प्रदेशमा भने चौतारी र युनियनको गठबन्धन नै अगाडि छ । अहिले गणना भइरहेको उपत्यका प्रदेशमा विष्टले लिड गरेका छन् भने एसोसियटमा भने शर्माले लिड गरिरहेकी छन् ।

अन्य प्रदेशको नतिजामा शर्माले अग्रता लिइसकेकी छन् । प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अधिकांश निर्वाचनको परिणाम आइसकेको र करिब ५०० मतान्तरले अध्यक्षमा जित्ने संकेत आएको बताए ।

उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमती, प्रतिष्ठान ६ प्रदेशको मत गन्दा शर्माले ३ हजार ९२ मत ल्याउँदा विष्ट २ हजार २७४ मत ल्याएर पछ्याइरहेका छन् । शर्मा अहिले ८१८ मतले अगाडि छिन् ।

अहिले कर्णाली, सुदूरपश्चिम, मधेश र एसोसिएट प्रदेशको मतगणना जारी छ । यी तिनै प्रदेशमा पनि निर्मला शर्मा प्यानलकै अग्रता रहेको छ ।

लुम्बिनी प्रदेशबाट प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनमा रहेका दुई केन्द्रीय सदस्य विजयी भएका छन् । चौतारीको तर्फबाट कपिलवस्तुका विकास बन्जाडे र युनियनको तर्फबाट रुपन्देहीका रामराज पोखरेल विजयी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *